धनुषाको धनौजी गाउँपालिकाले उपप्रमुखको एकल विरोधका बीच आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट पारित गरेको छ।
उपप्रमुख रामवती मण्डलले ‘फर्जी गाउँसभा’ को रकम फिर्ता गर्नुपर्ने माग राख्दै असहमति जनाए पनि गाउँसभाले ३५ करोड ६६ लाख रुपैयाँको बजेट बहुमतले पारित गरेको हो।
गाउँपालिका अध्यक्ष राजकुमार साहले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेटमा उपप्रमुख मण्डलले सुरुदेखि नै असहमति जनाउँदै विरोध गरेकी थिइन्।
उनको मुख्य माग चालु आर्थिक वर्षको गाउँसभासँग सम्बन्धित छ। चालु आर्थिक वर्षको गाउँसभालाई सर्वोच्च अदालतले खारेज गरिदिएको र त्यसपछि अध्यक्ष साहले पुनः अर्को गाउँसभा गरेको भन्दै उपप्रमुख मण्डलले उक्त फर्जी सभाको रकम फिर्ता नभएसम्म नयाँ बजेटमा सहमति जनाउन नसकिने अडान राखेकी हुन्।
उपप्रमुखको विरोधका बाबजुद गाउँसभाले आगामी आर्थिक वर्षका लागि विभिन्न कार्यक्रमहरू तय गरेको छ। बजेटमा ‘एक वडा एक सहकारी’, पालिकास्तरीय रङ्गशाला, कभर्ड हल निर्माणका लागि अध्ययन गर्ने, तथा पालिकालाई जनकपुरधामसँग जोड्न दुई लेनको पक्की सडक बनाउने जस्ता महत्त्वाकाङ्क्षी योजनाहरू समेटिएका छन्।
त्यस्तै, कृषिमा सिँचाइ र विद्युतीकरण, १५ शय्याको अस्पताल निर्माण, ग्रामीण अल्ट्रासाउन्डको व्यवस्था र गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा जस्ता कार्यक्रमहरू पनि बजेटमा समावेश छन्।
प्रकाशित: ९ असार २०८२ २०:५५ सोमबार