३ चैत्र २०८१ आइतबार
image/svg+xml २२:५८ अपराह्न
अर्थ

मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो

आँबुखैरेनी गाउँपालिका–४ स्थित ६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट क्षमताभन्दा आधा मात्र विद्युत् उत्पादन हुन थालेको छ। नदीमा पानीको बहाव कम हुँदा क्षमताभन्दा आधा विद्युत् उत्पादन भएको हो। 

केन्द्रबाट हाल औसतमा ३४ मेगावाट विद्युत् उत्पादन भइरहेको मर्स्याङ्दी जलविद्युत् केन्द्रका सहायक प्रबन्धक मेकानिकल इन्जिनियर शेरमहमद हुसेनले बताए। उनले भने, 'हिउँ पग्लिएको छैन। मर्स्याङ्दीमा पानीको बहाव कम छ। पुसबाट विद्युत् उत्पादन घट्न थालेको छ। हिउँ पग्लिन थालेपछि बहाव बढ्दै जान्छ।'

उक्त परियोजनामा २३–२३ मेगावाटका तीनवटा टर्बाइन रहेका छन्। केन्द्रका अनुसार साँझ र बिहानको ‘पिकआवर’मा भने पूर्ण क्षमतामा ६९ मेगावाट नै विद्युत् उत्पादन हुने गरेको छ। 'साँझ र बिहान बिजुलीको माग धेरै हुने भएकाले नदीको पानी दिउँसो रिजर्भ ट्याङ्कमा जम्मा गरेर छोड्ने गरिएको छ,' सहायक प्रबन्धक हुसेनले बताए। 

मर्स्याङ्दी आयोजना सन् १९८९ मा निर्माण सम्पन्न भएको हो। सो केन्द्रबाट उत्पादित विद्युत् चितवनको भरतपुर र काठमाडौँको स्युचाटार स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडी वितरण हुँदै आएको छ। रासस

प्रकाशित: ३ चैत्र २०८१ ०६:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App