११ चैत्र २०८२ बुधबार
image/svg+xml
अर्थ

कर छलेको भन्दै प्याराग्लाइडिङ कम्पनिलाई कारवाही तयारी

<br>

कर छलेको आरोपमा आन्तरिक राजस्व कार्यालय पोखराले पोखरामा संचालनमा रहेका प्याराग्लाइडिङ कम्पनिका कागजात कब्जामा लिएर अनुसन्धान गरेको छ। अनुसन्धानको क्रममा कर छली गरेको पुष्टि भएपछि ती कम्पनीलाई कारवाहीको तयारी भएको छ।  

आन्तरिक राजस्व कार्यालय पोखराकी सूचना अधिकारी रेनु तिम्सिना भट्टराईले प्याराग्लाइडिङ कम्पनिले कर छली गरेको भन्दै उजुरी परेपछि कम्पनिका कागजात कब्जामा लिएर अनुसन्धान गरेको बताईन। उनका अनुसार पोखरामा संचालित सबै प्याराग्लाइडिङ कम्पनिका चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्मका सबै काजजात लिएर अनुसन्धान गरिएको थियो।  

‘प्याराग्लाइडिङ कम्पनिले कर छली गरेको भन्ने उजुरी परेको थियो। त्यसपछि आन्तरिक राजस्व कागजात कब्जामा लिएर कार्यालयले अनुसन्धान सुरु गरेको थियो,’ उनले भनिन, ‘प्याराग्लाइडिङ कम्पनिको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना) मार्फत सबै कम्पनिका कागजात लिएर अनुसन्धान गरिएको हो।’ ना मार्फत कागजात लिएपनि अतिरिक्त कागजात सम्बन्धित कम्पनिबाट लिएका हौ।’

उनका अनुसार कतिपय कम्पनिले कारोवारको रेकर्ड नराखेको, कर नबुझाएको, ना ले तोकिदिएको कोटा संख्या अनुसार उडान गरेको तर, कर छली गरेको पाइएको छ। उनीहरुलाई मूल्य अभिवृद्धि कर ऐन अनुसार कारवाहीको तयारी भएको पनि बताईन।  

‘प्याराग्लाइडिङ कम्पनिहरुले कर छलेको देखिएको छ। धेरैजसो कम्पनिले कर छलि गरेको पाइएकोले उनीहरुलाई कारवाहीको प्रक्रिया अघि बढाएका छौं,’ उनले भनिन, ‘हामीले प्राप्त गरेको तथ्यांकसँग उनीहरुको कारोवार मिलेको छैन।’ हाल संचालनमा रहेका कम्पनि सहित संचालनमा नरहेका कम्पनिका बारेमा पनि अनुसन्धान गरिएको उनले बताईन।  

‘कर छली गरेका कम्पनिलाई कति रकम जरिवाना तिराउने भन्ने बारे अहिले नै सार्वजनिक गर्न मिल्दैन। तर, कारवाही गर्ने निर्णय प्रक्रियामा छ। एकैपटक निर्णय गरेर कर छली गरेका कम्पनिलाई पत्राचार गर्ने हो,’ सूचना अधिकारी भट्टराईले भनिन, ‘१५ दिनको अवधि तोकेर ती कम्पनिलाई पत्राचार गरिन्छ। कम्पनिले त्यो अवधिमा कर छली नगरेको भन्ने प्रमाण पेश गरेको खण्डमा फरक होला। नत्र कर छलेको आधारमा उनीहरुमाथि कारवाही हुनेछ।’  

प्याराग्लाइडिङ कम्पनिहरुको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष अनिल केसीका अनुसार आन्तरिक राजस्व कार्यालयले पोखरामा संचालित ५१ वटा कम्पनिको फाइल लिएर अनुन्धान गरेको हो। ‘आर्थिक वर्षको सुरुवाती समयमा केही समस्या थियो। प्याराग्लाइडिङ कम्पनिको मुल्यकै बारेमा पनि विवाद थियो। त्यो बेला सही व्यवस्थापन हुन सकेको थिएन,’ उनले भने, ‘भदौ पछि बल्ल नयाँ कार्यसमिति आयो र बल्ल व्यवस्थापन सुरु भएको हो । अहिले त्यो समस्या छैन। तर बीचमा केही समस्या भएकै हो।’

अध्यक्ष केसीका अनुसार अहिले पोखराको आकाशमा प्याराग्लाइडिङ उडान गर्दा एकजना व्यक्तिले बढीमा ८५ सय र कम्तिमा ७५ सय रुपैयाँ तिरे पुग्छ । दुईथरी मुल्य हुँदा पनि करको रकममा फरक पर्न जाँदा पनि अन्योल भएको उनले बताए। तर, आन्तरिक राजस्व कार्यालयले कब्जामा लिएको तीनमहिनाको कागजातमा कतिपय बिलमा लिएको मुल्य अनुसार करमा अन्तर पर्न जाँदा अहिले कारवाहीको भागिदार बन्नुपर्ने अवस्था आएको उनले बताए।  

‘करिब एकदर्जन कम्पनिको आर्थिक कारोबारमा अन्तर देखिएको छ। राज्यलाई तिनुपर्ने दायित्वबाट ती कम्पनि चुकेको देखिएको छ। त्यसमा सम्बन्धित कम्पनि नै जवाफदेही हुनुपर्नेछ,’ उनले भने, ‘सबै कम्पनिले व्यवस्थित रुपमा कारोबार गरेको भए यो समस्या आउने थिएन।’ पछिल्लो समय अधिकतम र न्यूनतम मुल्यमा १ हजार रुपैयाँ फरक पर्दा पनि कर विवरणमा फरक पर्न गएको बारे संस्थाले आन्तरिक राजस्व कार्यालयलाई जानकारी गराएको उनले बताए।  

‘कतिपयले ७५ सय रुपैयाँ लिएर त्यही अनुसार कर तिरेका छन्। केहीले ८५ सय रुपैयाँ लिएर त्यसै अनुसारको हिसाब बुझाएका छन। यो बारेमा हामीले जानकारी गराएका छौ। अधिकतम र न्यूनतम मुल्यमा केही अन्तर हुँदा पनि अन्योल परेकै हो,’ अध्यक्ष केसीले भने, ‘कतिपय कम्पनिले गरेको आर्थिक कारोबार पारदर्शी देखिएको छैन। त्यसमा केही समस्या छ।’

पछिल्लो समय आर्थिक कारोबार चुस्त दुरुस्त गर्नका लागि सबै कम्पनिलाई कडाई गरेको र कर तिरेको रसिद अनुसार बोर्डिङ पास दिएर मात्र उडान गरिरहेकोले समस्या नरहेको उनले बताए। अध्यक्ष केसीका अनुसार नयाँ कार्यसमिति आउनुअघि मूल्यको विवादले मनलाग्दी रकम लिने गर्दा प्याराग्लाइडिङ उडानमा पर्यटक ठगिएको भन्ने गुनासो आएको र त्यसलाई समाधान गर्ने क्रममा केही अन्तर पर्न गएको थियो। ‘अनुगमन कमजोर भएको मौका पारेर केही व्यावसायीले सरकारलाई तिर्नुपर्ने दायित्वबाट बाहिर रहँदा समस्या भएकै हो,’ उनले भने। उनका अनुसार अहिले पोखरामा ५३ वटा प्याराग्लाइडिङ कम्पनि संचालनमा छन्।  

प्रकाशित: ८ असार २०८२ १७:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App