१३ चैत्र २०८१ बुधबार
image/svg+xml २३:५१ अपराह्न
अर्थ

कुलेखानीका तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालन, आवश्यक परे २४ घण्टा चलाइने

मकवानपुरस्थित कुलेखानी जलविद्युत् केन्द्रका तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालनमा आएका छन्। सुक्खायाम सुरु भएकाले प्रथम, दोस्रो र तेस्रो युनिट सञ्चालनमा ल्याइएको हो।

कुलेखानी प्रथमले ६० मेगावाट, दोस्रोले ३२ मेगावाट र तेस्रोले १४ मेगावाट विद्युत् उत्पादन गरिरहेको छ। ‘आवश्यकताअनुसार अहिले दैनिक १४ देखि १८ घण्टा पूर्ण क्षमतामा सञ्चालन भइरहेको छ,’ कुलेखानी प्रथमका प्रमुख तारादत्त भट्टले भने, ‘चैत ३ गतेदेखि तीनवटै युनिट पूर्ण क्षमतामा चलिरहेका छन्।’ आवश्यकतानुसार विद्युत् उत्पादन भइरहेको उनको भनाइ छ। 

रनअफ रिभर आयोजनाको सुक्खायाममा उत्पादन घटेपछि विद्युत् भार व्यवस्थापनका लागि कुलेखानीका युनिट सञ्चालनमा ल्याइएको सहायक इन्जिनियर रामकुमार बुढाथोकीले बताए। ‘वर्षातमा रनअफ रिभर आयोजना पूर्ण रूपमा चल्छन्, त्यतिबेला हामी ड्याममा पानी सञ्चित गर्छौं,’ उनले भने, ‘सुक्खायाममा ती आयोजनाको उत्पादन घट्छ, तब कुलेखानी सञ्चालन हुन्छ।’

‘विद्युत् भार व्यवस्थापन केन्द्रको आवश्यकताअनुसार हामी पूर्ण क्षमतामा चलाउँछौँ,’ बुढाथोकीले भने, ‘अहिले दैनिक १४ देखि १८ घण्टा उत्पादन गरिरहेका छौँ, आवश्यक परे चौबीसै घण्टा चलाउँछौँ।’

चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि फागुनसम्म कुलेखानी प्रथमले ८१ हजार २०९ मेगावाट विद्युत् उत्पादन गरेको छ। गत आव २०८०/८१ मा ३४ हजार ३८८ मेगावाट मात्र उत्पादन भएको थियो। रासस

प्रकाशित: ११ चैत्र २०८१ १०:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App