२९ असार २०८२ आइतबार
image/svg+xml
अर्थ

स्थानीय र प्रदेशमा कोशेली घरहरूको आवश्यकता छ : अध्यक्ष ज्ञवाली

महिला उद्यमी महासंघको ७६औँ शाखा स्याङ्जामा विस्तार

महिला उद्यमी महासंघ नेपालकी अध्यक्ष शोभा ज्ञवालीले स्थानीय उत्पादनको बजारीकरणका लागि बनाइएका कोशेली घरहरूको आवश्यकता औँल्याएकी छन्।

शुक्रबार स्याङ्जाको पुतलीबजार नगरपालिकामा 'जिल्ला स्तरीय महिला उद्यमी मेला तथा महिला उद्यमीहरूका आवश्यकता, अवसर तथा चुनौती विषयक कार्यशाला गोष्ठीमा अध्यक्ष ज्ञवालीले यस्तो बताएकी हुन्। 'स्थानीय र प्रदेशमा कोशेली घरहरूको आवश्यकता छ,' उनले भनिन्, 'कोशेली घरहरू प्रभावकारी रूपले चलेका छन् कि छैनन् भनेर सरकारी पक्षबाट रेखदेख हुनुपर्छ।' राज्यले जनतालाई दिने हरेक सेवासुविधा प्रभावकारी हुनुपर्ने उनको भनाइ छ।

महासंघका अध्यक्ष ज्ञवालीको अध्यक्षतामा सम्पन्न उक्त कार्यशालामा महिला उद्यमशीलतालाई कसरी अगाडि बढाउने र यसको महत्व के हो भन्नेबारे ज्ञवालीले प्रष्ट पारेकी थिइन्। उनले राज्यले ल्याएका नीतिनियमहरू गाउँगाउँमा पुर्‍याइएको बारे बताइन्। साथै आजको दिनसम्म ग्रामीण भेगका सामानहरू अन्तर्राष्ट्रिय स्तरका प्रदर्शनीसम्म पुर्‍याएको पनि उनले जिकिर गरिन्। उनले भनिन्, 'देशमा विभिन्न ठाउँका सामानहरू अन्तर्राष्ट्रिय स्तरका प्रदर्शनीसम्म पुर्‍याइएको छ। आगामी दिनहरूमा सबै ग्रामीण भेगमा उतपादन भएका सामानहरू अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने छौँ।'

यस्तै कार्यक्रमको प्रमुख अतिथिका रूपमा रहेका नेपालका लागि पाकिस्तानी राजूत अब्रार एच हासमीले उद्यमी महिला भेलासहितको विशेष प्रशिक्षण र कार्यशाला कार्यक्रमको उद्घाटन गर्दै महिलालाई उद्यमसँग जोडिनु पर्ने बताए। उनले उद्यम विकासका लागि नेपालमा धेरै सम्भावना रहेको जनाउँदै उनले उद्यमीहरूलाई उद्यममा लाग्न सुझाव समेत दिए।

साथै दक्षिण एशियामा नेपालका महिलाका सहभागिता धेरै राम्रो भएको जनाउँदै उनले उद्यममा लागेर व्यवसाय गर्नुपर्ने र महिला उद्यमीका लागि आगामी दिनहरूमा चाहिने सहयोग गर्न आफू सदैब तयार रहने बताए।

कार्यक्रममा पुतलीबजार नगर प्रमुख तुलसीराम रेग्मीले पालिका सधैँ महिला उद्यमीहरूको साथमा रहेको बताए। नगर उपप्रमुख देवी अर्याल, प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याल, महिला उद्यमी महासंघ गण्डकी प्रदेश संयोजक पार्वती पौडेल रेग्मी लगायतले शुभकामना मन्तव्यसहित महिला उद्यमका बारेमा जानकारी गराएका थिए।

यस्तै महासंघका तृतीय उपाध्यक्ष बसन्ती प्रधान, कार्यकारी सदस्य एवं कास्की प्रादेश प्रतिनिधि पार्वती पौडेल रेग्मीले धन्यवाद ज्ञापन गरेकी थिइन्। कार्यक्रममा विभिन्न पेसा, व्यवसाय तथा उद्यममा संलग्न करिब तीन सय जना महिलाको सहभागिता रहेको थियो।

सोही क्रममा महासंघका अध्यक्ष ज्ञवालीले महासंघले आफ्नो जिल्ला संघ ७७ वटै जिल्लामा विस्तार गर्ने योजनालाई अघि बढाइरहेको पनि बताइन्। उनले नेपालभरिका सम्पूर्ण महिला उद्यमीहरूलाई एउटै सञ्जालमार्फत एउटै छाता संगठनमा एकताबद्ध गर्दै हरेक सवालमा सम्बन्धित निकायसँग पैरवी गर्ने, क्षमता अभिवृद्धिका काम महासंघले गरिरहेको बताइन्। उनले भनिन्, ‘यसका लागि विभिन्न क्षमतामूलक तालिम तथा महिला उद्यमीहरूको सामाजिक तथा आर्थिक सशक्तीकरणका काम गर्दै उद्यमशीलतालाई दिगोपनामा काम गरिरहेका छौँ।’

यही नै मूल उद्देश्यसहित महिला उद्यमी महासंघ नेपालको २०६० साल असार २७ गते स्थापना भएको उनले बताइन्।  सोही क्रममा स्याङ्जामा जिल्ला स्तरीय महिला उद्यमी संघ गठन भएको छ। स्याङ्जामा ७६ औँ शाखा विस्तार भएको गरिएको हो।

महिला उद्यमी चन्द्रकला रानाको अध्यक्षतामा ११ सदस्यीय महिला उद्यमी संघ जिल्ला समिति गठन भएको हो।

समितिको वरिष्ठ उपाध्यक्षमा सुनिता पौडेल गौतम, उपाध्यक्षमा गुनकुमारी राना, महासचिवमा भवानी अधिकारी, सचिवमा लक्ष्मी थापा, कोषाध्यक्षमा करुणा पौडेल क्षेत्री कौशिला चयन भएका छन्। यसैगरी, समितिको सदस्यमा रेबती पाध्या रेग्मी (रेणु), सम्झना श्रेष्ठ, हसिना बेगम, सुष्मा श्रेष्ठ, माया गोर्खाली चयन भएका छन्।

शुक्रबार स्याङ्जाको पुतलीबजार नगरपालिकामा सम्पन्न कार्यशालाको आयोजना महिला उद्यमी महासंघ नेपालले गरेको हो। एक दिने उक्‍त कार्यशालाको सहकार्य तथा सहयोग पाकिस्तानी राजदूतावासले गरेको हो। 

कार्यशालामा पुतलीबजार नगरपालिका मेयर, उपमेयर, वडाध्यक्षहरू, जिल्लाका एसपी, विभिन्न उद्योग वाणिज्य संघको उपस्थिति रहेको थियो।

प्रकाशित: २१ असार २०८२ ०९:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App