आठराई त्रिवेणी गाउँपालिकाले व्यावसायिक कृषिमा लाग्ने किसानको उत्पादन खरिद र बजारीकरणमा सहयोग गर्ने घोषणा गरेको छ। गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा मंगलबार वडा नं. २ फुलबारी र सोमबार वडा नं. १ निघुरादिनका सेवाग्राहीसँग पालिका अध्यक्ष दीपेन्द्र पोमूले यस्तो बताए।
उनले किसानको कृषि उपज खरिद र बजारीकरणका लागि कृषि एम्बुलेन्स सञ्चालन गर्न सकिने जनाए। पालिकाले कृषि उत्पादन बढाउन र किसानलाई व्यावसायिक प्रणालीतर्फ अग्रसर गराउन साझेदारीमा अनुदान कार्यक्रम अघि सारे पनि किसानको सहभागिता कम भएकोमा उनले दुख व्यक्त गरे।
‘हरेक वर्ष हामीले साझेदारीमा कृषि कार्यक्रमका लागि प्रस्ताव आह्वान गर्छौं, तर किसान परिवार अनुदान प्रक्रियामा उत्साहित भएर सहभागी भएका छैनन्,’ पालिका अध्यक्ष पोमूले भने। उनले कृषि फार्म, समूह, सहकारी र किसान परिवारले प्रक्रियाअनुसार पालिकामा दर्ता भएर अनुदानका लागि आवेदन दिए साझेदारीमा सहयोग प्राप्त हुनेमा ढुक्क हुन आग्रह गरे। ‘आवेदनअनुसार प्रक्रिया पुगेका किसानले साझेदारीमा अनुदान पाउँछन्,’ उनले थपे।
चालु वर्षमा अनुदानका लागि पर्याप्त आवेदन नपर्दा कृषि अनुदान रकमान्तर गर्नुपरेको उनको भनाइ छ। कृषिमा सम्भावना बोकेको आठराई त्रिवेणीमा किसानलाई व्यावसायिक प्रणालीमा जोड्न राम्रो बजेट व्यवस्थापन गरे पनि साझेदारी अनुदानमा सहभागिता कम हुनु समस्या भएको उनले बताए।
फुलबारीका होमनाथ घिमिरे, कुमार उप्रेती र सोमबार निघुरादिनका सेन्छेहाङ पोमूसहितका सरोकारवालाले कृषिको व्यावसायीकरणको विषय उठाएका थिए। जवाफमा अध्यक्ष पोमूले उत्पादन र उत्पादकत्व बढाउने कार्यक्रम तय भए पनि किसानको उत्साह कमी भएको बताए। उनले प्रविधि, उन्नत बीउ, बजारीकरण र भण्डारणका लागि कोल्ड स्टोर निर्माणमा पालिका उदार रहेको जनाए।
‘तपाईं उत्पादन गर्नुहोस्, उत्पादन र उत्पादकत्व बढाउन प्रविधिदेखि बीउसम्म दिन्छौँ,’ किसानलाई आश्वस्त पार्दै पोमूले भने, ‘उत्पादनको बजार खोज्छौँ, कृषि उपज खरिदका लागि कृषि एम्बुलेन्स र शीत भण्डारको व्यवस्थापन गर्छौँ।’ तर, किसान व्यावसायिक उत्पादनमा नलागे सबै योजना अलपत्र पर्ने भन्दै उनले किसानलाई प्रोत्साहित हुन आग्रह गरे।
सोमवार र मंगलबार भएको सुनुवाइमा पालिका अध्यक्ष पोमू, प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहता, वडा नं. १ का वडाध्यक्ष रामप्रसाद पाठक, वडा नं. २ का वडाध्यक्ष टेकिन्द्र सेन्दाङ, कार्यपालिका सदस्य शान्ता गुरुङ र शारदाकुमारी बिमली, वडा सदस्यहरू देवेन्द्र सेन्दाङ, दुर्गा खतिवडा, अमृत विक, कुमार शेर्पा, शोभा घिमिरे विकसहितको उपस्थिति थियो।
प्रकाशित: २१ जेष्ठ २०८२ ०९:४६ बुधबार





-600x400.jpg)