राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारी र नेपाल राष्ट्र बैङ्कका नवनियुक्त गभर्नर डा.विश्वनाथ पौडेल बिच भेटवार्ता भएको छ।
मङ्गलवार सिंहदरबारस्थित योजना आयोगमा भएको भेटमा उनले बिच वित्त नीति र मौद्रिक नीतिको अन्तरसम्बन्ध र स्वतन्त्रताको बारेमा छलफल भएको हो।
उनीहरू बिच उक्त दुई नीतिहरू सँगसँगै कार्यान्वयनमा लैजाने नीति कार्यान्वयनमा एक अर्कामा सहजीकरण गर्ने बारेमा समेत छलफल भएको छ।
अर्थतन्त्रलाई कोभिड १९ पूर्वको अवस्थामा लैजाने र योजनाले लक्षित गरे अनुरूपको उच्च दिगो र समावेशी आर्थिक वृद्धि हासिल गर्ने विषयमा छलफल भएको छ।
छलफलका क्रममा आयोगका उपाध्यक्ष अधिकारीले वित्तीय हस्तान्तरण, आयोजनाको पुनः प्रथामिकिकरण, आयोजना बैङ्कको प्रभावकारी कार्यान्वयन तथा मध्यम कालिन खर्च संरचना लगायतका विषयमा राष्ट्रिय योजना आयोगबाट भए गरेका सुधारका कार्यको बारेमा जानकारी गराए।
यसै गरी राष्ट्र बैङ्कका गभर्नर पौडेलले पूर्वाधार विकासमा निजी क्षेत्रलाई आकर्षण गर्दै लगानीको वातावरण सिर्जना गर्न राष्ट्र बैङ्कले त्यस सम्बन्धमा सहजीकरण गर्ने बताए।
प्रकाशित: १३ जेष्ठ २०८२ १५:३१ मंगलबार





