१ असार २०८३ सोमबार
image/svg+xml
अर्थ

सुकेटार-काफ्ले कालोपत्रे सडक निर्माण कम्पनीलाई १५ दिने स्पष्टीकरण

चित्त बुझ्दो नभए ठेक्का तोडिने

तमोर करिडोर (सुभाङखोला–दोभान–ओलाङचुङगोला) सडक योजना कार्यालयले ताप्लेजुङको सुकेटारबाट काफ्लेपाटीसम्मको सडक निर्माणको ठेक्का लिएको कम्पनीलाई ठेक्का किन नतोड्ने भनेर १५ दिनको स्पष्टीकरण सोधेको छ।

योजना कार्यालयले जेठ १५ गतेका मितिले १५ दिनभित्र कम्पनीका आधिकारिक प्रतिनिधिलाई स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिएको हो। सुकेटारदेखि काफ्लेपाटीसम्मको झण्डै ११ किलोमिटर सडक दूरीको कालोपत्रे गर्ने कार्यको जिम्मेवारी एमएस कन्टेक प्रालि नक्साल काठमाडौंले पाएको थियो।

सडक योजना कार्यालयले सम्झौता बमोजिम कार्य प्रगति नगरेको र तोकिएको म्यादमा काम सम्पन्न गर्नेतर्फ तदारुकता नदेखाएकोमा कार्यालयबाट पटक–पटक लिखित तथा मौखिम जानकारी, बैठक र निर्णय एवम् तागेता गराउँदा समेत निर्माण कार्य सम्पन्न गर्नेतर्फ कुनै चासो नदेखाएकोले कार्य सम्पन्न हुन नसक्नुको कारण सहित उपस्थित हुन निर्माण व्यवसायीलाई १५ दिनको म्याद दिएको तमोर करिडोर (सुभाङखोला–दोभान–ओलाङचुङगोला) सडक योजना कार्यालयका डिभिजनल इञ्जिनियर सिंहबहादुर बिष्टले जानकारी दिए।

उनका अनुसार कार्य सम्पन्न हुन नसक्नुको मनासिव जवाफका साथ कार्य सम्पन्न गर्नका लागि आवश्यक पर्ने कार्यतालिका,स्रोत परिचालनको भरपर्दो योजना र कार्य सम्पन्न गर्ने प्रतिबद्धताका साथ ठेक्का अन्त्य गर्नु नपर्ने कुनै कारण भए उपयुक्त कारण भए स्पष्टीकरणसहित निर्माण व्यवसायीका आधिकारिक व्यक्ति कार्यालयमा उपस्थित हुनुपर्ने छ। आधिकारिक व्यक्ति उपस्थित भई चित्त बुझ्दो स्पष्टीकरण र कार्य सम्पन्न गर्ने विश्वसनीय आधार पेश नभएमा ठेक्का सम्झौता शर्त तथा प्रचलित कानुन बमोजिम ठेक्का अन्त्य गरी कम्पनीलाई कालोसूचीमा राख्ने समेत सडक योजना कार्यालयले बताएको छ।

ठेक्का अन्त्य गरी कम्पनीलाई कालोसूचीमा राख्दा नियमानुसार कार्य सम्पादन जमानत, धरौटी वापतको रकम तथा पेश्की रकमको १० प्रतिशत ब्याज जफत गर्नुका साथै बाँकी कार्य गर्न लाग्ने खर्च सरकारी बाँकी मानी असुलउपर गर्नेतर्फ कारबाही अघि बढाउने सडक योजना कार्यालयले जनाएको छ।

२०७८ पुस ११ गते सुकेटारबाट काफ्लेपाटीसम्मको १० किलोमिटर ९९६ मिटर दूरीको सडक कालोपत्र गर्ने ठेक्का सम्झौता भएको थियो। ९५ करोडको ठेक्का खुलेकामा कन्टेकले ४१ करोड ७६ लाख ४७ हजार रुपैयाँ अर्थात् कुल ठेक्का रकमको ४६ प्रतिशत घटीमा ठेक्का पारेको थियो।

सम्झौता अनुसार २०८१ को जेठ मसान्तसम्ममा काम सक्नुपर्ने सम्झौतामा उल्लेख भए पनि उक्त सडक अझै अलपत्र अवस्थामा रहेको छ। सदरमुकाम फुङलिङबाट सुकेटारसम्मको ८ किलोमिटर दूरीको सडक भने विगतमै कालोपत्रे भएको छ।

प्रकाशित: १८ जेष्ठ २०८३ ११:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App