६ वैशाख २०८१ बिहीबार
अर्थ

५४ हिमाल आरोहण गर्न १३३८ लाई अनुमति

काठमाडौं - यस वर्षको शरद ऋतुमा ५४ वटा हिमाल आरोहणका लागि एक हजार तीन सय ३८ आरोहीले अनुमति लिएका छन्। विगतको तुलनामा यो शरदमा ४० प्रतिशत बढी आरोहीले अनुमति लिएको पर्यटन विभागले जनाएको छ।

एक सय ६७ समूहलाई दिईको आरोहण अनुमतिबाट आइतबारसम्म पाँच करोड १७ लाख २५ हजार रुपैयाँ राजस्व संकलन भएको छ।

सबैभन्दा बढी आमाडब्लम हिमाल (६८१४ मिटर) आरोहणका लागि २७ समूहका १७ आरोहीले अनुमति लिएका छन् । यसबाट एक करोड ४९ लाख १८ हजार रुपैयाँ राजस्व संकलन भएको छ । यस्तै, सरिबुङ हिमाल (६१६४ मिटर) आरोहणका लागि २३ वटा समूहका एक सय ९८ ले अनुमति लिएका छन् । सरिबुङ हिमालबाट २९ लाख ४० हजार रुपैयाँ राजस्व संकलन भएको छ।

मनास्लु (८१६३ मिटर) आरोहणका लागि १८ वटा समूहका एक सय ९२ जनाले अनुमति लिएका छन्। यसबाट एक करोड ९५ लाख राजस्व संकलन भएको छ।

युव्रा, यारा चुली, टुकचे पिक, टिस्राटेस, तोबसरा पिक, तिलकाङ, तिलिचो पिक, थोराङ पिक, थापा पिक, थामसेर्कु, थाङकेनाक री, सि शिखर, शेर्फु (दुई), साइपल, पुता, पुर्वाङ, नुपला खाङ, नर्बु खाङ, निलिगिरि नर्थ, मुस्ताङ, मुकोट, लोत्से, लाङडुङ, हिमजुङ, गुर्जा, धौलागिरि, अरनिको चुली लगायत ५४ हिमाल आरोहणका लागि पर्यटन विभागले अनुमति दिएको विभागका महानिर्देशक डन्डुराज घिमिरेले जानकारी दिए।

विशेष गरी सगरमाथा आरोहण गर्ने तयारीमा रहेका आरोहीले शरदमा विभिन्न साना हिमाल आरोहण गर्छन्।

हिमालयन गाइड नेपाल ट्रेक्स एन्ड एक्सपिडिसनका टेक्निकल अफिसर शंकर राउतले आइतबार १५ जनाको टिमलाई आमाडब्लम आरोहणका लागि अनुमति लिए । पर्यटन विभागमा आइतबार भेटिएका राउतले विदेशी पर्वतारोही अत्यधिक बढेको बताए । उनका अनुसार अहिले ६ हजारदेखि आठ हजार मिटर उचाइका हिमाल आरोहण गर्ने विदेशी आरोहीको चाप छ।

पहिलो चरणमा पाँच हजार आठ सयदेखि ६ हजार मिटर उचाइको हिमाल आरोहण गर्ने गरेको नेपाल पर्वतारोहण संघ (एनएमए) का सचिव टिकाराम गुरुङले जानकारी दिए ।  सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषण गरेसँगै नेपालको पर्वतारोहण क्षेत्रमा समेत सुधार आएको गुरुङ बताउँछन्।

सरकारले पहिले ‘देश अनि विदेश’ भन्ने नीति लिएपछि आन्तरिक पर्यटकको चाप समेत बढेको छ । सरकारले सातवटै प्रदेशमा गरी सय नयाँ पर्यटकीय गन्तव्य सार्वजनिक गरेको छ।

प्रकाशित: २६ कार्तिक २०७५ ०५:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App