१३ पुस २०८२ आइतबार
image/svg+xml
अर्थ

मदन भण्डारी राजमार्ग निर्माण धिमा गतिमा

पूर्व झापादेखि पश्चिम डडेलधुरासम्म चुरे क्षेत्र (भित्री मधेस) मा बसोबास गर्ने जनतालाई सहज यातायात सुविधा प्रदान गर्ने उद्देश्यले सात वर्षअघि सुरु गरिएको मदन भण्डारी राजमार्ग आयोजनाको प्रगति निकै सुस्त छ।

आयोजनाका अनुसार एक वर्षमा यसको प्रगति करिब दुई प्रतिशत मात्र भएको छ। आर्थिक वर्ष २०८०/८१ सम्म यस राजमार्गको भौतिक प्रगति ५२ प्रतिशत थियो। आव २०८१/८२ मा यसको प्रगति करिब दुई प्रतिशत बढेर ५४ प्रतिशत पुगेको जानकारी आयोजना प्रमुख दीप बाराहीले गराए। बजेट अभावले प्रगति निकै सुस्त भएको उनको भनाइ छ।

‘यस आयोजनाको कुल बजेट करिब ७५ अर्ब रूपैयाँ हो। यस दृष्टिबाट चार प्रतिशत प्रगति हुनका लागि पाँच अर्ब रूपैयाँ खर्च हुनुपर्छ। चालु आर्थिक वर्षमा यस आयोजनाका लागि करिब दुई अर्ब रूपैयाँ छुट्याइएको छ’, उनले भने, ‘त्यसैले चालु आवमा यस आयोजनाको भौतिक प्रगति करिब दुई प्रतिशत हाराहारी छ।’

मदन भण्डारी राजमार्ग बनाउन काम सुरु भएको सात वर्ष पुगिसकेको छ । सात वर्षमा यस आयोजनाको प्रगति करिब आधा मात्र भएको छ । त्यसैले तोकिएको समयमा आयोजनाको काम पूरा नहुने निश्चित भएको छ भने भइरहेको काम पनि निकै सुस्त छ।

आव २०८१/८२ मा यो आयोजनामा तीन वर्ष म्याद थप गरिएको थियो। तीन वर्षे म्याद थप गर्न आयोजनाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाएको प्रस्ताव अघिल्लै आवमा पास भइसकेको छ। तीन वर्षमा काम पूरा भए २०८५ साल असार मसान्तसम्म यस आयोजनाको अन्तिम म्याद तोकिएको छ। तीन वर्षभित्र पनि काम पूरा हुनेमा आयोजनाकै कर्मचारीहरू विश्वस्त छैनन्।

वन, जग्गामा विवाद, बजेट अभाव, कोरना महामारीलगायतका विभिन्न कारणले तोकिएको समयभित्र यस आयोजनाको काम पूरा हुन नसकेको आयोजनाका कर्मचारीहरू बताउँछन्।  

ठेकेदारलाई दिने पैसा अर्थ मन्त्रालयले निकासा नगरेकाले पनि वित्तीय कम देखिएको आयोजनाका कर्मचारीहरूको भनाइ छ। २०७५ जेठ ६ देखि यस आयोजनाको काम सुरु गरिएको थियो। सुरुमा २०८२ असार मसान्तभित्र आयोजनाको सबै काम पूरा गर्ने लक्ष्य राखिएको थियो। आयोजनाका अनुसार अहिलेसम्म करिब ४० अर्ब रूपैयाँ खर्च भइसकेको छ।

आव २०८१/८२ मा यस आयोजनाका लागि दुई अर्ब ५५ करोड रूपैयाँ छुट्याइएको थियो। आयोजनाका अनुसार राजमार्ग झापाको बाहुनडाँगीदेखि सुरु भएर डडेलधुराको रूपालसम्म पुग्ने छ। त्यस बेलासम्म यस राजमार्गको कुल लम्बाइ एक हजार तीन सय ९० किलोमिटर हुनेछ। त्यसमध्ये सात सय ४० किलोमिटर दूरी मदन भण्डारी राजमार्गले मात्र छुनेछ।

 राजमार्गको कुल लम्बाइ एक हजार तीन सय ९० भए पनि केही ठाउँमा यो अन्य राजमार्गसँग जोडिएको छ। अन्य राजमार्गसँग जोडिएको लम्बाइ घटाइ मदन भण्डारी राजमार्गलाई मात्र जोड्ने हो भने यसको लम्बाइ सात सय ४० किलोमिटर हुनेछ।

राजमार्गको कुल लम्बाइमध्ये तीन सय ५० किलोमिटर बाटोमा अहिलेसम्म कालोपत्र भइसकेको छ। चार सय ५४ किलोमिटर दूरीमा कालोपत्र गर्न ठेक्का सम्झौता भइसकेको छ भने बाँकी दूरीमा ठेक्का सम्झौता हुन सकेको छैन। बजेट अभावमा सबै ठाउँमा ठेक्का सम्झौता हुन नसकेको आयोजनाले जनाएको छ।

राजमार्गमा निर्माण हुने एक सय ८५ वटा पुलमध्ये अहिलेसम्म एक सय ४२ वटा बनिसकेका छन्। ४३ वटा पुल बनाउन बाँकी छन्। यस राजमार्गले कोसी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम गरी ६ वटा प्रदेशलाई पूर्व–पश्चिम राजमार्गसँग जोड्ने भएको छ।

यस आयोजनाले झापा, इलाम, मोरङ, सुनसरी, उदयपुर, सिन्धुली, मकवानपुर, चितवन, नवलपरासी पूर्व, पाल्पा, गुल्मी, प्युठान, रोल्पा, सल्यान, सुर्खेत, डोटी, कैलाली र कञ्चनपुर गरी १८ वटा जिल्लाई जोड्नेछ।

यस आयोजनाबाट ८४ लाख ३३ हजार नागरिक प्रत्यक्ष लाभान्वित हुने अनुमान गरिएको छ । यस आयोजनाले चुरेको वन क्षेत्रभन्दा तल रहेका क्षेत्रमा औद्यौगिक तथा आर्थिक विकासमा टेवा पुर्‍याउने अनुमान गरेको छ। सरकारले यस आयोजनालाई राष्ट्रिय प्राथमिक आयोजनाको रूपमा राखेको छ तर काम भने निकै ढिलो भइरहेको छ।

यस आयोजनाको कुल लागत ७७ अर्ब रूपैयाँ खर्च हुन अनुमान गरे पनि आयोजना सम्पन्न हुँदासम्म यसको कुल खर्च बढेर करिब एक खर्ब खर्च हुन सक्ने आयोजना कर्मचारीहरूले अनुमान गरेका छन्।

प्रकाशित: १२ वैशाख २०८२ ०९:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App