भक्तपुरको राधेराधेमा शुक्रबारदेखि ‘फिस टनेल एक्स्पो’ सुरु भएको छ।
उपत्यकाका बासिन्दालाई समुद्री जीव र सामुद्रिक अनुभव नजिकबाट नियाल्ने अवसर प्रदान एक्स्पो ३५ दिनसम्म चल्नेछ।
एक्स्पोमा नेपालमै पहिलोपटक भित्र्याइएको भनिएको ‘सुनामी राइड’ र १६० प्रजातिका माछासहितको टनेल नै मुख्य आकर्षणका रूपमा रहेको छ।
मध्यपुर थिमि नगरपालिका-५, राधेराधेस्थित रोयल थाई हस्पिटालिटीसँगैको खुला स्थानमा सुरु भएको एक्स्पोको उद्घाटन संघीय सांसद दुर्लभ थापाले गरे।
आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतका अनुसार, एक्स्पोको मुख्य आकर्षणको रूपमा रहेको फिस टनेलमा समुद्रमा पाइने १६० भन्दा बढी प्रजातिका माछालाई एउटै छानामुनि हेर्न सकिने व्यवस्था मिलाइएको छ।
एक्स्पोमा राखिएको ‘सुनामी राइड’ ले समुद्री सुनामीकै जस्तो अनुभूति दिने दाबी गरिएको छ। जुन नेपालमा पहिलोपटक परीक्षण गरिएको आयोजकले जनाएको छ।
यी मुख्य आकर्षणका अलावा आगन्तुकहरूले रोटे पिङ, कोलम्बस, ड्रागन लगायतका अन्य मनोरञ्जनात्मक खेलहरूको पनि मज्जा लिन सक्नेछन्।
एक्स्पो आगामी ३५ दिनसम्म हरेक दिन बिहान १० बजेदेखि साँझ ८ बजेसम्म खुला रहने आयोजकले जानकारी दिएको छ।
प्रकाशित: ६ असार २०८२ २१:४२ शुक्रबार