१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अर्थ

नेपाल आउने पर्यटकमध्ये भारत र अमेरिकाका बढी

नेपाल भित्रिने पर्यटकमध्ये सबैभन्दा बढी भारतबाट र त्यसपछि अमेरिकाको पाइएको छ। त्यति मात्र होइन, पछिल्लो समय नेपाल भित्रिने पर्यटकहरूको संख्या पनि बढेको देखिएको छ। यसबाट नेपालमा केही वर्ष यता पर्यटन क्षेत्र पुनरूत्थान हुँदै गएको बुझ्न सकिन्छ। होटल व्यवसाय चलायमान भएको र पर्यटकबाट प्राप्त हुने आम्दानीमा समेत वृद्धि हुँदै गएको सरकारी अभिलेख छ।

अर्थ मन्त्रालयले प्रकाशन गरेको पछिल्लो आर्थिक सर्भेक्षण अनुसार सन् २०२४ मा नेपाल भ्रमण गर्ने कुल पर्यटकमध्ये सबैभन्दा बढी ६०.४ प्रतिशतले बिदा, मनोरञ्जन र यात्राको लागि भ्रमण गरेका थिए। यसैगरी १५.३ प्रतिशतले तीर्थयात्रा, १४.५ प्रतिशतले पर्वतारोहण, साहसिक यात्रा र ९.८ प्रतिशतले अन्य उद्देश्य राखेर नेपाल भ्रमण गरेको उल्लेख छ।

संस्कृति पर्यटन तथा नागरिक उडयन मन्त्रालयका अनुसार सन् २०२४ मा भारतबाट २७.७० प्रतिशत अमेरिकाबाट ९.६७ प्रतिशत, चीनबाट ८.८९ प्रतिशत, बेलायतबाट ४.७९ प्रतिशत, बाङ्लादेशबाट ४.२७ प्रतिशत, अष्ट्रेलियाबाट ३.८३, श्रीलंकाबाट २.७० प्रतिशत, थाइल्यान्डबाट २.६१ प्रतिशत, जर्मनीबाट २.६१ प्रतिशत, दक्षिण कोरियाबाट २.३५ प्रतिशत र अन्य मुलुकबाट ३०.५७ प्रतिशत पर्यटकले नेपाल भ्रमण गरेका छन्। पछिल्लो एक वर्षमा नेपालमा भित्रिने पर्यटकको संख्या १३ प्रतिशतले बढेको पाइएको छ।

मन्त्रालयका अनुसार २०८० पुससम्म पर्यटक आगमन १० लाख १४ हजार आठ सय ८२ रहेकोमा २०८१ पुससम्म यस्तो संख्या १३.० प्रतिशतले वृद्धि भई ११ लाख ४७ हजार पाँच सय ४८ पुगेको छ। यसबाट नेपालमा पयर्टन क्षत्रको गतिविधि बढ्दै गएको पाइएको छ। मन्त्रालयका अनुसार पर्यटकीय गतिविधि विस्तारसँगै पर्यटक भ्रमण आय पनि बढेको छ।

सन् २०२३ मा भ्रमण आय ७२ अर्ब ४५ करोड ५६ लाख रूपैयाँ रहेकोमा सन् २०२४ मा १५ प्रतिशतले वृद्धि भई ८३ अर्ब ३९ करोड ४० लाख पुगेको मन्त्रालयले जनाएको छ। पर्यटकको संख्या वृद्धि भएसँगै नेपालमा भित्रिने पर्यटकले गर्ने प्रतिदिन खर्च र पर्यटक बस्ने समयमा केही फेरबदल भएको छ। सन् २०२३ मा पर्यटकको बसाइ अवधि औसतमा १३.२ दिन र प्रतिपर्यटक प्रतिदिन औसत खर्च ४१ अमेरिकी डलर रहेको थियो।

