पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चैत ५ गते पोखरा–छेन्दु चार्टर उडान हुने भएको छ । पोखरा पर्यटन परिषद्को पहलमा आगामी चैत ५ गते पोखराबाट मित्रराष्ट्र चीनको छेन्दुसम्म पहिलो व्यवसायिक उडान हुन लागेको बुधबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । सो दिन बिहान १० बजे १२७ जना चिनियाँ यात्रु लिएर आएको सिचुवान एयरलाइन्सको विमान पोखरा विमानस्थल अवतरण हुनेछ । सोही विमानबाट दिउँसो १२ बजे १२७ जना पोखराबाट पर्यटन व्यवसायीको टोली छेन्दु प्रस्थान गर्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले जानकारी दिए ।
यसअघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चार वटा अन्तर्राष्ट्रिय चार्टर फ्लाइट भइसकेको छ । तर अन्य देशबाट पोखरामा चार्टर फ्लाइट भएपनि पोखराबाट भने पहिलो अन्तर्राष्ट्रिय चार्टर फ्लाइट हुन लागेको हो ।
यो चार्टर फ्लाइटबाट नियमित अन्तर्राष्ट्रिय फ्लाइटको लागि ढोका खुल्ने विश्वास गरिएको छ । व्यवसायीले पनि विश्वका जुनसुकै विमानस्थलबाट नियमित फ्लाइट हुनुअघि पहिलो फ्लाइट चार्टर फ्लाइटबाटै सुरुवात भएकाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि पनि यो फ्लाइट नियमित चार्टर फ्लाइटका लागि कोशेढुंगा साबित हुने विश्वास व्यक्त गरेका छन् ।
चैत ५ गते सुरु हुने चार्टर फ्लाइटपछि हरेक हप्ता पोखरा–छेङ्दु नियमित फ्लाइट हुने जनाइएको छ । त्यसको प्रयास स्वरूप हालसम्म १० हप्ताका लागि १० वटा चार्टर फ्लाइटको सम्झौता भइसकेको पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्यले जानकारी दिए । उनका अनुसार पहिलो चार्टर फ्लाइट व्यवसायीहरूको हुनेछ । जसमा पोखराका पर्यटनसँग सम्बद्ध व्यवसायीहरू सहभागी हुनेछन् ।
व्यवसायीको फ्लाइट भनिए पनि सो फ्लाइटमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख मणीराज तिमिल्सिना, पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराई, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी लगायत सहभागी हुने जनाइएको छ ।
पहिलो फ्लाइट भएको एक हप्तापछि दोश्रो फ्लाइटमा पोखराका लब्ध प्रतिष्ठित व्यक्तिहरूसँग पत्रकारहरूको टोली छेङ्दु जानेछन् भने त्यसपछिको हप्तामा हुने तेस्रो फ्लाइटमा सामाजिक अभियन्ता तथा नागरिक अगुवाहरू जाने तयारी गरिएको पोखरा पर्यटन परिषद्ले जनाएको छ।
नियमित चार्टर फ्लाइटका लागि चीनस्थित चाइना ट्राभल्स इन्टरनेसनल छेन्दु र नेपालस्थित चाइनिज ओभरसिज एसोसिएसनले समन्वय गरिरहेको परिषद्का अध्यक्ष पहारीले बताए । उनका अनुसार आगामी तीन महिना भित्रमा चीनको सिचुवानबाट एक हजार २५० जना भन्दा बढी चिनिया पर्यटकलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराउने प्रयास भइरहेको छ । यो प्रयास चिनिया दूतावासको सहयोगमा भइरहेको उनले बताए ।
व्यवसायीक चार्टर उडानबाट सुरु भएको यो अभियान व्यावसायिक उडानमा परिणत हुने विश्वास पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने,‘अब व्यवसायीक उडान हुनुपर्छ । त्यसका लागि धेरै ढिला भइसक्यो । अब हुने चार्टर फ्लाइटले त्यसको ढोका खोल्नेछ ।’ उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल फूलफ्लेजमा सञ्चालनका लागि तयारी अवस्थामा रहेको बताए । उनले चीनबाहेक भारतलगायतका देशमापनि सिधा हवाई सम्पर्कका लागि पहल भइरहेकोसमेत उल्लेख गरे ।
नेपालस्थित चिनिया राजदूतावासका डिसिएम वाङ सिनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान गराउनका लागि चीन तयार रहेको बताए । त्यसका लागि वातावरण बनाउनुपर्ने भन्दै उनले भने,‘यसले पोखरासहित समग्र नेपालको पर्यटनमा महत्त्वपूर्ण भूमिका खेल्नेछ । साथै आर्थिक चलायमान गराउन पनि भूमिका खेल्नेछ ।’ जसले गर्दा नेपाल र चीनबिचको सम्बन्ध पनि मजबुत बन्ने उनको विश्वास छ ।
पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराईले चार्टर फ्लाइट नियमित व्यवसायीक उडानका लागि लगानी भएको बताए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेसनल हो कि ईन्टरनेसन ? भनेर बारम्बार प्रश्न उठ्ने गरेको छ,उनले भने,‘यो चार्टर फ्लाइटले त्यसको जवाफ दिनेछ ।’ उनले नियमित व्यवसायीक उडानका लागि प्रधानमन्त्री स्तरबाट कूटनीतिक पहल गर्न जरुरी रहेकोसमेत बताए ।
नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख मणीराज लामिछानेले चैत ५ गते हुने चार्टर फ्लाइट अन्तर्राष्ट्रिय उडानको सुरुवात भएको बताए । उनले भने,‘यो स्टार्टिङ चार्टर फ्लाइट हो । पछि यसले व्यवसायीक फ्लाइटको रूप लिन्छ ।’
प्रकाशित: २८ फाल्गुन २०८१ १८:३८ बुधबार