१ श्रावण २०८२ बिहीबार
image/svg+xml
अर्थ

सय हेक्टरमा धानको बीउ उत्पादन गर्दै सहकारी

करिब दुई दशकअघि धानको बीउ उत्पादन सुरु गरेको जानकी गाउँपालिका–४ मुनुवास्थित बिजवृद्धि कृषि सहकारीले यो वर्ष सय हेक्टरमा धानको बीउखेती गरेको छ। सहकारीमा आबद्ध जानकी गाउँपालिकाका वडा नं ४ र ७ का सयभन्दा बढी किसानले धानको बीउखेती गरेका छन्।  

उर्वर जमिन र सिँचाइको राम्रो प्रबन्ध भएकाले किसान धान बीउ उत्पादनमा लागेका हुन्। गत वर्ष सहकारीले तीन हजार ५०० क्विन्टल धानको बीउ उत्पादन गरेको थियो। त्यसैगरी गहुँ तीन हजार क्विन्टल, तोरी ६० क्विन्टल र मकैको बीउ १२ क्विन्टल किसानबाट खरिद गरिएको सहकारीले जनाएको छ।  

यसरी खरिद गर्दा सहकारीले किसानलाई बजार भाउभन्दा प्रतिक्विन्टल रु तीन सय बढी मूल्य दिने गरेको छ। सुरुमा ४५ जना किसानबाट सुरु भएको सहकारीले पछिल्लो समय बीउ उत्पादनमा ठूलो योगदान दिँदै आएको छ। यहाँ उत्पादित बीउ कैलालीका विभिन्न पालिकामा बिक्री हुने गरेको छ। यसबाहेक बर्दिया, बाँके, सुर्खेत, दाङ, कञ्चनपुर, दैलेख, सर्लाही, सप्तरी, सिराहाका किसानले लैजाने गरेका छन्।  

एकपटक बीउ लैजाने किसानले अर्कोपटक खोजीखोजी आउने गरेको सहकारीका पूर्वअध्यक्ष कमलबहादुर कठरियाले बताए। ‘सुरुको दिनमा बीउ उत्पादनमा धेरैलाई चासो थिएन, अहिले धेरै किसान बीउ उत्पादनमा लागेका छन्,’ उनले भने, ‘हामीले बीउ उत्पादनमा मेहनत गर्यौं, अहिले बीउको माग धेरै छ।’  

रानी जमरा कुलरिया सिँचाइ आयोजना आएपछि कृषि कार्यक्रममार्फत सहकारीलाई ठूलो सहयोग भएको कठरियाले बताए। बीउ ग्रेडिङ र भण्डारणको समस्या नभएको उनले जनाए। सहकारीले गत वर्ष सय हेक्टरमा धान बीउखेती गरेको थियो भने एक सय १५ हेक्टरमा गहुँको बीउ उत्पादन गरेको थियो। दश हेक्टरमा तोरीको बीउ, दुई हेक्टरमा मकै र एक हेक्टरमा मसुरोको बीउखेती गरिएको थियो।  

विसं २०५७ बाट समूहमार्फत तरकारी खेती गर्दै आएको समूहलाई २०६२ मा सहकारीमा विस्तार गरी बीउ उत्पादन थालिएको हो। किसानको सक्रियताले विभिन्न सङ्घसंस्थाको सहयोगमा बीउ उत्पादनमा लागेको सहकारीलाई रानी जमरा कुलरिया सिँचाइ आयोजनाले ठूलो साथ दिएको छ। सहकारीका विजय बडायकले स्थानीय जातका बीउ प्रयोग गर्ने किसानलाई उत्पादन बढाउन सहकारीमार्फत बीउ उत्पादन थालेको बताए।  

सहकारीका व्यवस्थापक गोविन्दराज रावतका अनुसार सहकारीसँग हाल चास सय आठ मेट्रिक टन भण्डारण क्षमताका गोदाम छन्। सहकारीले धेरै बालीका बीउ उत्पादन गर्दै आएको र विभिन्न जिल्लामा पठाउने गरेको छ। सहकारीको सहयोगमा यहाँका किसानले धान, गहुँ, मकै, मसुरो, तोरी, मासलगायत बालीका बीउ उत्पादन गर्छन्। सिँचाइ आयोजनाले भण्डारण भवन, विभिन्न मेसिन र ग्रेडिङ मेसिन उपलब्ध गराएपछि सहयोग भएको छ।  

किसान लविता कठरियाले तीन बिघा जमिनमा धान र गहुँको बीउ उत्पादन गर्दै आएको बताए। विगतमा खेती गर्दा खासै उत्पादन नहुने किसानले सहकारीबाट बीउ र मल पाउनुका साथै सहकारीले उत्पादन किनिदिएपछि खेती गर्न हौसला मिलेको उनको भनाइ छ।  

विगतमा मुनुवाका किसानले घरकै भकारीमा भण्डारण गरिएको बीउ प्रयोग गर्थे भने कतिपय किसान बीउका लागि अन्यत्र भौतारिन्थे। गाउँमै ग्रेडिङ गरिएको गुणस्तरीय बीउ पाउन थालेपछि सहकारीप्रति उनीहरूको आकर्षण बढ्दै गएको छ। सहकारीले आफ्ना सदस्यलाई बीउलगायत अन्य सहुलियत दिँदै आएको छ।  

सहकारीको सदस्य बन्न बीउ उत्पादन गर्ने किसान हुनुपर्छ। पैतालीस जना किसानले सुरु गरेको मुनुवा बिजवृद्धि सहकारीमा हाल एक सय नौ सेयरसदस्य छन्। सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले कृषि उत्पादन वृद्धिका लागि किसान र सहकारीलाई सघाइरहेको छ।  

आयोजनाका प्रमुख भरत कँडेलले मुनुवा बिजवृद्धि कृषि सहकारी बीउ उत्पादनमा अग्रणी संस्थाका रूपमा काम गरिरहेको र आयोजनाले यस्ता संस्थालाई सधैं साथ दिने बताए। ‘सहकारीले बीउ उत्पादनमा खेलेको भूमिका सराहनीय छ, बिजवृद्धिमा राम्रो काम गरेको छ,’ उनले भने, ‘समयअनुसार किसानलाई आधुनिकीकरण बनाउन हाम्रो प्रयास हुन्छ। हामीले सहकारीमार्फत किसानलाई लाभ होस् भनेर प्रविधि, भण्डारणका लागि भवन निर्माणमा सघाएका छौं, यो सहयोग निरन्तर हुन्छ।’  

सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइको सहयोगमा टीकापुर र जानकीका दर्जनभन्दा बढी सहकारीले बीउ उत्पादनको काम गरिरहेका छन्। किसानले उत्पादन गरेको बीउ सहकारीमार्फत बिक्रीवितरण हुने गरेको छ। बिजवृद्धिले बीउ उत्पादनमा सफलता पाएपछि यो क्षेत्रका अन्य सहकारीले पनि बीउ उत्पादनमा चासो दिन थालेका छन्। दुर्गा देवकोटा / रासस

प्रकाशित: २२ असार २०८२ ०७:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App