आठ वर्षअघि २०७४ चैतमा कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठक प्रमुख पर्यटकीय गन्तव्य मुगुको रारा ताल किनारमा बसेको थियो। प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकमा आमन्त्रित थिए, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली।
प्रधानमन्त्रीलाई रारामा बोलाएर गरिएको मन्त्रिपरिषद् बैठकले कर्णाली कोरिडोरको नाम परिवर्तन गरेर ‘प्रधानमन्त्री अन्तर्राष्ट्रिय द्रुतमार्ग’ नामकरण ग¥यो। कर्णाली कोरिडोरको नाम परिवर्तनका पछाडि प्रदेश सरकारको एउटै उद्देश्य थियो–कर्णाली कोरिडोरलाई संघीय सरकारले राष्ट्रिय गौरवको आयोजनामा समावेश गरोस्।
प्रदेश सरकारको अपेक्षा अनुसार संघीय सरकारले कर्णाली कोरिडोरलाई आवश्यक बजेट नछुट्याए पनि आइतबारबाट ‘कर्णाली समृद्धिको मार्ग’को ढोका भने औपचारिक रूपमा खुलेको छ।

हुम्लाको खार्पुनाथ गाउँपालिका–५ स्थित खार्पु हुँदै बग्ने चुवाखोला माथिको बेलिब्रिज सञ्चालनमा आएसँगै सदरमुकाम सिमिकोट राष्ट्रिय सडक सञ्जालसँग मात्रै जोडिएको छैन, उत्तरको चीन र दक्षिणको भारतलाई पनि सडक मार्गले जोडेको छ।
कर्णाली प्रदेश भारतसँग सीमा जोडिएको छैन। उत्तरको छिमेकी चीनसँग सडक सञ्जाल थिएन। नेपाली सेनाले कर्णाली कोरिडोरका अप्ठ्यारा चट्टानहरू फोडेर सडक बनाए पनि चुवाखोलामा पुल नहुँदा ‘समृद्धिको मार्ग’ले पूर्णता पाउन सकेको थिएन।
गत पुस १६ गते सरकारले चुवाखोला–कर्णाली नदीमाथि बेलिब्रिज बनाउने जिम्मेवारी नेपाली सेनालाई दियो। सेनाले चुवाखोलामा १७० फिट लामो बेलिब्रिज छोटो समयमै निर्माण सम्पन्न गरेको छ। सेनाका अनुसार पहिलो चरणमा सुरक्षा पर्खाल लगाउने, पहुँच मार्ग निर्माण गर्ने र खोलाको दुबैतर्फ ग्याबिन जाली भर्ने काम गरिएको थियो, भने सडक डिभिजन कार्यालय महेन्द्रनगरदेखि बेलिब्रिजका पाट्र्स ढुवानी गरेर जेठ २८ गतेबाट बेलिब्रिज जडान सुरु गरिएको थियो।
‘दिन र रात दुवै समयमा काम गरेकाले समय अगावै निर्माण सम्पन्न गर्न सफल भयौँ,’ नेपाली सेनाका सेनानी रनजीत बुढाथोकीले भने, ‘अब हुम्ला सदरमुकाम सिमिकोटमा बाह्रै महिना यातायातका साधन चल्नेछन् ।’
खार्पुनाथ गाउँपालिका–५ का वडाध्यक्ष भरतजंग शाही बेलिब्रिज सञ्चालनमा आएसँगै कर्णालीको समृद्धिको ढोका खुलेको बताउँछन् । ‘चीन पुग्ने सडक निर्माण भए पनि पुल नहुँदा सिधा यातायात सम्पर्क थिएन,’ उनले भने, ‘बेलिब्रिज सञ्चालनमा आएसँगै अब कर्णालीको समृद्धिको यात्रा सुरु भएको छ ।’ कर्णाली कोरिडोरले भारत र चीनलाई सडक मार्गबाट जोडेको छैन, वैदेशिक व्यापारको नयाँ मार्ग पनि खुलेको छ ।

