३ वैशाख २०८२ बुधबार
image/svg+xml २०:४३ अपराह्न
अर्थ

स्वघोषणामा पनि भन्सार जाँचपास गर्ने तयारी

अब स्वघोषणामा पनि भन्सार जाँचपास गर्ने तयारी गरिएको छ।

भन्सार कार्यालयमा रहेका भन्सार अधिकारीहरुले आयातकर्ताको स्वघोषणामा वस्तु जाँचपास समेत गर्ने गरी कानूनी प्रवन्ध मिलाउने तयारी गरिएको हो। प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिमा शुक्रबार भन्सार विधेयकमाथि भएको दफाबार छलफलबाट यसबारे निर्णय लिइएको हो।

यो दुवै सदनबाट अनुमोदन भएपछि कानून बन्ने प्रक्रियामा जानेछ। समितिको बैठकमा राजश्व सचिव दिनेश घिमिरेले अब तीन/चार किसिमले वस्तु जाँचपासको व्यवस्था गरिने बताए। उनका अनुसार वस्तु र कागजात दुई वटै जाँच नगरी सम्बन्धित आयातकर्ता घोषणा गरेमा आयातकर्ताले राजश्व तिरेर समान ल्याउनसक्ने व्यवस्था गर्न लागिएको बताए।  

वस्तु जाँच नगर्ने कागजात मात्रै हेरेर जाँचपास गर्ने, वस्तु र त्यससँग सम्बन्धित कागजात जाँचपास नगरी पछि परीक्षण गर्नेगरी घोषणाका आधारमा जाँचपास गर्ने, सम्पूर्ण वस्तु र तत्सम्बन्धि कागजात हेरेर जाँचपास गर्ने जस्ता व्यवस्था गर्न लागिएको छ।  

कुनै वस्तु जाँच गर्दा भन्सार  अधिकृतले आवश्यक देखेमा त्यस्तो वस्तु जाँच गर्ने समयमा घोषणाकर्तालाई उपस्थित हुन आदेश दिन सक्नेछ। घोषणाकर्ताले आफूले निकासी गरेको वस्तु आफ्नो उपस्थितिमा जाँच गराउन चाहेमा सोको जानकारी भन्सार अधिकृतलाई दिनुपर्नेछ। त्यसरी जानकारी दिएकोमा भन्सार अधिकृतले तोकेको समयमा निज उपस्थित नभएपनि त्यस्तो वस्तुको जाँच गर्न सकिनेछ। यो व्यवस्थालाई अर्थसमितिले अनुमोदन गरिसकेको छ।  

दफावार छलफलमा भन्सार विभागका महानिर्देशक महेश भट्टराईले भन्सार जाँचपासका लागि कसैले स्वघोषणा गर्यो तर मार्ग परिवर्तन गर्न अनुरोध गरेकै आधारमा परिवर्तन गर्न नसकिने बताए।

दफावार छलफलमा सांसद्हरुले परिक्षण ल्याबहरू बिग्रिएपछि कामै नहुने भएकोले अरू प्रबन्ध अनिवार्य गर्नुपर्ने बताएका थिए।

प्रकाशित: २४ फाल्गुन २०८१ १३:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App