२६ असार २०८२ बिहीबार
image/svg+xml
अर्थ

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

दैलेखमा मिथेन ग्यास भेटिएको समाचारले भारतीय मिडियामा पनि चर्चा पाएको छ। दैलेखमा पेट्रोलियम पदार्थको सम्भावनाका आधारमा गरिएको प्रारम्भिक अध्ययनमा मिथेन ग्यास फेला परेको जानकारी सार्वजनिक भएसँगै यो विषयले ध्यान खिचेको हो।

भारतीय समाचार संस्था ‘पिटिआई’ ले ‘पश्चिम नेपालमा ठूलो मात्रामा मिथेन ग्यासको भण्डार फेला पर्‍यो’ शीर्षकमा समाचार प्रकाशित गरेपछि विभिन्न भारतीय मिडियाले यसलाई आधार बनाएर फरक-फरक समाचार बनाएका छन्।

त्यसमध्ये इन्डिया टिभीले ‘नेपाल मालामाल बन्दै’ शीर्षकमा रोचक समाचार प्रकाशित गरेको छ। ‘नेपाल धनी बन्ने छ!’ भन्ने शीर्षकमा उसले लेखेको छ, ‘यस्तो खोज भएको छ, जसले ५० वर्षसम्म ग्यासको कमी हुनेछैन।’ समाचारलाई थप रोचक बनाउन नेपालले ‘ठूलो खजाना’ पाएको उल्लेख गरिएको छ। ‘नेपालले ठूलो खजाना फेला पारेको छ,’ उसले लेखेको छ, ‘यो सुन-चाँदीको होइन, बरु ग्यास भण्डारको रूपमा।’

त्यस्तै, नवभारत टाइम्सले ‘चीनले नेपालमा गाडिएको अर्बौं डलरको खजाना फेला पार्‍यो, ५० वर्षसम्मको आवश्यकता पूरा हुनेछ’ शीर्षकमा समाचार प्रकाशित गरेको छ। अन्य भारतीय मिडियाले पनि खजाना भेटिएको भन्दै समाचार छापेका छन्।

खासमा के भेटिएको हो?
चिनियाँ विज्ञहरूको टोलीले गरेको अन्वेषणमा दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्यास रहेको प्रारम्भिक प्रतिवेदन खानी तथा भूगर्भ विभागले प्राप्त गरेको छ। दैलेखका अन्य तीन स्थानमा पनि मिथेन ग्यास रहेको बताइएको छ। चिनियाँ टोलीको प्रतिवेदनअनुसार नेपाललाई ५० वर्षसम्म पुग्ने प्राकृतिक ग्यासको अनुमान छ।

तर, भारतीय मिडियामा उल्लेख भएजस्तो नेपाल तत्काल मालामाल हुने अवस्था नरहेको विज्ञहरू बताउँछन्। व्यावसायिक उत्पादन सम्भव छ वा छैन भन्ने कुरा अन्तिम प्रतिवेदनले निर्धारण गर्नेछ, खानी तथा भूगर्भ विभागका सूचना अधिकारी डा. मुकुन्द भट्टराईले बताए। भट्टराईका अनुसार यो ग्यास रासायनिक पदार्थ उत्पादनमा कच्चा पदार्थका रूपमा प्रयोग गर्न सकिन्छ। यो इन्धन र विभिन्न औद्योगिक प्रक्रियामा उपयोगी हुन्छ।

चीनको जिओलोजिकल सर्भे कम्पनीले सन् २०२५ को डिसेम्बरसम्म अन्तिम प्रतिवेदन दिनेछ। चीनको चाइना जिओलोजिकल सर्भेले भौगर्भिक अध्ययन गरेको हो भने सिएनपिसी सिबु इन्जिनियरिङ कम्पनीले जमिनमा ड्रिलिङ गरेर अध्ययन गरेको हो। विज्ञहरूले नमुना सङ्कलन गरी चीनको प्रयोगशालामा परीक्षण गरेका छन्।

प्रकाशित: ६ असार २०८२ ०८:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App