१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अर्थ

७७ वर्षीय बालकृष्णको जोश : ड्रागन फ्रुट खेतीबाट वार्षिक १० लाख आम्दानी

गुल्मीको मुसिकोट नगरपालिका–१, भर्माचौरका ७७ वर्षीय बालकृष्ण अर्यालले ड्रागन फ्रुट खेतीबाट वार्षिक रु १० लाख आम्दानी गर्न थालेका छन्। बागलुङको बडिगाड गाउँपालिका–५ मा जन्मिएका अर्यालले पछिल्ला तीन वर्षदेखि व्यावसायिक रूपमा ड्रागन फ्रुट खेती गर्दै आएका छन्।

चार रोपनी जमिनमा ३०० पोल गाडेर खेती गरिरहेका अर्यालको बगैँचामा करिब १ हजार २०० वटा ड्रागन फ्रुटका बोट छन्। ती बोटहरूबाट गत वर्ष २० क्विन्टल उत्पादन भएको थियो भने यस वर्ष ३० क्विन्टल उत्पादन हुने अपेक्षा गरिएको छ।

ड्रागन फ्रुटको विस्तार गर्न अर्यालले बिरुवा उत्पादन पनि सुरु गरेका छन्। हाल उनका बगैँचामा १५ जातका १८ हजारभन्दा बढी बिरुवा छन्, जुन रु ५० देखि २५० सम्मको मूल्यमा बिक्री हुने उनले जानकारी दिए।

फलोंको राम्रो बजार भए पनि बिरुवाको बिक्री भने अपेक्षितरूपमा हुन नसकेको अर्यालको भनाइ छ। उनका अनुसार ड्रागन फ्रुट प्रतिकिलो रु ५०० मा बिक्री हुन्छ र गत वर्ष मात्रै उनले फल बेचेर रु १० लाख आम्दानी गरेका थिए।

भूतपूर्व शिक्षक रहेका अर्यालले बडिगाड–५ ग्वालीचौरको भानु माध्यमिक विद्यालयमा ३३ वर्ष प्रधानाध्यापकको रूपमा सेवा दिएका थिए। १५ वर्षअघि शिक्षणबाट अवकाश लिएपछि उनी अहिले पूर्ण रूपमा कृषिमा सक्रिय छन्।

उनका छोराहरू अमेरिका र अस्ट्रेलियामा छन्। उमेरको यो चरणमा सहर वा विदेश बस्ने चाहना राख्नुको सट्टा अर्याल गाउँमै रहेर कृषि कर्ममा रमाइरहेका छन्। गाउँका धेरैलाई उनका क्रियाशीलताले प्रेरणा दिएको छ।

‘सुरुमा मैले यो पेशा अँगाल्दा गाउँलेलाई पत्यारै लागेन’, अर्यालले भने, ‘धेरैले यी पोल गाडेर बुढेसकालमा के उपद्रो गर्न लाग्यो होला भनेर नाक खुम्च्याउँथे, कतिले नहुने काम गर्यो भनेर भने। तर गरे त हुँदोरहेछ नि।’

हाल ती नै आलोचना गर्नेहरू अर्यालको बगैँचामा उत्पादन भएको ड्रागन फ्रुट देखेर अचम्मित भएका छन्।

मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीका अनुसार, नगरपालिकाले व्यावसायिक कृषकलाई अनुदान उपलब्ध गराउने नीति लिएको छ। तर, अर्यालले अहिलेसम्म कुनै स्थानीय तहबाट अनुदान नपाएको बताएका छन्।

‘यसमा २० लाख मेरो लगानी भइसकेको छ’, अर्यालले भने, ‘यसले २०–२५ वर्ष आम्दानी दिन्छ।’

उनी बाँझिएको खेतबारीमा आफ्नै एकल प्रयास र परिश्रमले हरियाली फर्काइरहेका छन्।

जहाँ धेरैले गाउँ छाडेर सहर पसेका छन्, त्यहाँ अर्याल दम्पती भने खुसीसाथ गाउँमै कृषि कर्ममा रमाइरहेका छन्। रासस

प्रकाशित: २४ जेष्ठ २०८२ ०८:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App