७ वैशाख २०८१ शुक्रबार
अर्थ

१२ करोडको तास आयात

काठमाडौं - सुन्दा अचम्म लाग्न सक्छ, जुन वस्तु उपयोग गर्न मुलुकको कानुनले बन्देज लगाएको छ त्यही वस्तु वार्षिक करोडौं रुपैयाँको आयात भइरहेको छ। त्यो वस्तु हो– तास।

मनोरञ्जनका लागि जुवाघर अर्थात् क्यासिनो (विदेशीलाई मात्र) बाहेक अन्य ठाउँमा बर्जित गरेको तास पानपसलदेखि डिपार्टमेन्ट स्टोरसम्म खुलेआम बिक्री भइरहेको छ। सरकारले तास खेल्नेलाई कारबाही गर्दै आए पनि यसको बिक्रीवितरणमा भने कडाइ गरेको छैन।

१० महिना अवधिमा चीनबाट १० करोड ९१ लाख रुपैयाँको ९९ लाख ६० हजार नौ सय ७४ वटा प्याकेट आयात भएको छ।

भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०७४/७५ को पहिलो १० महिनामा ६ वटा मुलुकबाट ११ करोड ९५ लाख मूल्यको झन्डै एक करोड एक लाख ६२ हजार प्याकेट तास आयात भएको छ। यसबाहेक भारतबाट खुला सीमा प्रयोग गरेर हजारौं प्याकेट आयात भइरहेको तासको कुनै लेखाजोखा छैन।

गत आर्थिक वर्षमा तासको आयात चालू आवको १० महिनाभन्दा केही बढी छ। गत वर्ष २०७३/७४ मा कुल १२ करोड ६१ लाख रुपैयाँको एक करोड ११ लाख तास आयात भएको विभागको तथ्यांकमा उल्लेख छ।

मुलुकमा हाल चीन, भारत, मलेसिया, ताइवान, हङकङ, बेलायत र अमेरिकाबाट तास आयात भइरहेको छ। यसमध्ये सबैभन्दा धेरै उत्तरी छिमेकी देश चीनबाट आयात भएको छ। १० महिना अवधिमा चीनबाट १० करोड ९१ लाख रुपैयाँको ९९ लाख ६० हजार नौ सय ७४ वटा प्याकेट आयात भएको छ।

चीनपछि परिणामका हिसाबले सबैभन्दा धेरै तास भारतबाट आयात भएको छ। भारतबाट ५७ हजार दुई सय २६ वटा प्याकेट तास आयात भएको छ। भारतबाट आयातित तासको मूल्य झन्डै ३३ लाख रुपैयाँ छ। मलेसियाबाट आयातित ४३ हजार दुई सय प्याकेट तासलाई ३५ लाख र अमेरिकाबाट आयातित एक लाख प्याकेट तासलाई ३३ लाख रुपैयाँ तिरिएको छ। हङकङबाट दुई हजार ६ सय प्याकेट र ताइवानबाट एक हजार प्याकेट तास आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ।

मोरङ जिल्ला अदालतका तत्कालीन न्यायाधीश चोलेन्द्रशमशेर राणाले म्यारिज (तास खेलको एक प्रकार) लाई तास खेल नभएर दिमागी खेल भएको व्याख्या गर्दै कर्मचारीलाई जोगाएका थिए।

नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शैलेश थापा क्षेत्रीले तास खेल्नु गैरकानुनी भएको बताए। ‘कहीं पनि जुवा खेल्न पाइँदैन,’ उनले नागरिकसँग भने, ‘तास पनि जुवाकै अंग हो।’ जुवा ऐनले कुनै पनि प्रकृतिका जुवालाई निषेध गरेको छ । तासलाई पनि जुवाकै एउटा प्रकार भएकाले खेल्न प्रतिबन्धित छ। मुलुकमा खोलिएका केही क्यासिनोमा विदेशीले मात्र जुवा खेल्न पाउँछन्। क्यासिनो प्रवेशमा नेपालीलाई प्रतिबन्ध छ।

सरकारका आँखा गाडी, मदिरालगायतका ठूला वस्तुमा रहे पनि कानुनले रोकेको तास आयातमा प्रतिबन्ध लगाइएको छैन। भन्सार विभागले हरेक महिना सार्वजनिक गर्ने आयात–निर्यातको विवरण हेर्ने हो भने करोडौं रुपैयाँका अति सामान्य वस्तु आयात भइरहेको देखिन्छ। मुलुकमा टुथ पिक, अगरबत्ती, ट्याइलेट पेपर, चक, सियो, टुथ ब्रस, स्यानिटरी प्याड, धनियाँजस्ता सामान्य वस्तु आयात भइरहेका छन्।

प्रकाशित: १९ असार २०७५ ०१:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App