२५ असार २०८२ बुधबार
image/svg+xml
अर्थ

ललितपुर महानगरको बजेट ७ अर्ब ४७ करोड

ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ७ अर्ब ४७ करोड ४१ लाख ४७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ।

मंगलबार आयोजित सातौं नगर सभामा उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले ‘ललितपुरको समृद्धि र सुशासनको आधार, सम्पदा संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार’ भन्ने नारासहित बजेट प्रस्तुत गरेकी हुन्।

प्रस्तुत बजेट चालु आर्थिक वर्षको तुलनामा करिब उही आकारको छ। देशको समग्र आर्थिक अवस्था र संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदानमा आएको कटौतीका कारण बजेटको आकार नबढाइएको उपप्रमुख शाक्यले बताइन्।

कुल विनियोजित बजेटमध्ये चालु खर्चतर्फ २ अर्ब ९६ करोड ६४ लाख १८ हजार रुपैयाँ (करिब ४० प्रतिशत) र पुँजीगततर्फ ४ अर्ब ५० करोड ७७ लाख २९ हजार रुपैयाँ (करिब ६० प्रतिशत) छुट्याइएको छ।

सामाजिक सुरक्षा भत्ता, कर्मचारीको पारिश्रमिक र महँगी भत्ता जस्ता अनिवार्य दायित्व बढेकाले गत वर्षको तुलनामा चालु खर्च करिब ६ प्रतिशतले बढेको छ।

तर, संघीय र प्रदेश सरकारबाट प्राप्त हुने पुँजीगत अनुदान घटेका कारण पुँजीगत खर्चमा करिब ४ प्रतिशतले कमी आएको बजेट वक्तव्यमा उल्लेख छ।

महानगरले आगामी आर्थिक वर्षमा राजस्व संकलनको महत्त्वाकांक्षी लक्ष्य लिएको छ। आन्तरिक स्रोतबाट ३ अर्ब ७१ करोड रुपैयाँ संकलन गर्ने अनुमान गरिएको छ।

यसका लागि गत वर्ष जारी भएको ‘भवन अभिलेखीकरण/नियमित गर्ने ऐन, २०८१’ लाई मुख्य आधार बनाइएको छ। उक्त ऐन कार्यान्वयन गरी भवन अभिलेखीकरणबाट मात्रै १ अर्बभन्दा बढी राजस्व थप हुने अपेक्षा महानगरको छ।

बाँकी स्रोत संघीय सरकारबाट १ अर्ब ४१ करोड, बागमती प्रदेशबाट १८ करोड अनुदान, जनसहभागिताबाट ८ करोड ५० लाख र नपुग हुने करिब १ अर्ब १२ करोड नगद मौज्दातबाट व्यहोरिनेछ।

बजेटले संस्थागत सुशासन, दिगो पूर्वाधार, कला-संस्कृति, स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण र पर्यटन प्रवर्द्धनलाई मुख्य प्राथमिकतामा राखेको छ।

उपप्रमुख शाक्यले बजेटले नगरवासीको जनजीविका सहज बनाउँदै आत्मनिर्भर र स्वाभिमानी जीवनयापनमा मद्दत गर्ने विश्वास व्यक्त गरिन्।

प्रकाशित: १० असार २०८२ २०:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App