१६ माघ २०८२ शुक्रबार
image/svg+xml
अर्थ

गाउँ–सहर जोड्न ‘गाउँ पर्यटन मेला’ गरिँदै

<br>

बागलुङको भकुण्डे होमस्टेमा विदेशी पर्यटकलाई स्वागत गर्दै स्थानीय महिलाहरु। फाइल तस्विरः नागरिक

गाउँ र सहरको पर्यटनलाई जोड्नेगरि पोखरामा गाउँ पर्यटन मेला आयोजना हुने भएको छ। पोखरामा तेश्रोपटक हुन थालेको यो मेलाले गाउँमा होमस्टे संचालन गरिरहेका पर्यटन व्यावसायीलाई सहरीया पाहुनासम्म पहुँच पुर्याउन सघाउने व्यावसायीको अपेक्षा छ।  

जेठ ९ र १० गते हुने मेलामा गण्डकी प्रदेशका विभिन्न नौवटा जिल्लाका होमस्टे संचालक पोखरामा भेला हुने आयोजक पर्यटन बोर्ड पोखराका प्रमुख मणिराज लामिछाने बताउँछन। उनका अनुसार प्रदेशभित्रका म्याग्दी र गोरखाबाहेकका जिल्लाका होमस्टे व्यावसायी पोखराको यो मेलामा सहभागि हुन आउनेछन्। मेलाका लागि गाउँ पर्यटन प्रर्वद्धन मञ्ज (भिटोफ) गण्डकी प्रदेशले सहकार्य गरेको छ।  

‘यो मार्टले गाउँगाउँमा रहेका व्यावसायीलाई बजारसम्म जोड्ने काम गर्ने प्रयास गर्नेछ,’ लामिछानेले भने, ‘केही समयदेखि सुस्ताएको होमस्टेलाई उठाउनका लागि मेलाले सघाउनेछ।’ लामिछानेका अनुसार यसअघि पनि यस्तै मेला २०७३ र २०७६ मा पोखरामा आयोजना गरिएको थियो। लामिछानेका अनुसार पोखरा भेगका कतिपय होमस्टेमा अहिले पर्याप्त पाहुना पुग्ने गरेका छन भने कतिपयले पाहुना नपाएको अवस्था छ। यो मेलाले पाहुना नपाएको होमस्टेसम्म पाहुनाको पहुँच पुर्याउन सहयोग पुग्ने उनले बताए।  

‘होमस्टेका पाहुना सहरमा पनि छन्। पोखरामा विदेशी पाहुना पनि भेटिन्छन। त्यस्तै पोखरेली बजारबासीलाई पनि होमस्टेसम्म तान्नका लागि यो मेलाले पुलको काम गर्नेछ,’ लामिछानेले भने, ‘होमस्टेले गाउँको पर्यटन क्षेत्रलाई उकासेको छ। गाउँमा रोजगारी सिर्जना गर्न पनि होमस्टेले सघाएको छ।’ 

गाउँबाट विदेश पलायन भएका युवालाई आयका अवसर सिर्जना गरि गाउँ फर्काउने माध्यम होमस्टे बनेको पनि लामिछानेले बताए। ‘विदेश पलायन भएका युवालाई गाउँ फर्काउने माध्यम होमस्टे हो। गाउँमै आयआर्जनको बाटो खुलाउने हो भने युवा विदेश जानबाट रोकिनेछन,’ उनले भने, ‘पर्यटकको बसाई अवधि र उनीहरुको खर्च बढाउन पनि होमस्टेको योगदान रहेको छ।’ महोत्सवले सामुदायिक होमस्टे र सेवाको बारेमा जानकारी दिँदै बजारीकरण गर्न पनि सघाउने उद्देश्य लिएको छ। गाउँमा रहेका पर्यटन व्यावसायी र संभावित ग्राहकबीच सम्पर्क स्थापना गर्न पनि यसले सघाउनेछ। गाउँ पर्यटनमा निजी तथा सरकारी लगानीलाई अभिवृद्धि गर्ने पनि उनले बताए।  

भिटोफ गण्डकी प्रदेश अध्यक्ष सोभा सापकोटाका अनुसार यो मेलाले पर्यटकीय गाउँको प्रर्वद्धनमा सघाउ पुग्नेछ। त्यस्तै मेलाका सहभागिले आफुले संचालन गरेको होमस्टेको प्याकेजबारे जानकारी दिन सक्नेछन। गाउँमा उत्पादन हुने सामाग्री र सेवाको प्रर्वद्धन तथा सामुदायिक होमस्टेको व्यावसायिकता र बजार पहुँचको बिस्तारमा योगदान पुग्नेछ।  

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷७६ मा होमस्टेमा मात्र ३० करोड रुपैयाँ अनुदान दिएको थियो। त्यसपछि पनि होमस्टेमा अनुदान निरन्तर रहँदा पाँचवर्ष अवधिमा भण्डै ५ सय ५० होमस्टेलाई करिब ५२ करोड रुपैयाँ अनुदान बाँडिएको थियो। अनुदान पाएपनि अधिक होमस्टेले गति लिन सकेका छैनन्। कतिपय होमस्टे त संचालन हुनै छाडेका छन्। सरकारी अनुदान पाएका होमस्टेले पनि गति लिन नसकेको र कतिपयले नवीकरण गर्न समेत छाडेका छन्। अनुदान पाएका होमस्टेको अवस्था के छ भन्ने बारेमा पनि अहिलेसम्म कुनै तथ्यांक प्रदेशको पर्यटन मन्त्रालयसँग छैन।  

प्रकाशित: ७ जेष्ठ २०८२ १३:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App