सन् २०२४ मा पर्यटकको औसत बसाइ अवधि र प्रतिदिन खर्चमा न्यून दरले परिवर्तन भई पर्यटकको औसत बसाइ १३.३ दिन र प्रतिपर्यटक प्रतिदिन औसत खर्च ४०.८ अमेरिकी डलर कायम भएको छ।

नेपालमा भित्रिने पर्यटक मात्र नभई पर्वतारोहण दल (हिमाल आरोहण दल) को संख्या पनि बढेको पाइएको छ। पर्वतारोहण दलको संख्या सन् २०२४ मा ५.४२ प्रतिशतले बढेको छ। पर्वतारोहीको संख्या सन् २०२३ मा ९.३९८ रहेकोमा सन् २०२४ मा केही संकुचन भई ९.१९१ रहेको छ। पर्वतारोहीको संख्यामा आएको कमीसँगै पर्वतारोहणबाट प्राप्त हुने रोयल्टी समेत सन् २०२३ मा ९९ करोड ९३ लाखको तुलनामा ७.४ प्रतिशतले कमी आई सन् २०२४ मा रु.९२ करोड ५८ लाख रहेको पाइएको छ।

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले उपलब्ध गराएको जानकारी अनुसार यस क्षेत्रमा हालसम्म २८ हजार दुई सय ३३ दक्ष जनशक्ति उत्पादन भएका छन्। योसँगै नेपालमा होटलको संख्या पनि बढ्दै गएको पाइएको छ। डिलक्ससहितका पाँचतारे होटलको संख्या २०८० फागुनसम्म एक सय ८२ रहेकोमा २०८१ फागुनसम्म दुई सय १४ पुगेको छ।

तारे स्तर बाहेकको डिलक्स/ लक्जरी हेरिटेज बुटिक होटलसहित पर्यटक स्तरीय होटल, लज तथा रिसोर्टको संख्या पनि बढेको पाइएको छ। त्यस्ता होटल २०८० फागुनसम्म एक हजार दुई सय ३४ रहेकोमा त्यो संख्या बढेर २०८१ फागुन महिनासम्म एक हजार तीन सय ६४ पुगेको पाइएको छ।

यसैगरी रिसोर्ट तथा डिलक्ससहितका तारे होटलमा रहेका शैयाको संख्या चालु आर्थिक वर्षको फागुनसम्म तीन हजार दुई सय ७० थप भई २०८१ फागुनसम्म २० हजार तीन सय ४३ पुगेको बताइएको छ। यस्ता होटलबाहेक पर्यटकस्तरीय डिलक्स/लक्जरी हेरिटेज बुटिक होटल, लज तथा रिसोर्टमा रहेका शैयाको संख्या चालु आर्थिक वर्षको फागुनसम्म ५ हजार २ थप भई २०८१ फागुनसम्म ४२ हजार दुई सय ९९ पुगेको बताइएको छ।

यसैगरी २०८१ फागुनसम्म क्यासिनो नौ र आधुनिक मेसिन वा उपकरणको माध्यमबाट मात्र खेल खेलाउने क्यासिनो २० गरी २९ सञ्चालनमा रहेका बताइएको छ। २०८१ असारसम्म यस्तो संख्या जम्मा २६ रहेको थियो। पर्यटकहरूको संख्या बढेसँगै ट्राभल एजेन्सी, टे«किङ एजेन्सीको संख्या पनि बढ्दै गएको पाइएको छ।

मन्त्रालयले उपलब्ध गराएको जानकारी अनु्सार २०८१ फागुनसम्म ट्राभल एजेन्सी ४.९६३. ट्रेकिङ एजेन्सी ३.२५२ र प्याक्टिङ एजेन्सी ९७ दर्ता भएका छन्। त्यसैगरी यस अवधिसम्म पर्यटक यातायात सेवा एक सय ५५, टुर गाइड पाँच हजार दुई सय ६९, ट्रेकिङ गाइड २७ हजार एक सय २८ र रिभर गाइड चार सय २५ दर्ता भएको बताइएको छ । 

प्रकाशित: २० असार २०८२ १०:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App