राप्ती नगरपालिका वडा नम्बर ६ स्थित पडरियाका लोकराज सिलवालले यस वर्ष २८ कठ्ठा क्षेत्रफलमा चैते धान लगाएका थिए। धान बेचेर घरखर्च चलाउने सोचेका सिलवाल यतिखेर लागत मूल्य नउठेर चिन्तित छन्।
‘हामी किसानको आम्दानीको स्रोत नै यही हो। अहिले धानको लागत मूल्य पनि नपाएर घरखर्च कसरी चलाउने भन्ने चिन्ता थपिएको छ,’ सिलवालले भने, ‘गोलावाला (धान खरिद गर्ने व्यक्ति) ले सरकारले तोकेको समर्थन मूल्य पनि दिँदैन।’
यसपटक उनको खेतमा प्रतिकठ्ठा दुई क्विन्टल धान फलेको थियो। सिलवालले गोलावालालाई प्रति क्विन्टल एक हजार सात सय रुपैयाँमा खेतबाट नै बेचेका थिए। भण्डारण गर्ने ठाउँ नहुँदा व्यापारीको मूल्यमा दिन बाध्य भएको उनले सुनाए।
‘२८ कठ्ठामा धान लगाउँदा जोत्न बीस हजार, रोप्न पन्ध्र हजार, मलमा तेह्र हजार, विषादीमा पाँच हजार, धान काट्न पन्ध्र हजार, बीउ खरिद गर्न पाँच हजार, ब्याड राख्न अर्को पाँच हजार लाग्यो,’ खर्चको विवरण सुनाउँदै सिलवालले भने, ‘आफ्नो दुख बाहेक करिब एक लाख खर्च भएको छ। बेच्दा ८५ हजार रुपैयाँ पनि परेन।’
चितवनमा उत्पादित चैते धानले समर्थन मूल्य पाउन सकेको छैन। यहाँका किसानहरूले उत्पादन गरेको चैते धानले समर्थन मूल्य नपाएपछि उनी जस्तै अन्य किसान पनि चिन्तित भएका छन्।
सरकारले चैते धानको समर्थन मूल्य दुई हजार आठ सय ७९ रुपैयाँ तोकेको भए पनि यहाँका किसानहरूले एक हजारदेखि एक हजार आठ सयसम्ममा धान बेच्न बाध्य भएको जनजागृत हरियाली ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्था लिमिटेडका अध्यक्ष धर्मराज कँडेलले जानकारी दिए। उनका किसानहरूले धान थन्काउने समयमा समर्थन मूल्य नपाएपछि किसानहरू निराश भएको बताए।
‘हाम्रो सहकारीमा आवद्ध पाँच सयभन्दा बढी सदस्यले चैते धान लगाउनुहुन्छ। अधिकांशले चैते धान काटिसक्नु भएको छ,’ उनले भने, ‘अहिले सरकारको समर्थन मूल्य पनि नपाएर सस्तोमा धान दिन किसान बाध्य छन्।’ उनका अनुसार किसानको उत्पादन लागत प्रतिक्विन्टल तीन हजार रुपैयाँ पर्दछ। धानको ढुटोलाई किसानले प्रतिकिलो ४५ रुपैयाँमा खरिद गर्दछन् भने धानलाई १८ रुपैयाँ पनि पर्न कठिन भइरहेको कँडेलले बताए।
‘किसान सधैं समस्यामा छन्। सरकारले आफूले तोकेको मूल्य समेत लागू गर्न सक्दैन,’ उनले निराश हुँदै भने, ‘अहिले नेपालमा व्यापारीको मनलाग्दी छ।’ कृषि मन्त्री रामनाथ अधिकारी जेठ १२ गते यही सहकारीको वार्षिकोत्सवमा आएका थिए। सो समयमा पनि समर्थन मूल्य नपाएपछि किसानहरूले मन्त्रीलाई आफूहरूको समस्या सुनाएका थिए तर, समस्या समाधान हुन नसकेको उनले बताए।
गत वर्ष किसानले प्रतिक्विन्टल तीन हजार रुपैयाँभन्दा बढीमा बिक्री गरेका थिए। राम्रो मूल्य पाएपछि यहाँका किसानले चैते धान क्षेत्रफल समेत बढाएका थिए। गत वर्षभन्दा दुई सय हेक्टर बढी क्षेत्रफलमा चैते धान लगाइएको छ। विशेषगरी पूर्वी चितवनको रत्ननगर, खैरहनी, माडी नगरपालिका सहित भरतपुर महानगरको केही भूभागमा चैते धान खेती गरिएको छ।
कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलका अनुसार, यसपटक चितवनमा दश हजार हेक्टर क्षेत्रफलमा चैते धान लगाइएको छ। अघिल्लो वर्ष नौ हजार पाँच सय हेक्टर क्षेत्रफलमा चैते धान लगाइएको थियो। यसपटक किसानले समर्थन मूल्य पनि नपाउँदा आगामी दिनमा क्षेत्रफल घट्न सक्ने उनको अनुमान छ। ‘किसानले अहिले समर्थन मूल्य पाएका छैनन्। किसानहरूले हामीलाई मूल्य नपाएको गुनासो गर्नुहुन्छ,’ उनले भने, ‘हाम्रो स्तरबाट तत्काल केही गर्न सक्ने अवस्था पनि छैन।’
चितवनमा गत वर्ष ५९ हजार ५१९ मेट्रिक टन धान उत्पादन भएको थियो। यसवर्ष बाली भित्र्याउने समय भएकाले तथ्याङ्क आउन बाँकी रहेको उनले बताए। गत वर्षभन्दा यस वर्ष उत्पादन घट्ने अनुमान गरिएको छ। गत वर्ष किसानले प्रतिहेक्टर ८.४१६ मेट्रिक टनसम्म धान उत्पादन गरेका थिए। चितवनमा चैते धान बालीका रूपमा चैते–५, हर्दिनाथ–१, पिआर जातका धान लगाउने गरिएको छ। जिल्लामा २२ हजार आठ सय ७० हेक्टरमा धान खेती हुन्छ। त्यसमध्ये दश हजारको हाराहारीमा चैते धान लगाइएको छ।
प्रकाशित: २६ जेष्ठ २०८२ १३:५१ सोमबार





