२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

धावनमार्ग पिचको जिम्मा चिनियाँ कम्पनीलाई

काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको पिच परिवर्तन गर्ने जिम्मा चिनियाँ कम्पनीले पाएको छ । साढे ६ दशक पुरानो पिच परिवर्तनका लागि सोमबार नेपाल नागरिक उड्डयन प्राधिकरण र चाइना नेसनल एरो टेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ कोअपरेसनबीच सम्झौता भएको हो।

सम्झौताअनुसार चिनियाँ कम्पनीले १८ महिनामा काम सम्पन्न गरिसक्ननु पर्नेछ । प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले चिनियाँ कम्पनीले पाँच महिनामा पूर्वतयारी गरिसक्ने जानकारी दिए । यसपछि तीन महिनामा धावनमार्गको पिच परिवर्तन हुने उनको भनाइ छ । उनले भने, ‘यसपछि ट्याक्सी वे निमार्ण गरिने छ।’

चिनियाँ कम्पनीले तीन अर्ब ७५ करोड बजेटमा अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पिचको काम लिएको हो । ६७ वर्षपछि पहिलोपटक पिच परिवर्तन गर्न लागेको प्राधिकरणले जनाएको छ।

अहिले २३ घन्टा सञ्चालनमा रहेको विमानस्थलको धावनमार्गको पिच परिवर्तन गर्दा उडान केही मात्रामा प्रभावित हुने प्राधिकरणले जनाएको छ । देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल भएकाले पिच परिवर्तन गर्दा विमानस्थल बन्द गर्न नहुने बाध्यता पनि रहेको छ।

विमानस्थल बन्द भएमा आन्तरिक र अन्तर्राष्ट्रिय गरी पाँच सय  हाराहारी उडान र अवतरण प्रभावित हुनेछन् । हवाई सेवालाई कम प्रभावित गर्न प्राधिकरणले निर्माणको काम राति १० देखि विहान ८ बजेसम्म गर्ने बताएको छ।

धावनमार्ग धेरै पुरानो भएका कारण पिच उप्केर हवाई सेवा प्रभावित हुँदै आएको छ । विमानस्थलका दैनिक रुपमा २–३ पटकसम्म पिच उप्किने र उडानमा समस्या आउने गरेको छ । उक्त समस्या समाधानका लागि विमानस्थलले कर्मचारी नै राख्दै आएको छ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सन् १९५१ मा स्थापना भएको थियो । विमानस्थलमा अन्तर्राष्ट्रियतर्फ नौ र आन्तरिक तर्फ १७ वटा पार्किङ वे छ । विमानस्थलको धावनमार्ग तीन हजार ५० मिटर लम्बाइ र ४६ मिटर चौडाइमा फैलिएको छ । विमानस्थलमा ट्विन अटर, एटिआरदेखि एयरबस ३३० सम्म उडान र अवतरण हुँदै आएको छ।

प्रकाशित: २० कार्तिक २०७५ ०४:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App