६ जेष्ठ २०८३ बुधबार
image/svg+xml
अर्थ

सामसुङको थ्रिडी एलइडी टिभी नेपाली बजारमा

काठमाडौं, असार २५ (नागरिक) - अब टेलिभिजनबाटै थ्री डाइमेन्सन (थ्रिडी) रुपमा भिडियो हेर्न पाइने भएको छ। सामसुङ कम्पनीले थ्रिडी लाइट इमिटिङ डायोड (एलइडी) टेलिभिजन नेपाल भत्र्याएकाले ग्राहकले यस्तो सुविधा पाउने भएका हुन्।

थ्रिडी एलइडी टेलिभिजनमा कुनै पनि भिडियोलाई सबैपाटोबाट हेर्न सकिन्छ। सामसुङका लागि नेपालस्थित आधिकारिक बिक्रेता हिम इलेक्ट्रोनिक्सले 'थ्रिडी एलइडी-७०००' मोडेलको टेलिभिजनको बिहीबारदेखि औपचारिक बिक्री सुरु गरेको छ।

 

ग्राहकलाई घरैमा बसेर अत्याधुनिक प्रविधिको अनुभूति गराउनका लागि नयाँ टिभी बजारमा ल्याएको हिम इलेक्ट्रोनिक्सका महाप्रबन्धक प्रभाकर थापाले बताए। 'हामीले एलइडी टिभी बिक्री गरिरहेका थियौं,' उनले भने, 'अहिले यसमा थ्रिडी सुविधा थपिएर आएको छ।'

 

इलेक्ट्रोनिक्सले दरबारमार्गस्थित सामसुङ प्लाजाबाट यो टेलिभिजनको बिक्री सुरु गरेको हो। गोल्छा अर्गनाइजेसनकी निर्देशक सीमा गोल्छाले थ्रिडी एलइडी टिभीको बिक्री सुरु गर्दै नेपाली बजारमा यो टिभी लोकप्रिय हुने बताइन्। 'हामी नयाँ प्रविधिका टिभी भित्र्याइरहेका छौं,' उनले भनिन्, 'यसले धेरै ग्राहकको मन जित्नेछ।' गोल्छाले थ्रिडी टिभी मासिन ६ देखि ७ वटा बिक्री हुने बताइन्।

 

बजारमा ४०, ४६ र ५५ इञ्चको आकारमा थ्रिडी टिभी पाइने छन्। इलेक्ट्रोनिक्सले ४० इञ्चको २ लाख ७५ हजार ९ सय ९०, ४६ इन्चको ३ लाख ४९ हजार ९ सय ९० र ५५ इन्चको ४ लाख ८९ हजार ९ सय ९० रुपैयाँ मूल्य पर्ने जनाएको छ। कम्पनीले थ्रिडी टिभी खरिदमा सात हजार मूल्य पर्ने एउटा चस्मा सित्तैमा दिने भएको छ।

 

वायरलेस प्रविधि जडान भएको थ्रिडी टिभीमा इन्टरनेट चलाउन, मोबाइलको तस्विर टिभीमा हेर्न तथा गेम खेल्न मिल्ने सुविधा रहेका छन्। यसमा कुनै पनि च्यानलको कार्यक्रम रेकर्ड गरेर पछि हेर्न मिल्छ। थ्रिडी प्रोसेसर अटो कन्वर्सन प्रविधि जडान भएको यो टिभीमा टु डिलाई थ्रिडीमा परिवर्तन गर्न सकिन्छ।

 

यो टिभीले बिजुली कम खपत गर्ने तथा अन्य टेलिभिजनको भन्दा कम स्थान ओगट्ने भएकाले ग्राहकको मन जित्ने कम्पनीको दाबी छ। विश्व बजारमा ५ वर्षदेखि एलइडी टिभीको बिक्रीमा पहिलो नम्बरमा सामसुङ रहेको इलेक्ट्रोनिक्सको दाबी छ।


एलइडीको पाँच वर्षमा ५० गुना बिक्री बढ्ने
सोल/लाइट इमिटिङ डायोड(इलइडी) टेलिभिजनको बजार आगामी पाच बर्षमा ५० गुना वृद्धि हुने एक अध्ययनले देखाएको छ।


शोध तथा परामर्श कम्पनी डस्प्ले सर्चले गरेको अध्ययन अनुसार सन् २०१४ सम्म एलइडी टिभीको विस्तार भएर २० करोड इकाइभन्दा बढि हुने छ। त्यसबेला बिक्री हुने १० टिभी मध्ये ८ वटा एलइडी हुने अध्ययनले देखाएको छ। शोध कम्पनीका अनुसार अन्तराष्ट्रिय बजारमा यसबर्ष यस्ता टिभीको बिक्री ३ दशमलव ७ करोड इकाइ हुने सम्भावना छ।


सन् २०११ मा यसको बिक्री दोब्बर बढेर ९ दशमलव २ करोड इकाइ हुने कम्पनीको अध्ययनले देखाएको छ। यो संख्या सन् २०१४ मा बढेर २१ करोड इकाइ हुने कम्पनीको दाबी छ। सन् २००९ मा सामसुङ कम्पनीले एलइडी टिभी बजारमा ल्याएको थियो। सामसुङले नेपाली बजारमा पनि यस्ता टिभी भित्र्याइसकेको छ।

प्रकाशित: २४ असार २०६७ १६:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App