नेप्से परिसूचक बुधबार पनि घटेको छ । कारोबार हुने साताका सबै दिन नेप्सेमा गिरावट आएको हो ।
नेप्से परिसूचक आज १३.९६ अंक घटेर २६२०.२७ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ३.२८, फ्लोट इण्डेक्स १.०७ र सेन्सेटिभ इण्डेक्स १।०४ अंकले घटेपछि समग्र नेप्सेमा आज दोहोरो अंकका गिरावट आएको हो ।
कारोबार रकम पनि आज मंगलबारको तुलनामा ९० करोड रुपैयाँले घटेको छ । मंगलबार ९ अर्ब ६३ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज बुधबार ३१५ स्टकको १ लाख १२ हजार पटकको कारोबारमा ८ अर्ब ७३ करोड ६५ लाख ७० हजार रुपैयाँबराबरको १ करोड ८४ लाख ९६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
बुधबार ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको शेयरमूल्य ५२ रुपैयाँ ५० पैसा बढेर ५७८ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ। पिपुल्स पावरको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ भने उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक ९.९८ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा राधी विद्युत कम्पनीको ५९ करोड ३२ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। युनिभर्सल पावर कम्पनीको करिब साढे ५१ करोड र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको ५१ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।
१३ उपसमूहमध्ये बुधबार २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। अन्य उपसमूहको परिसूचक सर्वाधिक २.४६ प्रतिशत र विकास बैंक उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। होटल तथा पर्यटन, जलविद्युत, लगानी र निर्जीवन बीमा उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ।
प्रकाशित: ३१ वैशाख २०८२ १५:३२ बुधबार





