२६ चैत्र २०८१ मंगलबार
image/svg+xml २०:३३ अपराह्न
अर्थ

बागलुङमा आइएमई समूहको ३० करोड लगानीमा इला कम्फर्ट होटल सञ्चालन

होटल इला कम्फर्टको उद्घाटन गर्दै पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे। तस्बिर: संगम/नागरिक

आइएमई ग्रुपको करिब ३० करोड लगानीमा बागलुङमा सुविधा सम्पन्न होटल इला कम्फर्ट सञ्चालनमा ल्याएको छ।

शनिबार नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले होटल उद्घाटन गरे। आइएमई ग्रुप अध्यक्ष चन्द्र ढकालले आफ्नो गृह जिल्लामा आमाका लागि घर खोजी गर्ने क्रममा होटलमा लगानी गर्न पुगेको बताए।

 ‘मैले उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दर्ता गर्ने क्रममा सबै परिवार यहाँ बागलुङमा आएका थियौं,’ ढकालले भने, ‘त्यो बेलामा होटल रेड एप्पलमा पर्याप्त कोठा नभएपछि हामी परिवारका सदस्यहरू पनि सबै एउटै होटलमा बस्न पाएनौं। त्यतिबेला आमाले भन्नुयो, ‘यहाँ हाम्रो आफ्नै घर भएको भए सबै एकै ठाउँ बस्न पाइन्थ्यो नि ! त्यसपछि आमाको लागि घर बनाउने ठाउँ खोज्दै जाँदा यहाँ होटल बन्ने वातावरण बन्यो।’

बागलुङ बजारको झन्डै तीन रोपनी क्षेत्रफलमा फैलिएको उक्त थ्रीस्टार होटल सरहको भौतिक पूर्वाधारबाट पाँचतारे होटल बराबरको सुविधा उपलब्ध गराउने उनले बताए। ‘यो ठाउँ प्राविधिक शिक्षाका लागि भनेर लिइएको थियो, मापदण्डअनुसार जग्गा अपुग भएपछि हामीले यहाँ होटल बनाएका छौं’, उनी भन्छन्, ‘यहाँ केही हुँदैन भन्ने निराशा चिर्नका लागि हामी काम गर्न खोजिरहेका छौं।’

होटलमा न्यूनतम ६ हजारदेखि २५ हजार रूपैयाँ पर्नेसम्मका ३० वटा कोठा रहेको बताइएको छ। होटल इला ढकालका आफ्नै छोरा सचिन ढकालले सञ्चालन गर्ने जिम्मा पाएका छन्।

‘आफ्नो जन्मठाउँमा केही गर्नुपर्छ भनेर हामीले होटल इला कम्फर्ट सञ्चालनमा ल्याएका छौं,’ होटलका अध्यक्षसमेत रहेका सचिनले भने, ‘पर्यटनका लागि यो क्षेत्र निकै सम्भावनायुक्त छ। त्यसकारण पनि हामीले यसमा लगानी गरेका छौं।’

होटलको शुभारम्भ गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले निजी क्षेत्रको सहयोगले नेपालको पर्यटन विकास सम्भव भएको बताए। ‘सबै क्षेत्रमा सरकारले लगानी गरेर सक्दैन, सकारले वातावरण सिर्जना गर्ने र निजी क्षेत्रले लगानी गरेर नै देश विकास हुने हो,’ मन्त्री पाण्डेले भने, ‘देशको पर्यटन विकासका लागि निजी क्षेत्रको योगदान अतुलनीय छ।’

‘सातवटै प्रदेशमा सातैवटा सुविधा सम्पन्न होटल सञ्चालन गर्ने हाम्रो योजना अनुसार अगाडि बढेका छौं, बागलुङ यो मेरो गृह जिल्ला पनि हो अहिले हामीले गरेको सानो लगानी हो,’ अध्यक्ष ढकालले भने, ‘केही दिन अगाडि आएको अध्यादेशले केही राम्रो संकेत मिलेको छ ।’ उद्योग वाणिज्य महासंघले पब्लिक कम्पनी स्थापना गरेर लगानी गर्ने काममा अगाडि बढेको पनि उनले जानकारी गराए।

होटल उद्घाटनको क्रममा प्रतिनिधिसभा सदस्य दिपक गिरी, जीवन परियार, गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले सुविधा सम्पन्न होटल सञ्चालन हुँदा यहाँको पर्यटन क्षेत्रमा ठुलो योगदान पुग्ने बताए। होटल इला कम्फर्ट सञ्चालनमा आएसँगै बागलुङमा अन्य व्यवसायीलाई पनि लगानी गर्नका लागि विश्वास बढेको बागलुङ नगरप्रमुख वसन्तकुमार श्रेष्ठ बताए।

सुविधा सम्पन्न होटल खोज्दै रातारात पोखरा फर्किने पर्यटकलाई बागलुङमै राख्नका लागि महत्त्वपूर्ण योगदान हुने उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष नरेश कँडेलको भनाइ छ।

पोखरादेखि ७२ किलोमिटरको दूरीमा रहेको बागलुङमा धार्मिक तथा पर्यटकीय स्थलको रूपमा बागलुङ कालिका, पञ्चकोट, शालग्राम संग्रहालय, नेपालकै लामो झोलुङ्गे पुल, भैरवस्थानलगायतका ठाउँ छन्। पछिल्लो समय एक दर्जन हाराहारीमा सुविधा सम्पन्न होटल सञ्चालनमा रहेको बागलुङमा तारे होटलसरहको सेवा सुविधा उपलब्ध गराउने इला कम्फर्ट पहिलो हो।  

प्रकाशित: २१ माघ २०८१ १०:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App