विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो सय दिनको कार्यकालको उपलब्धि सार्वजनिक गरेका छन्।
प्राधिकरणले मंगलबार सार्वजनिक गरेको कार्यप्रगति अनुसार यस अवधिमा बाढीले क्षति पुर्याएको माथिल्लो तामाकोशीलाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याइएको छ।
भारत र बंगलादेशमा विद्युत् निर्यात बढाइएको तथा प्रसारण र वितरण प्रणालीमा उल्लेख्य सुधार गरिएको छ।
प्रतिवेदन अनुसार, २०८१ असोजमा आएको बाढीले क्षति पुगेको ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको मर्मत सम्पन्न गरी २०८२ असार १२ गतेदेखि पूर्ण क्षमतामा सञ्चालनमा ल्याइएको छ। प्राधिकरणले यसलाई सबैभन्दा ठूलो उपलब्धि मानेको छ।
कार्यकालको सय दिनभित्र विभिन्न जलविद्युत् तथा सौर्य आयोजनाबाट कुल ७८ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा थपिएको छ।
यसैगरी, बंगलादेशसँगको सम्झौताअनुसार जुलाई १५ देखि नियमित रूपमा ४० मेगावाट विद्युत् निर्यात सुरु गरिएको छ। भारततर्फ पनि औसतमा दैनिक ६२५ मेगावाट विद्युत् निर्यात भइरहेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार यस अवधिमा प्रसारण तथा वितरण प्रणालीमा उल्लेख्य सुधारका काम भएका छन्। सय दिनमा १०४ सर्किट किलोमिटर नयाँ प्रसारण लाइन निर्माण सम्पन्न भएको छ।
विभिन्न क्षमताका नयाँ सबस्टेसनहरू निर्माण तथा स्तरोन्नति गरी प्रणालीमा ५८६.५ एमभीए क्षमता थपिएको छ। साथै, भोल्टेज सुधारका लागि ११० एमभीएआर बराबरको क्यापासिटर बैंक जडान गरिएको छ।
काठमाडौं उपत्यकाको विद्युत् आपूर्तिलाई भरपर्दो बनाउन स्युचाटारस्थित डिस्ट्रिब्युसन कन्ट्रोल सेन्टरबाट २४ सै घण्टा अनुगमनको व्यवस्था मिलाइएको छ।
प्राधिकरणले १०० मेगावाटको कुलेखानी-सिस्नेरी र ४९४ मेगावाटको हुलिङटार-दुम्किम पम्प स्टोरेज आयोजनाको लाइसेन्सका लागि आवेदन दिएको छ। साथै, नेपाल-चीनबीच अन्तर्देशीय प्रसारण लाइन निर्माणको सम्भाव्यता अध्ययन र भारतसँगको संयुक्त लगानीमा दुईवटा ४०० केभी प्रसारण लाइन बनाउने प्रक्रिया अघि बढेको छ।
लामो समयदेखि विवादित डेडिकेटेड र ट्रंक लाइन महसुलको समस्या समाधानको बाटोमा गएको छ। यसका लागि पुनरावलोकन समिति गठन गरी काम अघि बढाइएको छ।
वित्तीय तरलता व्यवस्थापनका लागि अर्थ मन्त्रालयबाट १० अर्ब अल्पकालीन ऋण र प्रणाली विस्तारका लागि २० अर्बको ऋणपत्र जारी गर्न सहमति प्राप्त भएको छ।
ठूला ग्राहकका लागि केन्द्रीकृत भुक्तानी प्रणाली (पेमेन्ट गेटवे) परीक्षणको अन्तिम चरणमा रहेको र प्रणालीको गुणस्तरबारे जानकारी दिन ग्राहकका लागि 'इन्फ्रास्ट्रक्चर क्वालिटी एप तयार गरिएको प्रतिवेदनमा उल्लेख छ।
प्रकाशित: २४ असार २०८२ १५:३० मंगलबार





