पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
शाह प्रधानमन्त्रीमा नियुक्त भएकोमा खुसी व्यक्त गर्दै देउवाले सामाजिक सञ्जाल एक्समार्फत उनको सफल कार्यकालको कामना गरेका हुन्। देउवाले नयाँ सरकारले देशको विकास र समृद्धिको यात्रामा प्रभावकारी भूमिका खेल्ने विश्वास समेत व्यक्त गरेका छन्।
बधाई सन्देशमा देउवाले लेखेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।’
साथै, पूर्वप्रधानमन्त्री देउवाले आजै नियुक्त भएका मन्त्रिपरिषद्का अन्य सदस्यहरूलाई पनि बधाई दिएका छन्।
पूर्वप्रधानमन्त्री देउवा अहिले स्वदेशमा छैनन्। उपचारका लागि श्रीमती आरजु राणा देउवासहित सिंगापुर पुगेका उनी थप उपचारका लागि हङकङ पुगेको बताइएको छ।
प्रकाशित: १३ चैत्र २०८२ १४:०१ शुक्रबार





