२ असार २०८२ सोमबार
image/svg+xml
अर्थ

सदरमुकाम त्रियुगा नगरको १० महिनाको पुँजीगत खर्च ४१ प्रतिशत

साल तमामी (असार मसान्त) आउँन २ महिना बाँकी रहँदा त्रियुगा नगरपालिकाले पुँजीगत बजेट झण्डै ४१ प्रतिशत भएको छ । आर्थिक वर्ष सुरुको साउनदेखि वैशाख मसान्तसम्ममा त्रियुगाले पुँजीगत बजेट ४०.५४ प्रतिशत खर्च गरेको हो । 

लेखा अधिकृत विनया बस्नेतका अनुसार त्रियुगाले चालु वर्षका लागि विनियोजित पुँजीगत बजेट ९९ करोड २० लाख २६ हजारमध्ये वैशाख मसान्तसम्म ४० करोड २१ लख ६४ हजार १ सय १ रुपैयाँ खर्च गरेको छ । यो खर्च अङ्क वैशाख ३१ गतेसम्म भुक्तानी भएको विभिन्न योजनाहरुको हो । अन्य योजनाहरुको बील पनि भुक्तानीको पाईपलाईनमा रहेको उनले बताईन् ।

त्यसैगरी नगरपालिकाले चालु बजेट ६५ प्रतिशत खर्च गरिसकेको छ । यसवर्षका लागि चालु बजेट नगरसभाले ९३ करोड ७३ लाख २१ हजार विनियोजन गरेको छ । जसमध्ये वैशाख मसान्तसम्म ६० करोड ९२ लाख ७६ हजार ५० रुपैयाँ खर्च गरिसकेको लेखा अधिकृत बस्नेतले बताईन् ।

यस आर्थिकवर्षका लागि १४ औँ नगरसभाबाट १ अर्ब ९२ लाख ९३ लाख ४७ हजारको अनुमानित आयव्यय पारित गरेको थियो । जसमध्ये हालसम्म १ अर्ब १ करोड १४ लाख ४० हजार १ सय ५१ रुपैयाँ खर्च गरिसकेको छ । यो खर्च खर्च अङ्क समग्र बजेटको ५२.४२ प्रतिशत हुन आउने बस्नेतले बताईन् । 

सदरमुकामसमेत रहेको त्रियुगा नगरपालिकाले सबभन्दा ठूलो आकारको बजेट ११ नं. वडा गाईघाट बजारक्षेत्रसहित ४ वटा वडालाई जोड्ने आन्तरिक सडक योजनामा खर्च गर्दैछ । विश्व बैँकको १ अर्ब ऋण सहयोगमा नगरपालिकाका ११, १२, १३ र १० नं. वडालाई गाईघाट बजारको टाउन प्लानिङ बजारसँग जोडने सडकहरु स्तरोन्नतिसहित कालोपत्रे गर्ने काम गरिहेको छ । 

जम्मा १४.६ किलोमिटर सडक स्तरोन्नतिसहित कालोपत्रे गर्नका लागि छुट्टाछुट्टै १ वटा फेजमा ६७ करोडको ठेक्का लागेर यही असार मसान्तभित्र सक्ने गरी धमाधम काम भईरहेको छ । प्रमुख प्रशासकीय अधिकृत कुमार कोईरालाले गाईघाट सडक कालोपत्रेसँगै आधादर्जन बढी ठूला योजनाको काम भईरहेको नगरपालिकामा पुँजीगत रकम खर्च प्रतिशत कम देखिए पनि असार मसान्तसम्म सबै सकिने बताए ।

सडक स्तरोन्नति कालोपत्रेबाहेक अन्य ठूला योजनाहरु प्रशासनिक भवन, श्रीपुर खानेपानी योजना, बालमन्दिर मावि भवन र लक्ष्मीपुर मावि भवन निर्माणाधीन अवस्थाका योजनाहरु हुन् । बालमन्दिर मावि भवजन वडा नं. १० बोक्सेमा अन्तिम चरणमा पुगेको छ भने प्रशासनिक भवन पनि बोक्सेमै निर्माण सम्पन्नको सङ्घारमा पुगेको छ । त्यस्तै ५ नंं. वडा श्रीपुरमा निर्माण भईरहेको श्रीपुर खानेपानी योजना र १३ नं. वडामा निर्माणाधीन मावि लक्ष्मीपुर भवन पनि यही असारभित्रै सकिने योजनाहरु भएको हाकिम कोईराला बताउँछन् ।

३ करोडभन्दा माथिका यी सबै योजनाहरु नगरपालिकाले यसै आर्थिकवर्ष सम्पन्न गर्ने गरी ठेक्का लगाएको हो । यीबाहेक १ करोडभन्दा कमका थुप्रै योजनाहरु नगरका विभिन्न वडामा निर्माणाधीन रहेको र अन्तिम चरणमा पुगिसकेका छन् । समग्रमा पुँजीगत बजेटमार्फत निर्माण हुने नगर विकास निर्माण योजनाको भौतिक प्रगति सन्तोषजनक रहेकाले वित्तीय प्रगति पनि असन्तोषजनक नरहेको कोईरालाको भनाई छ । 

प्रकाशित: ४ जेष्ठ २०८२ १८:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App