१२ माघ २०८२ सोमबार
image/svg+xml
अर्थ

जो दैनिक १० क्विन्टल बेमौसमी काँक्रा फलाएर बेच्छन्

फराकिलो बारीभरि काँक्रैकाँक्राको झाङ असरल्ल फिँजिएको छ। बारीको एक छेउमा हरिया काँक्राले भरिएका दर्जनौँ ‘क्रेट’ देखिन्छन्। चार जना बारीभित्रै पसेर अझैँ काँक्रा टिपेर जम्मा गरिरहेका देखिन्छन्। 

यो दृश्य गुल्मीको छत्र कोट गाउँपालिका–५ खज्र्याङको हो। काँक्रा बारी स्थानीय ४० वर्षीय युवा कृषक विष्णुप्रसाद भण्डारीको हो। यो दृश्य भण्डारीको तरकारीबारीमा हिजोआज दिनहुँ देखिन्छ। यसै गरी उनको बारीबाट हिजोआज दैनिक १० क्विन्टलसम्म काँक्रा टिपिन्छ र बजारसम्म पुग्छ। 

‘दैनिक १० क्विन्टल त फल्छ नै। कहिलेकाहीँ त्यो भन्दा बढी पनि निस्किन्छ’, कृषक भण्डारी भन्छन्,‘यो सिजनमा मात्रै ४०० क्विन्टल फल्छ भन्ने विश्वास छ।’ उनले यसै गरी ४५ रोपनी जमिनमा तरकारी खेती गरेका छन्। ‘त्यो मध्ये अधिकांश जमिनमा काँक्रा नै छ। पोहोर २ हजार बोट काँक्रा थियो। यस पटक १० हजार बोट लगाएका हौँ’, भण्डारीले सुनाए। 

बेमौसम फलाएर राम्रो मूल्य उठाउने उद्देश्यले नै काँक्रा रोपेको उनी बताउँछन्। ‘मंसिरमा काँक्रा रोपेका हौँ। चैत १० गतेबाट बजारमा दिन थाल्यौँ,’ उनले भने,‘अब त अन्तिम अन्तिम हुन थाल्यो। अझैँ सय क्विन्टल निस्केला।’ चैतमा काँक्रा बजारमा पुग्दा थोककै १०० रुपैयाँसम्म पाइएको उनले बताए। ‘त्यसपछि ९० र ८० सम्म झ¥यो। धेरै काँक्रा त्यही मूल्यमा गयो। हामीलाई त्यसले फाइदा नै भयो,’ उनले भने। अहिले भने ४० रुपैयाँमा बिक्री भइरहेको भण्डारीले सुनाए। 

उनले हालसम्म २० लाख जतिको काँक्रा मात्रै बेचेको बताउँछन्। ‘बाँकी बारीमा लौका, घिरौँला, फर्सी, खर भुजालगायतका तरकारी पनि छन्। कुखुरा पनि पालेका छौँ। सबै मिलाएर ३० लाख बढी आम्दानी यो दुई महिनामा भयो,’ भण्डारीले सुनाए। 

यो सबैमा ५ लाख जति लगानी लागेको भण्डारीले बताए। उनले भने, ‘हामी सबै काम घरकाले नै गर्ने हो। पाँच जना सदस्य पूरै समय काम गर्छौँ। बाहिरबाट ल्याउनुपर्ने सामग्रीमा मात्रै हो खर्च लाग्ने।’ 

भण्डारी परिवारले फलाएको काँक्राको मुख्य बजार सदरमुकाम तम्घास हो। त्यसबाहेक केही मात्रामा गाउँमै पनि विक्री हुने गरेको बताउँछन्। ‘गाउँमै, बारीमै आएर किन्ने पनि हुन्छन्। विवाह, महोत्सव तथा पाठ पूजाको समयमा बजारमा काँक्रोको माग आउँछ,’ भण्डारीले भने। बाहिरी बजारबाट पनि माग आइरहेको उनी सुनाउँछन्। तर स्थानीय स्तरमै पूर्ति गर्न नसकिएकाले बाहिर पठाउन नसकिएको उनले बताए।  

