कञ्चनजंघा पर्यटकीय मार्ग वा कञ्चनजंघा लोकमार्गलाई छोएका होमस्टेहरूलाई प्राथमकिता दिने गरी ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले होमस्टे स्थापनामा अनुदान दिने भएको छ। गाउँपालिकाका अधिकृत छैटौं सञ्जिव सिंहका अनुसार होमस्टे सञ्चालकहरूको साझेदारीमा अनुदान दिन लागिएको हो।
अनुदान पालिकाको वडा नं ८ याम्फुदिन लक्षित भएको पालिकाले जनाएको छ। याम्फुदिन एक पर्यटकीय बस्ती हो। याम्फुदिन हुँदै विश्वको तेस्रो अग्लो शिखर कञ्चनजंघासम्मको यात्रा तय गर्न सकिन्छ। अनुदानका लागि जेठ १७ गतेसम्ममा आवेदन दिइसक्नुपर्ने पालिकाले जनाएको छ।
यसअघि पालिकाले होमस्टे स्थापना गर्न इच्छुकहरू तथा सञ्चालनमा रहिरहेका तर दर्ता हुन बाँकी रहेका सञ्चालकहरूलाई दर्ता प्रकृयामा आइसक्न आह्वान गरेको थियो। गाउँपालिकाले ‘सिरिजङ्गाको गौरव, कञ्चनजंघा’ कार्यक्रममार्फत होमस्टे स्थापनाका लागि लागत साझेदारीमा अनुदान दिन लागेको जनाएको छ। गाउँपालिकाले होमस्टे स्थापना तथा प्रवर्द्धनका लागि होमस्टे सञ्चालन सम्बन्धी कार्यविधि २०८० जारी गरी कार्यान्वयनमा ल्याएको छ।
कार्यविधि अनुसार होमस्टे सञ्चालन मापदण्डका कम्तिमा ७० प्रतिशत सर्तहरू पूरा भएको अवस्थामा मात्र अनुदानका लागि ग्राह्य हुने समेत पालिकाले जनाएको छ। प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेका अनुसार होमस्टेका रूपमा पालिकामा दर्ता भएका, व्यवसाय व्यवस्थापनको अवस्था, प्रस्तावित व्यवसायका लागि पर्याप्त जग्गा भएको, वातारणीय रूपले कुनै हानी नोक्सानी नहुने भनी जग्गाको चारकिल्ला मुचुल्कासहितका कागजात संलग्न भएको र होमस्टे सञ्चालनका लागि अन्य कुनै पनि निकायबाट अनुदान प्राप्त नगरेको सहितका मापदण्डका आधारमा लाभग्राही छनोट गरिने छ।
प्रकाशित: १२ जेष्ठ २०८२ १३:५८ सोमबार





