२ जेष्ठ २०८२ शुक्रबार
image/svg+xml
अर्थ

सेतीनदी जलविद्युत आयोजनाको औपचारिक उद्घाटन, बज्र मादी जलविद्युत आयोजनामा लगानी सुनिश्चित

सेतीनदी जलविद्युत आयोजनाको औपचारिक उद्घाटन भएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका र पोखरा महानगरपालिका भएर बग्ने सेती नदीमा २५ मेगावाट क्षमताको जलविद्युत आयोजनाको निर्माण सम्पन्न भएर उत्पादन सुरु भएको हो । काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार एवं पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले भर्च्युअल माध्यममार्फत् आयोजनाको उद्घाटन गरेका हुन् ।

बुटवलका युवा उद्यमी जगत पोखरेलको नेतृत्वमा निर्माण भएको आयोजनाबाट उत्पादन हुने बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । २०७७ सालमा निर्माण सुरु भएको यस जलविद्युत आयोजनाको निर्माण कार्यसम्पन्न भइ २०८१ सालको कार्तिक २७ गतेदेखि नेपाल विद्युत प्राधिकरणले उत्पादन खरिद गर्न सुरु गरेको थियो । भिजन लुम्बिनी उर्जा कम्पनीद्वारा प्रवर्धित यस आयोजनामा १५ सय बढी सेयरकर्ता रहेको आयोजनाले जनाएको छ ।  

आयोजनाको उद्घाटन गर्दैै प्रधानमन्त्रीका आर्थिक सल्लाहकार खतिवडाले जलविद्युत आयोजनामा लगानी गर्न सबै लगानीकर्तालाई आग्रह गरे । उनले सरकार सधैं उर्जा क्षेत्रमा लगानीका लागि सकारात्मक रहेको जानकारी दिँदै लगानीको सुनिश्चितताको ग्यारेन्टी सरकारले लिने प्रतिबद्धता व्यक्त गरे ।  

एनएमबि बैंकको नेतृत्वमा कर्मचारी सञ्चय कोष र कृषि विकास बैंकको ऋण लगानीमा निर्माण भएको आयोजनाको कुल लागत ६ सय करोड रहेको छ । आयोजनाबाट उत्पादिन बिजुलीबाट वार्षिक ८७ करोड आम्दानी गर्ने लक्ष्य आयोजनाले लिएको छ ।  

सोही कार्यक्रममा २४.८ मेगावाटको बज्र मादी जलविद्युत आयोजना निर्माणका लागि लगानी सुनिश्चित गरिएको थियो । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडका प्रवन्ध सञ्चालक जगतबहादुर पोखरेलका अनुसार, बज्र मादी जलविद्युत आयोजना  निर्माणका लागि एनएमबि बैंक र कृषि विकास बैंले संयुक्त लगानी गर्नेछन् । सोही कार्यक्रममा लगानीसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर समेत भएको थियो । 

प्रकाशित: २६ वैशाख २०८२ २०:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App