२ जेष्ठ २०८२ शुक्रबार
image/svg+xml
अर्थ

तरकारीखेतीमा रमाउँदै ६४ वर्षीय चौधरी, वार्षिक १० लाख आम्दानी

उमेरले चौसट्ठी वर्ष, जाँगर तन्नेरीका जस्तै। अचेलका युवालाई पनि गुनासो गर्दै ठिक्क छ। 

बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका ६४ वर्षीय युक्ति चौधरीलाई न कसैप्रति गुनासो न त आफ्नो उमेरको बहाना। बिहान सबेरै उठेदेखि बेलुका रात नछिप्पिएसम्म खेतबारीमै। उनको मेहनत गज्जबको छ। एकाबिहानै बारीमा पस्छन्, काँक्रा, बोडी, घिरौँला, लौका, टमाटर स्याहार्दा स्याहार्दै समय बितेको पत्तो नै हुन्न। 

युक्ति मात्र हैन उनकी लयमा हिँडिरहेका छन् छोराबुहारी र श्रीमती पनि। परिवारको लय मिलेपछि व्यवसायमा पनि त्यसरी नै सफलता मिलिरहेको छ। चौधरी भन्छन्, ‘हाल चार बिघामा मौसमअनुसारको विभिन्न प्रकारका तरकारी उत्पादन गरिरहेका छौँ। परिवारको साथ पाएको छु बारीभरि लटरम्मै तरकारी छन्, बेच्न भ्याइनभ्याइ छ।’

उमेरले आराम खोज्ने समयमा पनि जोस र परिश्रममा कुनै कमी छैन। परिश्रम र आत्मनिर्भरताको उदाहरण बन्दै चौधरीले यही खेतीबाट वार्षिक रु १० लाखभन्दा बढी आम्दानी गरिरहेका छन्। उनले छ वर्षअघि एक कट्ठा जमिनमा तरकारीखेती सुरु गरेका थिए। त्यसको दुई वर्षपछि रीतिका कृषि फार्म दर्ता गरी औपचारिक रूपमा यही उद्यममा रमाइरहेका छन्। ‘आराम गरेर घरमा बस्ने उमेर हो तर पनि पहिलेदेखि काम गर्ने बानी बस्यो। काम नगरी बस्नै सकिँदैन,’ चौधरी भन्छन्, ‘सकुन्जेल काम गर्ने हो, हात खुट्टा चलेको छ, तागत छँदैछ। परिवारले साथ दिएकै छन्। जुनदिन सकिन्न त्यसदिनको कुरा बेग्लै होला।’

उनको मुख्य पेसा कृषि नै हो तर घरमा केही गाई, गोरु र बाख्रा पालन गरिरहेका छन्। यसले कृषिमा सहयोग पुगिरहेको छ। चौधरीले भने, ‘मैले घरैमा पालेको गाई, गोरु र बाख्राबाट प्राप्त हुने गोबर सङ्कलन गर्छु। त्यही जैविक मललाई तरकारीखेतीमा प्रयोग गर्छु। रासायनिक मलको प्रयोग घटाएर स्वास्थ्य र प्राकृतिक उत्पादन गर्न सहयोग पनि पुग्छ। यसले आत्मनिर्भरता र दिगोपना कायम राख्न निकै सघाउ पुगेको छ।’

उनको बारीबाट उत्पादन भएको तरकारी सुनसरीका विभिन्न ठाउँ, चक्रघटी, कालाबन्जर, बाङ्गे चतरालगायत बजारमा बिक्री हुने गरेको बताए। ‘तरकारी बिक्रीका लागि बजारको समस्या छैन, व्यापारीहरू आफैँ फार्ममै लिन आउँछन्, जहाँ हामीले बजार मूल्यभन्दा रु १० कममा तरकारी दिने गरेका छौँ। यसले हामीलाई सहज पनि हुन्छ। नाफा घाटाको धेरै चिन्ता गर्नुपर्दैन,’ चौधरीले भने। 

आफ्नो बारीमा हुने उत्पादनले भान्छाको आवश्यकता पूर्तिका साथै छोराछोरी, नातिनातिनालाई पढाउनेदेखि घरखर्च चलाउनसम्म सबै आवश्यकता पूरा हुँदै आएको छ। चौधरी परिवारका लागि तरकारीखेती आयआर्जनको भरपर्दो स्रोत त हुँदै हो दैनिक चार, पाँच जनाले ज्यालादारीमा काम गर्न पाएका छन्। यसले थोरै भए पनि स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न सघाउ पुगेको छ। 

पछिल्लो समय तरकारीखेतीका लागि स्थानीय नगरपालिकाले पनि बीउ अनुदानमा उपलब्ध गराउँदै आएको छ। गत वर्षमात्रै सुनसरी कृषि ज्ञान केन्द्रले रु एक लाखको अनुदान प्रदान गरेको थियो। चौधरीका अनुसार यस्ता अनुदानले तरकारीखेतीमा केही हदसम्म सहयोग पुगेको छ र उत्पादनमा थप उत्साह र सहजता मिलेको छ। 

बराहक्षेत्रका अधिकांश स्थानीयवासी तरकारीखेतीमा आत्मनिर्भर छन्। बराहक्षेत्र–८ का अर्का किसान मीनकुमार उराँवले हाल १० कट्ठा जमिनमा तरकारीखेती गर्दै आएका छन्। ‘थोरै जग्गामा तरकारीखेती गरे पनि उत्पादन राम्रो भएकाले आम्दानी पनि सन्तोषजनक छ। आफ्नै बारीमा उत्पादन भएको अर्ग्यानिक तरकारी उपभोग गर्न पाइने र बेचेर घरमै बसिबसी आम्दानी पनि गर्न पाइने,’ उनले भने, ‘विभिन्न थरीका तरकारी बेचेर हरेक वर्ष रु तीन लाखभन्दा बढीको कारोबार गरिरहेको छु।’

बराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्कीले किसानलाई तरकारीखेतीबाटै आत्मनिर्भर बनाउँदै उत्पादनमा सहजता ल्याउनेतर्फ नगरपालिका केन्द्रित रहेको बताए। उनले भने, ‘नगरपालिकाले स्थानीय किसानको आर्थिक विकासका लागि जैविक तरकारीखेती, सिँचाइ सुविधा र उत्पादन निर्यात गर्न यातायातको सुविधाका साथै प्रोत्साहनस्वरुप हरेक वर्ष तालिम र अनुदान प्रदान गर्दै आएका छौँ।’ 

जिल्लामा हाल आठ हजार १५३ हेक्टरमा तरकारीखेती हुँदै आएको कृषि ज्ञान केन्द्रका सूचना अधिकृत प्रवीणलाल श्रेष्ठले जानकारी दिए। जिल्लाको बराहक्षेत्र, रामधुनी क्षेत्रलगायत स्थानका किसानले तरकारीखेती गर्दै आएका छन्। संगीता राई/रासस

प्रकाशित: २६ वैशाख २०८२ १५:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App