नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कोसी प्रदेशको भ्रमण गरेका छन्। भ्रमणका क्रममा शाक्यले मातहतका अधिकारी तथा कर्मचारीहरूलाई छिटो छरितो र भरपर्दो एवं गुणस्तरीय विद्युत् सेवा आपूर्तिको व्यवस्था मिलाउन पनि निर्देशन दिएका छन्।
प्राधिकरणको कोसी प्रादेशिक कार्यालयअन्तर्गतका वितरण केन्द्रका प्रमुखहरू, ग्रिड महाशाखा प्रमुख, कोसी प्रदेशमा सञ्चालित आयोजना प्रमुखहरूसँग विराटनगरमा छलफल गरी यस्तो निर्देशन दिएको प्राधिकरणले जनाएको छ।
यस्तै भ्रमणकै क्रममा कार्यकारी निर्देशक शाक्यले दुहबी ग्रिड, इनरुवा सब स्टेसन निर्माणाधीन बर्जू सब स्टेसन, रंगेली तथा इटहरी वितरण केन्द्रको स्थलगत निरीक्षण गरेर त्यहाँ कार्यरत कर्मचारीका गुनासा सुनेको पनि प्राधिकरणले जनाएको छ।
गुनासा सुन्नुका साथै कर्मचारीलाई उच्च अनुशासनमा रही सेवाग्राहीको चाहाना र आवश्यकता अनुसार काम गर्न तथा विद्युतीय दुर्घटना हुनबाट जोगिने गरी कार्य सम्पादन गर्न सचेत पनि गराएका छन्।
भ्रमणकै अवसरमा कार्यकारी निर्देशक शाक्यले विराटनगरमा उद्योगी व्यवसायीसँग पनि छलफल गरेका छन्। जहाँ उपस्थित व्यवसायीहरूले विद्युत् प्राधिकरण र सेवाग्राही एक अर्काका परिपूरक रहेकाले सम्मानसहितको सेवा प्रवाहको अपेक्षा राखेका थिए।
यस्तै व्यवसायीले डेडिकेटेड र ट्रंक लाइन विवाद निरूपणमा सहयोग गर्न आफूहरू प्रतिबद्ध रहेको तर, प्राधिकरणले पनि न्यायोचित व्यवहार देखाउनुपर्ने पनि बताएका थिए।
प्रकाशित: १० जेष्ठ २०८२ १७:०५ शनिबार