स्वदेशकै माया, व्यापारपछि कृषिमा

भण्डारी आफूले विदेशका नाममा भारतसम्म पनि पाइला नटेको बताउँछन्। ‘एसएलसी उत्तीर्ण गरे लगत्तै व्यापार गर्न थालेको हुँ। मलाई विदेशको मोह कहिल्यै जागेन। सायद देशको माया र यहीँ गर्न सकिन्छ भन्ने लागेर होला,’ उनले भने, ‘विभिन्न किसिमका व्यापारमा मैले २० औँ वर्ष गुजारेको छु।’ 

व्यापारबाट अपेक्षाकृत सन्तुष्टि नमिलेपछि भण्डारी कृषिमा पाइला चलाएको बताउँछन्। ‘व्यापारले खै किन हो चित्त बुझेन। कृषिमा आएर मोह अड्कियो,’ उनले भने। त्यसपछि २०७२ सालमा उनले घरेलु तथा साना उद्योग कार्यालय गुल्मीमा गएर ‘पूर्णिमा कृषि फर्म’ गरे। 

‘कृषि त गर्ने। तर, आफूसँग खेती गर्न जमिन पनि पर्याप्त थिएन,’ भण्डारीले सुनाए। त्यसपछि उनले बैङ्कबाट कृषि कर्जा लिएर ४५ रोपनी जमिन किने। जसमा ६० लाखसम्म ऋण निकालेको उनी बताउँछन्। 

‘किनेको यो जमिन पनि बाँझो खेत थियो। केही वर्ष त बाँझो खेत जोत्न–खन्नै समय लाग्यो। अन्ततः अहिले सफल भएका छौँ,’ भण्डारीले सम्झिए। अहिले उनको बारी हराभरा भएको छ। 

‘ऋण पनि लगभग चुक्ता गरिसकेका छौँ। अब त मुनाफाको कमाइ आउन थाल्दा परिवारै खुसी छौँ,’ उनले सुनाए। उनले अघिल्लो वर्षसम्म वार्षिक ४५ लाखसम्म कमाएकामा यो वर्ष भने कमाई बढ्ने पनि अपेक्षा व्यक्त गरे। 

‘अर्को वर्ष अझैँ राम्रो हुन्छ। कमाई पनि बढी हुन्छ भन्ने लाग्छ,’ उनले भने,‘बनाउनुपर्ने संरचना सबै बनाइसकियो। अब उत्पादन बढाउने र मूल्य पाउने समयमा बजारमा सामान पु¥याउनेमा ध्यान दिने समय आएको छ।’ 

भण्डारीले अहिले गुल्मीमै व्यावसायिक युवा कृषकमध्ये नमुना काम गर्ने व्यक्तिमा पर्न थालेका छन्। तर उनले हालसम्म एक रुपैयाँ पनि सरकारी अनुदान नलिएको बताउँछन्। ‘हामीलाई अनुदान थाप्न जान फुर्सद नै छैन। भन्न त स्थानीय र प्रदेश सरकारबाट कुरा भनिरहेकै हुन्छन्। अनुदान लिन जाँदा खर्च हुने समयभन्दा यहाँ काम गर्दा बढी आम्दानी हुन्छ भन्ने लाग्छ,’ भण्डारीले भने।

भण्डारी विदेशको सपनामा भौँतारिनुभन्दा स्वदेशमै मेहनतसाथ काम गरे सफलता पाइनेमा विश्वस्त छन्। ‘पौरख गरेर काम गरे यहीँ माटोमा लाखौँ फल्छ भन्ने सुन्थे। अहिले आफ्नै अनुभवबाट देखेँ,’ कृषक भण्डारी भन्छन्,‘सबै मिलेर अलि धेरै फलाउने र विदेशी बजारमा पु¥याउनसक्ने हो भने यहाँ नहुने भन्ने केही छैन जस्तो लाग्छ।’  

प्रकाशित: ९ जेष्ठ २०८२ १९:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App