काठमाडौं – आर्थिक वर्ष २०७४–७५ मा काठमाडौं महानगरपालिकाले ५१ प्रतिशत मात्र राजश्व संकलन गरेको छ।
महानगरपालिकाले गत आर्थिक वर्षमा १० अर्ब २७ करोड ४१ लाख ७४ हजार राजश्व उठाउने लक्ष्य राखेकामा ५ अर्ब ३१ करोड ८३ लाख ४३ हजार राजश्व संकलन गरेको छ। सबैभन्दा बढी घरजग्गा करतर्फ ५७ करोड ५९ लाख ७८ हजार राजश्व असुल गरेको छ। घरबहाल करतर्फ ५६ करोड ३५ लाख ८ हजार तथा विज्ञापन कर र व्यवसाय करतर्फ १०–१० करोड राजश्व असुल गरेको छ।
महानगरपालिकाका राजश्व महाशाखा प्रमुख राज्यप्रकाश प्रधानाङ्गका अनुसार सबैभन्दा कम सव–वे करतर्फ ५४ हजार असुल गरिएको छ। आर्थिक वर्ष २०७३–७४ मा २ अर्ब ७८ करोड ८१ लाख १६ हजार राजश्व संकलनको लक्ष्य लिएकामा २ अर्ब ८२ करोड ५१ लाख १३ हजार संकलन भएको प्रधानाङ्गले बताए। अघिल्लो आवमा बक्यौता रकम धेरै बाँकी नरहेको तथा बाँकी रकमसमेत असुल हुन नसकेका कारण ५१ प्रतिशत मात्र राजश्व संकलन भएको उनको भनाई छ।
“अघिल्लो आवमा एउटै संस्थाले ३० करोडसम्म बक्यौता तिरेको थियो, यस वर्ष त्यो अवस्था रहेन,” प्रमुख प्रधानाङ्गले भने। महानगरपालिकाले बसपार्क सेवा शुल्क ५० लाख असुल गर्ने लक्ष्य लिएकोमा ४० लाख संकलन भएको छ। सवारी करतर्फ २ करोड लक्ष्य लिएकामा ३१ लाख ९ हजार मात्र असुल गरेको छ। मालपोत कर भने १० करोड लक्ष्य लिएकामा ११ करोड ३० हजार असुल गर्न सफल भएको राजश्व महाशाखाले जनाएको छ। (रासस)
प्रकाशित: २० श्रावण २०७५ ०९:१८ आइतबार