१८ माघ २०८२ आइतबार
image/svg+xml
अर्थ

कोहलपुर नगरपालिकाद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

कोहलपुर नगरपालिकाले शनिबार आगामी वर्षका लागि आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। आर्थिक वर्ष २०८२/०८३ का लागि १७औं नगर सभामा नगर प्रमुख पूर्णप्रसाद आचार्यले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।  

प्रस्तुत नीति तथा कार्यक्रममा महत्वपूर्ण नीतिहरू समावेश गरिएको नगरपालिकाले जनाएको छ। प्रस्तुत नीति तथा कार्यक्रममा ३० वर्षमाथिका सबै महिलाको पाठेघरको क्यान्सर परीक्षण गर्ने उल्लेख छ। पछिल्लो समयमा महिलामा पाठेघरको मुखमा हुने क्यान्सरले बिकराल रूप लिँदै गएको छ।  

संघ र प्रदेश सरकारले पनि पाठेघरको मुखको क्यान्सरविरुद्ध विभिन्न अभियान सञ्चालन गर्दै आएका छन्। महिलाहरूमा बढ्दो पाठेघरको क्यान्सर रोकथामका लागि समुदाय स्तरमा सचेतनामूलक कार्यक्रमसँगै परीक्षणका कार्यक्रमहरू पनि प्रभावकारी ढंगले सञ्चालन गर्ने नीति लिएको नगर प्रमुखआचार्यले बताए।  

नगरपालिकाले नसर्ने रोगको बढ्दो प्रभाव र पहिचान तथा रोकथामका लागि पनि समुदायस्तरमा शिविर सञ्चालन गर्ने नीति लिएको छ। उक्त शिविरलाई थप प्रभावकारी गराउन कोष स्थापना गरिने भएको छ। नगरपालिकाले नगरको समग्र विकासका लागि अन्य महत्वपूर्ण नीतिहरू पनि अवलम्बन गरिएको जनाएको छ। शनिबारबाट सुरु भएको नगर सभा केही दिनसम्म चल्ने छ।  

सभामा नगर उपप्रमुख संगिता सुवेदीले आगामी वर्षका लागि बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले जानकारी दिए। स्थानीय सरकार कार्यसञ्चालन ऐन, २०७४ का अनुसार सबै स्थानीय तहले हरेक वर्ष असार १० गतेभित्र नीति तथा कार्यक्रम प्रस्तुत गरिसक्नुपर्छ।

प्रकाशित: ७ असार २०८२ १७:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App