१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अर्थ

गुल्मीमा कफी बिरुवाको माग उच्च

वर्षातको समय सुरु भएसँगै गुल्मीमा कफी बिरुवाको माग निकै बढेको छ। मुसिकोट नगरपालिका–५ स्थित कफी विकास केन्द्र आँपचौरको नर्सरीमा उत्पादित बिरुवा किसानलाई पुर्‍याउन कठिन भएको छ।

कफी विकास कार्यालयले किसानको मागअनुसार कम बिरुवा उत्पादन भएकाले उपलब्ध गराउन समस्या भएको कफी विकास केन्द्र आँपचौरका प्रमुख जीवन आचार्यले बताए। ‘मुसिकोट नगरपालिका–५ स्थित कफी विकास केन्द्र आँपचौरको नर्सरीबाट यसपटक दुई लाख बिरुवाको माग आएको छ,’ आचार्यले भने, ‘तर केन्द्रमा ७० हजार बिरुवा मात्र उत्पादन भएको छ।’

कफी विकास केन्द्रले बिरुवा उत्पादन र बिक्री–वितरण गर्दै आएको छ। यहाँको नर्सरीमा उत्पादित बिरुवा गुणस्तरीय मानिन्छ। यसपटक गुल्मीसहित अर्घाखाँची, कास्की, स्याङ्जा, लमजुङ, धादिङलगायत ४० भन्दा बढी जिल्लाबाट बिरुवाको माग भएको कार्यालयले जनाएको छ।

तर, स्रोत र जनशक्तिको अभावले मागअनुसार बिरुवा उत्पादन गर्न केन्द्रले सकेको छैन। मुसिकोट नगरपालिका–५ को आँपचौरमा रहेको कफी विकास केन्द्र नेपाल सरकारको संघीय बागवानी तथा राष्ट्रिय बीउ–बेर्नाको स्रोतकेन्द्र पनि हो। तत्कालीन राजा वीरेन्द्रले वि.सं. २०४१ मा आँपचौरमा कफी विकास केन्द्र स्थापना गरेपछि गुल्मीमा व्यावसायिक कफीखेती सुरु भएको थियो।

केन्द्रमा प्रतिबिरुवा ४० रुपैयाँमा बिक्री हुँदै आएको छ। कफी विकास केन्द्रले बगैंचा व्यवस्थापन, बीउ उमार्ने, टिप्ने र प्रशोधन गर्ने काम गर्दै आएको छ। कफी उत्पादनको समयमा ४०–५० जनाले अस्थायी रोजगारी पाउँछन्। केन्द्रमा कफी पल्पिङ मेसिन, कफी हलर मेसिन, कफी ड्रायर, रोस्टर मेसिन र कफी स्प्रे–सो मेसिन उपलब्ध छन्।

कफी बगैंचा स्थापनाका लागि केन्द्रले आँपचौरमा १८४ रोपनी जग्गा खरिद गरेको छ। उक्त बगैंचामा १२ हजार कफी बिरुवा रोपिसकिएको आचार्यले बताए। ‘कफीको जननी जिल्ला गुल्मीको आँपचौरमा कफी बगैंचा विस्तार गर्न छवटा नर्सरीमा ६० हजार बिरुवा रोपिएको छ,’ उनले भने।

पछिल्लो समय किसानलाई सेतो गबारो मुख्य समस्याका रूपमा देखिएको छ। सेतो गबारोले जिल्लामा १५ प्रतिशत कफी बोट नष्ट हुने अवस्थामा छन्। ढुसी, डढुवालगायत समस्याले पनि कफी बोटमा क्षति पुग्ने गरेको किसानको गुनासो छ। गुल्मीमा हाल करिब ३०० हेक्टर क्षेत्रमा कफीखेती भइरहेको छ।

गुल्मीमा कृषिृष्टि ज्ञान केन्द्र, प्रधानमन्त्री तथा कृषि आधुनिकीकरण परियोजना, कफी विकास केन्द्र आँपचौर, कफी अनुसन्धान केन्द्र भण्डारीडाँडालगायत स्थानीय तहले कफी क्षेत्रमा काम गर्दै आएका छन्। रासस

प्रकाशित: ३१ जेष्ठ २०८२ ११:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App