नेपालगन्ज विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण कार्य निर्धारित समयअघि नै सम्पन्न गर्न निर्माण पक्षले तयारी गरेको छ। सरकारले भने निर्माण कम्पनीले गरेको प्रगतिअनुसार भुक्तानी नदिएको गुनासो गरिरहेको छ।
विमानस्थलको टर्मिनल भवनको ब्लक ए, बी र सीसहित एप्रोन, सवारी साधन पार्किङ, गेष्ट हाउस, नाला, पैदलमार्ग, शौचालयल गायतका संरचना निर्माण गर्न शर्मा एन्ड कम्पनी प्रालिले सन् २०२२ डिसेम्बर १६ मा सम्झौता गरी काम सुरु गरेको थियो।
नेपालगन्ज विमानस्थल आयोजना कार्यालयका अनुसार उक्त कम्पनीले सन् २०२५ डिसेम्बर १५ मा सबै काम सम्पन्न गर्ने गरी मूल्यअभिवृद्धि कर (भ्याट) बाहेक दुई अर्ब ७२ करोड रूपैयाँमा सम्झौता गरेको थियो। आयोजनाका इन्जिनियर स्मिता पुञ्जलीले निर्धारित समयअघि नै सम्पन्न गर्ने गरी ठेकेदार कम्पनीले कामलाई तीव्रता दिएको बताइन्।
‘ठेकेदार कम्पनीले पाएको म्याद मंसिरमा सकिन्छ तर त्यो भन्दाअघि नै हुने जस्तो देखिन्छ,’ उनले नागरिकसँग भनिन् ‘अहिलेसम्मको काम सन्तोषजनक नै छ।’ इन्जिनियर पुञ्जलीका अनुसार अहिलेसम्म ७० प्रतिशतजति भौतिक प्रगति देखिएको छ तर बजेट अभावका कारण भौतिक प्रगतिभन्दा कम अर्थात् एक अर्ब ५० करोड रूपैयाँ बराबरको रकम मात्र कम्पनीले भुक्तानी लिएको बताइएको छ।
‘चालु आर्थिक वर्ष २०८१/८२ मा विनियोजित बजेट सबै सकियो, यसले गर्दा कम्पनीलाई भुक्तानी दिन सकिएको छैन,’ उनले भनिन् ‘अब अर्को आर्थिक वर्षको बजेटबाट कम्पनीलाई बाँकी रकम भुक्तानी गर्ने योजना छ।’ निर्माणको काम अन्तिम चरणमा आइपुग्दा विमानस्थल परिसरको स्वरूप नै परिवर्तन भएको छ।
तोकिएको समयभन्दा अगाडि काम हुनुका पछाडि कम्पनीको नीति नै मुख्य रहेको शर्मा एन्ड कम्पनी प्रालिका राकेशकुमार शाह बताउँछन्। ‘जिम्मा लिएपछि समयतालिका अनुसार काम गर्ने नीति कम्पनीको छ,’ उनले भने ‘हाम्रो कम्पनीले जिम्मा लिएको प्रायः सबै ठाउँको काम म्यादभन्दा अगाडि नै सम्पन्न भएका छन्।’
उनका अनुसार कम्पनीले नेपालगन्ज–गुलरिया हुलाकी सडकको काम पनि तोकिएको म्यादभन्दा १० महिना अगाडि नै सम्पन्न गरेको थियो। नेपालगन्ज विमानस्थलको टर्मिनल भवनसहितका संरचना आगामी साउन महिनामा नेपाल नागरिक उडड्यन प्राधिकरणलाई हस्तान्तरण गर्ने योजना रहेको इन्जिनियर शाहले बताए।
शाहका अनुसार विमानस्थल परिसरमा अन्डर ग्राउन्डसहित तीन तल्लाको ५५ हजार स्क्वायर फिटमा टर्मिनल भवन निर्माण गरिएको छ। टर्मिनल भवनलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बनाइएको छ। ‘भविष्यमा रनवे बिस्तार भए अन्तर्राष्ट्रिय उडान गर्न मिल्ने गरी अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको टर्मिनल भवन बनाएका छौं’, शाहले थपे।
उक्त टर्मिनल भवनमा एकै पटक पाँच सय यात्रु अट्न सक्छन्। कामको प्रगतिअनुसार सरकारबाट भुक्तानी नपाएको निर्माण कम्पनीको गुनासो छ।
विमानस्थलमा नयाँ टर्मिनल भवनसँगै विभिन्न पूर्वाधार निर्माण भएपछि यसले नेपालगन्जको विकासमा थप टेवा पुर्याएको यहाँका नागरिक अगुवाहरू बताउँछन्। नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले टर्मिनल भवन निर्माणले नेपालगन्ज–दिल्लीसहित अन्र्तराष्ट्रिय उडानका लागि बाटो खुल्ने बताए।
‘नेपालगन्ज विमानस्थलमा जसरी भौतिक संरचना निर्माण भइरहेका छन्, यसले नेपालगन्जको विकासमा टेवा पुर्याएको छ, यसका साथै नेपालगन्जलाई भविष्यमा अन्तर्राष्ट्रिय हवाइमार्गसँग जोड्ने काम गर्नेछ,’ उनले भने।
प्रकाशित: २५ जेष्ठ २०८२ ११:१८ आइतबार





