चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँच पासका लागि तातोपानी नाकाबाट सवारी साधन आउन सुरु गरेको छ। यही फागुन १५ गतेदेखि तातोपानी नाकाबाट चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँच पासका लागि मालवाहक सवारी साधनहरू आउन सुरु गरेको हो।
यसअघि २०७८ चैत्र २२ गतेदेखि सञ्चालनमा आएको चोभार सुक्खा बन्दरगाहमा हालसम्म दक्षिणी नाका (वीरगञ्ज) बाट मात्र कन्टेनराइज्ड कार्गो र नयाँ सवारी साधनहरू भन्सार जाँच पासका लागि आउने गरेका थिए। फागुन १५ गतेको भेक-क्रिग-कालिका जोइन्ट भेन्चर कम्पनीले आयात गरेको हाइड्रोपावरको सामान बोकेको ४ वटा कन्टेनरहरू पहिलो पटक तातोपानी नाकाबाट भन्सार जाँचपासका लागि सिधै चोभार सुक्खा बन्दरगाह आइपुगेको हो।
अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी तातोपानी र रसुवा भन्सार कार्यालयबाट आन्तरिक परिवहन गरी चोभारस्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयमा भन्सार जाँचपासका लागि सामान ल्याउन चाहने पैठारीकर्ताको लागि सडक मार्ग तोकेको थियो। यसअघि दक्षिणी नाकाहरू वीरगञ्ज, विराटनगर, काँकडभिट्टा र भैरहवा भन्सार कार्यालयबाट मात्र चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँचपासको लागि सामान ल्याउन पाउने व्यवस्था थियो।
तातोपानी नाकाबाट समेत भन्सार जाँचपासको लागि कन्टेनराइज्ड मालवस्तु आउन थालेपछि चोभार सुक्खा बन्दरगाहमा थप चहलपहल बढ्न थालेको र उक्त सुक्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालनमा ल्याउनको लागि थप टेवा पुग्ने नेपाल इन्टरमोडल यातायात विकास समितका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए। पर्याप्त भौतिक पूर्वाधार, न्यूनतम सेवा शुल्क लगायत स्तरीय सेवा प्राप्त हुने भएकोले आगामी दिनमा आयात निर्यातकर्ताहरूले नियमित रूपमा मालवाहक सवारी चोभार आउने जानकारी समेत कार्यकारी निर्देशकले बताए।
त्यसैगरी आगामी दिनमा रसुवा नाकाबाट पनि भन्सार जाँचपास गर्न सवारी साधन तथा कन्टेनर आउने वातावरण बनेको छ। काठमाडौँमा आयात हुने सामान र काठमाडौँ वरिपरिबाट निर्यात गर्न चोभार सुक्खा बन्दरगाहबाट स्तरीय सेवा दिइने हुँदा यस बन्दरगाहको अधिकतम प्रयोग गर्न व्यवसायीहरूलाई कार्यकारी निर्देशक आशिष गजुरेलले जोड दिए।
प्रकाशित: १९ फाल्गुन २०८१ १२:५९ सोमबार





