नेपाल विद्युत् प्राधिकरणका संचालक तथा ऊर्जा जलस्रोत तथा सिचाइ मन्त्रालयका सचिव सुरेश आचार्य, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य सहितको टोलीले कोहलपुर देखि सुर्खेत सम्म निर्माण भइरहेको १३२ केभी प्रसारण लाइन आयोजनाको कार्य प्रगति निरीक्षण गरेका छन्।
कोहलपुरदेखि सुर्खेतसम्म निर्माण भइरहेको उक्त लाइनले सम्पूर्ण कर्णालीमा देखिएको विद्युत्को समस्या समाधान हुने, उक्त क्षेत्रमा अन्य साना जलविद्युत आयोजना निर्माणको लागि बाटो खोल्ने लगायत कणालीको विकाशको लागि महत्त्वपूर्ण योगदान गर्ने भएकोले सो लाइन सरकार तथा विद्युत् प्राधिकरणको उच्च प्राथमिकता रहेको छ ।
लाइन निर्माणको क्रममा बोकेका बानीयाभार क्षेत्रमा ३ ओट पोल निर्माण तथा कण्डक्टर तान्न स्थानीयबाट अवरोध आइ काम रोकिएको अवस्थामा उच्च मन्त्रालयका सचिव सहित उच्च अधिकारीले निरीक्षण गरेका हुन ।
अवरोध भएको स्थानमा के कसरी कार्य गर्ने सम्बन्धमा बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित बैठक तथा छलफल भएको थियो । सो बैठकमा प्रमुख जिल्ला अधिकारीले सारा कणाली बासीलाई गुणस्तरीय भरपर्दो विश्वसनीय विद्युत् आपूर्ति गर्ने परियोजना यो या त्यो बहानामा रोकिन नहुने त्यसको लागि वास्तविक पिर मर्कामा परेको जग्गा धनीसँग छलफल वार्ता गर्न सकिने भएता पनि पीडितको नाममा विभिन्न सरोकारवाला वा अन्य गैर पीडित पक्ष सँग कुनै छलफल परामर्श नहुने बरु विकाश निर्माणमा कार्यमा अवरोध पुराउने प्रति प्रशासन निर्ममता पूर्वक प्रस्तुत हुने बताए।
कोहलपुरदेखि सुर्खेतसम्म नै स्थलगत निरीक्षण गरेको टोलीले विभिन्न स्थानमा निर्माण व्यवसायीबाट भएको कार्यको गुणस्तर अनुगमन समेत गरेको थियो । सोही अवसरमा कर्णाली प्रदेशका मुख्य मन्त्रिलाई समेत भेट गरी सम्पूर्ण कणालीको विद्युतिकरणका लागि विद्युत् प्राधिकरणले प्राथमिकता साथ कार्य गरेको जानकारी गराइएको थियो । कर्णाली प्रदेशका मुख्यमन्त्रीले प्रदेश तथा स्थानीय सरकारहरु विकाश निर्माणको कार्यमा हातेमाले तयार रहेको र प्राधिकरणले समेत विकाश निर्माणको कार्यमा अधिकतम छलफल र परामर्श गरी कार्य गर्नुपर्ने बताए।
प्रकाशित: १२ असार २०८२ १३:०९ बिहीबार





