महिला उद्यमी महासङ्घको आयोजनामा आठौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला सुरु भएको छ। बिहीबार ललितपुरमा प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रमबीच मेलाको उद्घाटन गरे।
बिहीबार सुरु मेला चैत १८ गतेसम्म चल्नेछ। मेलामा देशैभरबाट आएका महिला उद्यमीद्वारा उत्पादित नेपाली वस्तुहरूको प्रदर्शनी हुनेछ।

महिलाहरूलाई आर्थिक र सामाजिक रूपमा सक्षम बनाउने उद्देश्यसहित मेलाको आयोजना गरिएको महासंघ अध्यक्ष शोभा ज्ञवालीले जानकारी दिइन्। रष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा नेपाली महिला उद्यमीका उत्पादन प्रवर्द्धन र बजारीकरण गर्ने मुख्य उद्देश्यसहित मेला आयोजना गरिएको बताउँदै अध्यक्ष ज्ञवालीले मेलामा देशभरका महिला उद्यमीले उत्पादन गरेका कृषिजन्य वस्तु, हस्तकलाका सामग्री, खाद्य सामग्री, सेवामूलक वस्तु तथा सेवाको प्रवर्द्धन तथा बिक्री वितरण हुने जानकारी दिइन्।
उद्घाटन कार्यक्रममा वरिष्ठ समाजसेवी अनुराधा कोइरालालगायतलाई प्रधानमन्त्री ओलीले सम्मान गरेका थिए।

यो भेलामार्फत उद्यमी महासंघले आफ्ना देशैभर रहेका सदस्यहरूलाई लोगो वितरणको सुरुवात गर्नेछ। आगामी दिनमा महासंघ आबद्ध उद्यमी महिलाहरूको पहिचानका लागि सहज होस र उनीहरूको उत्पादनलाई प्रवर्द्धन र प्रोत्साहन गर्न सजिलो होस् भन्ने उद्देश्यले लोगो प्रदान गर्नेक्रमको सुरुवात गरिएको महासंघ अध्यक्ष ज्ञवालीको भनाइ छ।

मेलामा वातावरणमैत्री, हस्तकला, कृषि, व्यापार तथा सेवा, खाद्य, अन्तर्राष्ट्रिय गरी ६ प्रकारका स्टलहरू रहने छन्। जम्मा एक सय ४४ वटा बिक्री स्टल, दुई वटा ‘प्याभिलियन’ रहने र ८२ वटा स्टल स्वदेशी तथा विदेशी महिला उद्यमीलाई उपलब्ध गराइएको ज्ञवालीले बताइन्। करिब ६० हजार उपभोक्ता तथा अवलोकनकर्ताले मेला अवलोकन गर्ने महासङ्घले अनुमान गरेको छ।




प्रकाशित: १४ चैत्र २०८१ १४:०२ बिहीबार