सरकारले हुम्ला सिमिकोटलाई यस वर्षभित्र राष्ट्रिय सडक सञ्जालसँग जोडिनेछ भनेर लेख्न थालेको १२ वर्ष भयो । १२ वर्षपछि औपचारिक रूपमा हुम्ला सदरमुकाम सिमिकोट राष्ट्रिय सडक सञ्जालसँग औपचारिक जोडियो।
बेलिब्रिज उद्घाटन गर्न प्रधानमन्त्री ओलीसहितको टोली हुम्ला पुग्यो। बेल ब्रिजको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालको अग्लो ठाउँमा रहेको सदरमुकाम सिमिकोट सडक सञ्जालमा जोडिएकोमा आफू असाध्यै खुसी भएको बताए ।
‘राष्ट्रिय सडक सञ्चालनसँग जोडिन बाँकी नेपालको एक मात्रै जिल्ला हुम्लाको सदरमुकाम सिमिकोट जोडिएपछि सबैभन्दा बढी खुसी म आफै छु,’ प्रधानमन्त्री ओलीले भने, ‘यो सफलता हासिल गर्ने नेपाली सेनालाई हार्दिक आभार व्यक्त गर्दछु ।’
उनले हुम्ला राष्ट्रिय सडक सञ्जालमा मात्र जोडिएको नभई समृद्धको बाटोमा समेत औपचारिक रूपमा प्रवेश गरेको बताए । ‘हुम्ला अब उत्तर–दक्षिण मार्गले जोडिने जिल्ला मात्र नभएर पश्चिम नेपालको रणनीतिक महत्त्व बोकेको जिल्लाका रूपमा समेत स्थापित भएको छ,’ प्रधानमन्त्री ओलीले भने। उनले चीनसँग जोडिएको हिल्सा नाकामा एलसी सहितको क्वारेन्टिन निर्माण गरिने बताए । उनले हुम्लाको अर्थ सुधार गर्नका लागि छिमेकी मुलुकसँग व्यापार व्यवसाय गर्नका लागि ठुलो क्वारेन्टिन स्थापना तत्काल गरिने बताए ।
पूर्व मुख्यमन्त्री एवम् हुम्लाबाट निर्वाचित सांसद जीवनबहादुर शाहीले बेलिब्रिज बनेको ठाउँ नजिकै बन्दै गरेको मोटरेबल पुल सम्पन्न गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताए । उनले भने, ‘रेडिमेट बेलिब्रिज पुलले हुम्ला सदरमुकाम सिमिकोट राष्ट्रिय सडक सञ्जालमा जोडिएसँगै कर्णाली उत्तर र दक्षिण अन्तरदेशीय सडक सञ्जालमा जोडिने र हाम्रो वैदेशिक व्यापारलाई सहयोग पुग्ने तथा हुम्ली दाजुभाइ, दिदीबहिनीहरूको दैनिक जीवनमा क्रमिक सुधार र सहजता आउने विश्वास लिएको छु ।’ उनले आज उद्घाटन भएको रेडिमेट फलामे बेलिब्रिज अस्थायी साधन मात्रै भएको पनि बताए। ‘सरकारबाट पक्की सडक पुलको अविलम्ब निर्माणमा साँचो र पर्याप्त बजेट व्यवस्थापन गर्नु नै यसको स्थायी समाधान र हामी सबैको कार्यभार हो’, पूर्व मुख्यमन्त्री शाहीले भने।
२०७५ असोजमा कर्णालीका तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाही कर्णालीसँग सीमा जोडिएको चीनको सिचुवान प्राप्तको भ्रमणमा गए । चीनसँग मात्रै सीमा जोडिएको प्रदेश भएकाले होला कर्णाली कोरिडोरको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) चीनले बनाइदिने भयो ।

चीन सरकारको स्वामित्वमा रहेको चाइना रेलवे इरवान इन्जिनियरिङ कम्पनीले सडकको डिपिआर गरेर प्रदेश सरकारलाई बुझायो । चीनले कर्णाली कोरिडोरको जिम्मा आफूलाई दिए तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने बतायो । प्रदेश सरकारले पटक–पटक चीनले बनाइदिएको डिपिआर संघीय सरकारलाई दियो । कर्णाली कोरिडोर निर्माणको जिम्मा चीनलाई दिन प्रयास पनि ग¥यो । संघीय सरकारले कर्णालीको यो समृद्धिको रेखालाई कहिल्यै प्राथमिकतामा राखेन् ।
जमुनाह–हिल्सा सडक लुम्बिनी प्रदेशको बाँकेको जमुनाहदेखि सुरु हुन्छ । कर्णाली प्रदेशको राजधानी सुर्खेत हुँदै दैलेख, कालिकोट, सुदूरपश्चिम प्रदेशको बाजुरा भएर चीनसँगको सिमाना हुम्लाको हिल्सासम्म पुग्छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको धुलियाविटलाई आधार बनाएर चीनले तयार पारेको विस्तृत परियोजना प्रतिवेदनमा धुलियाविटदेखि हिल्सा नाकासम्मको दूरी ४०३.५२ किलोमिटर छ । डिपिआर अनुसार सुर्खेत खण्ड २४.१, दैलेख खण्ड १०४.६, कालिकोट खण्ड ३९.१४, सुदूरपश्चिमको बाजुरा खण्ड ४३.४९ र हुम्ला खण्ड १९२.१९ किलोमिटरको छ ।
हेलिकोप्टरमा आए, जहाजमा गए
प्रधानमन्त्री ओली चुवाखोलाको बेलिब्रिज उद्घाटन गर्न आइतबार बिहान साढे १० बजे नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत विमानस्थलमा झरेका थिए । हुम्लामा बेलिब्रिज उद्घाटनका लागि ११ बजेको समय निर्धारण गरिएको थियो ।
प्रधानमन्त्री सुर्खेत झरे लगत्तै पानी पर्न थाल्यो भने पहाडी र हिमाली क्षेत्रको मौसममा खराबी आयो । प्रधानमन्त्रीसहितको टोली दिउँसो साढे तीन बजे मात्रै सुर्खेतदेखि हुम्लाका लागि प्रस्थान गरेको थियो ।
त्यहाँ झन्डै १० मिनेट बोलेपछि प्रधानमन्त्री नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत फर्किएका थिए । हेलिकोप्टरमा काठमाडौं फर्किँदा ढिलो हुने भएपछि प्रधानमन्त्रीलाई लिन नेपाली सेनाको जहाज सुर्खेत ल्याइएको थियो । प्रधानमन्त्रीसहितको टोली सेनाको जहाजमार्फत काठमाडौं फर्किएको छ ।
प्रकाशित: २२ असार २०८२ १९:५८ आइतबार