खोटाङको सावा खोलामा निर्मित मोटरेबल पक्की पुल सञ्चालनमा आएको छ। पुल सञ्चालनमा आएपछि खोटेहाङ र जन्तेढुंगा गाउँपालिकाबासीलाई वर्षौंदेखि आउजाउ गर्न भएको कठिनाइ समाधान भएको छ।
पुल प्रादेशिक सडक पुल सहयोग एकाइ इटहरीअन्तर्गत पूर्वाधार विकास कार्यालय उदयपुरको रेखदेखमा सम्पन्न भएको हो। पूर्वाधार विकास कार्यालय उदयपुरका प्रमुख (डिई) ललितकुमार चौधरीका अनुसार सिंगल स्पानको पुल ४१.४० मिटर लामो, ८.४० मिटर चौडाइ र पैदल मार्ग
१.२० मिटर रहेको छ। पुल निर्माणमा प्रदेश सरकारले आठ करोड २१ लाख ७२ हजार आठ सय ९४ रूपैयाँ लगानी गरेको डिई चौधरीले बताए।
पुल बनाउन सुसम/आदित्य/विजय निर्माण सेवा उदयपुर जेवीले २०८० वैशाख ११ गते सम्झौता गरेको थियो। दुई वर्षभित्र बनाइसक्ने गरी लिएको आठ करोड तीन लाख
७८ हजार सात सय १५ रूपैयाँको ठेक्का सम्झौता अनुसार समयमै काम सम्पन्न गरेको डिई चौधरीले बताए। केही स्ट्रक्चर थप्नु परेकाले भुक्तानी भने ठेक्का सम्झौताभन्दा झन्डै १८ लाख बढी गर्नु परेको छ।
शनिबार प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राईले पुल उद्घाटन गरे। सो अवसरमा मन्त्री राईले विकास निर्माणका कामलाई चुनावी नारा बनाउन नहुने भन्दै विकासे अधुरा योजनाहरू जहिले पनि चुनावी मुद्दा बन्ने गरेकोमा असन्तुष्टि जनाए। त्यस्तो प्रवृत्ति अन्त्य गर्ने गरी आफू लागिरहेको बताउँदै मन्त्री राईले भने, ‘जबजब चुनाव आउँछ, विकास निर्माणका कुरा खुब उठ्छन्, चुनाव सकिएसँगै सेलाएर जान्छन्।’
मन्त्री राईले विकास निर्माणलाई भोट माग्ने माध्यम बनाउने प्रवृत्ति अन्त्य गर्ने ध्याउन्नमा आफू लागेको बताए।
सावाखोलामा पक्की पुल सञ्चालन भएपछि खोटेहाङ र जन्तेढुंगा गाउँपालिकाबासी खुसी भएका छन्। खोटेहाङ गाउँपालिका अध्यक्ष उदिमबहादुर राई (मुक्ति) ले वर्षायाममा बाढी आउँदा आउजाउ बन्द हुने सावाखोलामा पुल बनेपछि दुई गाउँपालिकासँगै सो नाका भएर आउजाउ गर्ने अन्य थुप्रै छिमेकी स्थानीयतहका नागरिकले वर्षौंदेखि पाइरहेको पीडाबाट मुक्ति मिलेको बताए।
जन्तेढुंगा गाउँपालिकाका अध्यक्ष अरूणादेवी राईले पनि पुल बनेपछि यसक्षेत्रकै बासिन्दालाई धेरै कुरामा सहज हुने बताइन्। अध्यक्ष राईका अनुसार यो पुलले सदरमुकाम आउजाउ गर्नदेखि गाउँघरमा उत्पादित कृषि उपज तथा फलफूल बजार लगेर बिक्री वितरण गर्न र गाउँमा लत्ताकपडा, मल बिउ र खाद्यान्न भित्र्याउनसम्म सहज हुने भएको छ।
प्रकाशित: १४ जेष्ठ २०८२ ०८:२९ बुधबार





