चितवनको खैरहनी नगरपालिका-१२ चिसाहानीका हरि अर्यालले १३ वर्षअघि माछापालन सुरु गरे। साथीभाइको प्रेरणाले उनले पाँच कठ्ठा जमिनमा पोखरी खनेर माछापालन थाले।
सुरुआती कठिनाइका बाबजुद, अर्यालले माछापालनलाई व्यवसायिक बनाए। २०७३ मा चार बिघा जमिन थपेर ६ प्रजातिका माछा पाल्न थाले। अहिले चार बिघा जलाशयमा माछा छन्। उनले वार्षिक १ करोड ५० लाखको माछा बिक्री गर्छन्। खर्च कटाएर ७० लाखभन्दा बढी नाफा हुने गरेको उनले बताए।
‘वार्षिक ६० लाखजति दानामा र बिजुलीलगायत अन्य क्षेत्रमा खर्च हुन्छ,’ उनले भने, ‘७० लाख कम्तीमा बचत हुन्छ।’ उनको फर्ममा वार्षिक २०० टनभन्दा बढी माछा उत्पादन हुन्छ। अहिले १० टन माछा बजार पठाउने तयारी छ।
अर्यालले आधुनिक प्रविधि प्रयोग गरी माछा उत्पादन र बिक्रीमा ध्यान दिएका छन्। उनका माछा चितवन, काठमाडौँ, पोखरा, बुटवललगायत सहरमा बिक्री हुन्छन्। माछापालनले उनको जीवनस्तरमा सुधार ल्याएको छ। उनले आम्दानीबाट थप जमिन किने, घर बनाए र गाडी किन्ने योजनामा छन्।
माछापालनबाटै उनले तीन छोराछोरीलाई चितवनको प्रतिष्ठित बोर्डिङ स्कूलमा पढाइरहेका छन्। उनको फर्ममा ६ जनाले रोजगारी पाएका छन्। आगामी दिनमा माछापालनलाई एग्रो टुरिजममा विस्तार गर्ने उनको योजना छ। ‘पोल्ट्रीमा राम्रो आम्दानी भएन,’ उनले भने, ‘अहिले कागती खेतीमा लगानी गरेको छु, यसलाई एग्रो टुरिजममा लैजाने योजना छ।’
श्रीमान्-श्रीमती दुवै माछापालनमा सक्रिय छन्। उनले माछापालनमा रुचि राख्ने किसानलाई प्रशिक्षण र सल्लाह दिँदै आएका छन्। ४५ वर्षीय अर्यालले पैसा कमाउन सन् २००५ मा मलेसिया गए। २४ महिना बसेर स्वदेश फर्केपछि परम्परागत खेतीमा लागे। पछि सन् २००८ मा दुबई गए। दुई वर्षपछि फर्केर माछापालन थाले।
‘सुरुमा एक कठ्ठामा माछा कसरी पाल्ने थाहा थिएन, अन्धाधुन्ध थालियो,’ उनले भने, ‘व्यापारीले ठगे, दुई-तीन वर्ष घाटा भयो।’ पछि माछापालन बुझ्दै गएपछि सहज भयो। सुरुमा बङ्गलादेशबाट भुरा ल्याउनुपर्थ्यो, अहिले चितवनमै सरकारी स्तरबाट भुरा उत्पादनले सहज भएको उनले बताए।
अर्यालले माछापोखरीमा २ करोड लगानी गरेका छन्। सात पोखरीमा माछा छन्। पोखरी खन्दा १ करोड खर्च भएको थियो। २८ कठ्ठा आफ्नै जमिन र भाडाको जमिनमा माछापालन गर्छन्। चितवनमा एक हजार ५०० भन्दा बढी किसान माछापालनमा छन्।
‘विदेश जानुभन्दा यहाँ उत्पादनमूलक काम गरेर राम्रो आम्दानी गर्न सकिन्छ,’ उनले भने। दाना र बिजुलीमा छुट पाए नेपाली किसान अगाडि बढ्ने उनको भनाइ छ। ‘माछापालनमा राम्रो सम्भावना छ, तर राज्यको दृष्टिकोण गलत छ,’ उनले भने, ‘देश धनी बनाउन युवालाई कृषिमा लगानी गर्नुपर्छ।’
भारतबाट अवैध माछा आयातले नेपाली किसान मारमा परेको उनको गुनासो छ। ‘भारतका माछा व्यवस्थापन गर्न सके नेपाली माछाले बजार पाउँछन्,’ उनले भने, ‘राज्यले ठोस योजना बनाएर अवैध कारोबार रोक्नुपर्छ।’ माछा व्यवसायी सङ्घ चितवनका उपाध्यक्ष अर्यालले अवैध माछा नियन्त्रण अभियान सार्थक नभएको बताए। रासस
प्रकाशित: ११ जेष्ठ २०८२ ०६:४५ आइतबार





