३ असार २०८३ बुधबार
image/svg+xml
अर्थ

आहारपूरक खाद्य सामग्रीको बिक्री वितरणबारे वाणिज्य विभाग र एनएनसीएबीच छलफल

आहारपूरक खाद्य सामग्रीको बिक्री वितरणमा भइरहेको समस्या समाधानका लागि नेपाल आहारपूरक सौन्दर्यवद्र्धक संघ (एनएनसिए) को एक प्रतिनिधिमण्डलले विभागका महानिर्देशक कुमार प्रसाद दाहालसँग भेटघाट गरी समग्र विषयमा छलफल गरेको छ ।

संघका अध्यक्ष विप्लव रञ्जितका अनुसार छलफल निकै उपलब्धिमूलक रह्यो। ‘विभागले जारी गरेको सूचना राज्यको कानुनी प्रक्रिया पालना गर्दै इमानदारीपूर्वक व्यवसाय गरिरहेका व्यवसायीहरूको हितका लागि ल्याइएको हो भन्ने स्पष्टीकरण प्राप्त भयो’—अध्यक्ष रञ्जितले भने। उनले आगामी दिनमा एनएनसिए र विभागबिच थप समन्वय र सहकार्यको वातावरण बन्नेमा समेत विश्वास व्यक्त गरे।

वाणिज्य विभागले वैशाख १५ गते एक सूचना जारी गर्दै कस्मेटिक, फुड सप्लिमेन्ट तथा न्युट्रास्युटिकल उत्पादन तथा आयात गर्ने व्यवसायीहरूलाई सात दिनभित्र आवश्यक कागजातसहित विभागमा सम्पर्क गर्न आह्वान गरेको छ । विभागले उपभोक्ताको हितलाई ध्यानमा राख्दै गुणस्तरीय वस्तु आपूर्ति सुनिश्चित गर्न र अनुचित व्यापारिक अभ्यास नियन्त्रण गर्न यस्तो कदम चालेको जनाएको छ।

सूचनामा उल्लेख भएअनुसार, विभागमा आएका उजुरी तथा गुनासोहरूमा केही व्यवसायीहरूद्वारा बजारमा एकाधिकार कायम गर्ने, कमसल वस्तु पैठारी गर्ने, मूल्य नियन्त्रणमा हेरफेर गर्नेजस्ता गतिविधि भएको जनाइएको छ । विभागले सम्पूर्ण व्यवसायीहरूलाई निम्न कागजातहरू सहित सम्पर्कमा आउन भनेको छ । विभागले व्यवसाय दर्ता प्रमाणपत्र, प्यान, भ्याट र कर चुक्ता प्रमाणपत्र, इक्जामिनेसन सर्टिफिकेट, उत्पादक कम्पनीको दर्ता वा उत्पादन इजाजत पत्र, प्रज्ञापन पत्र, वस्तुको एनालाईसिस रिपोर्ट, ट्रेडमार्क र उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ६ बमोजिमको लेबल नमुनासहित आउन आग्रह गरेको हो ।

एनएनसिएले सम्बन्धित सम्पूर्ण व्यवसायी साथीहरूलाई विभागको सूचनाअनुसार तोकिएको समयसीमा भित्र आवश्यक कागजातसहित उपस्थित हुन विनम्र अनुरोध गरेको छ । साथै कागजातसँग सम्बन्धित कुनै अन्योल वा द्विविधा भएमा सङ्घसँग समन्वय गर्न पनि आग्रह गरिएको छ ।

यो पहलले स्वास्थ्यसम्बन्धी वस्तुहरूको गुणस्तर सुनिश्चित गर्नुका साथै उपभोक्ताको अधिकारको संरक्षणमा टेवा पुर्‍याउने विश्वास गरिएको छ ।

प्रकाशित: १८ वैशाख २०८२ १३:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App