सन् २०२५ को पहिलो महिना जनवरीमा विदेशी पाहुनाको आगमनमा सामान्य मात्र सुधार देखिएको छ। सन् २०२४ को जनवरीको तुलनामा यो पटक विदेशी पर्यटकको आगमनमा १ प्रतिशत मात्र वृद्धि देखिएको पर्यटन बोर्डले बताएको छ।
पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार सन् २०२५ को जनवरीमा हवाई माध्यमबाट नेपाल भित्रिने विदेशी पाहुनाको संख्या ७९ हजार ९ सय ९१ रहेको छ। अघिल्लो वर्ष यो महिनाको आगमन ७९ हजार १ सय रहेको थियो। ‘२०२४ को तुलनामा २०२५ को जनवरीमा विदेशी पर्यटकको आगमनमा सामान्य आकारमा मात्र वृद्धि भएको हो। आकारको हिसाबले यो ठूलो नभएपनि यसले पर्यटन क्षेत्रमा केही सकारात्मक अर्थ राख्छ। किनकी वर्षको पहिलो महिनाको आगमनमा वृद्धि देखिएको छ,’ उनले भने।
नेपालमा सबैभन्दा बढी विदेशी पाहुना भित्रिएको वर्ष २०१९ को जनवरीमा भने नेपालमा जम्मा ८१ हजार २ सय ७३ जना विदेशी पाहुना भित्रिएका थिए। २०१९ को जनवरीको तुलनामा यो पटकको आगमन १.६ प्रतिशत मात्र कम रहेको उनले बताए। ‘कोरोना भाइरस संक्रमण अघिको आगमनको करिब करिब नजिक पुगेको छ। यसले पर्यटन क्षेत्रमा यो वर्ष अझै सुधार हुने अपेक्षा छ,’ उनले भने।
उनका अनुसार यो जनवरीमा सार्क मुलुकका पर्यटकको आगमनमा भने केही कमी आएको छ। सन् २०२४ को जनवरीमा ३० हजार ८ सय २० जना पाहुना सार्क मुलुकका थिए। तर यो पटक केही घटेर २९ हजार ४ सय ७८ जना पाहुना सार्क मुलुकबाट भित्रिएका छन्। सन् २०१९ मा भने यो संख्या २१ हजार ३ सय रहेको थियो। ‘पछिल्ला केही महिनामा नेपालमा भएका प्राकृतिक प्रकोप लगाएको प्रभावले सार्क मुलुकका पाहुनालाई सहज नभएको हो,’ उनले भने।
त्यस्तै एशियाली मुलुकको आगमन पनि केही कमजोर देखिएको छ। सन् २०२४ को जनवरीमा नेपालमा २१ हजार ७१ जना एशियाली मुलुकका पाहुना भित्रिएका थिए। तर, त्यो आगमन यो जनवरीमा केही घटेर २० हजार ३ सय ९१ मा ओर्लेको छ। यही आगमन २०१९ को जनवरीमा भने ३१ हजार ६ सय २१ रहेको थियो। २०१९ को तुलनामा भने एशियाली मुलुकका पाहुनाको आगमन अझै कमजोर नै रहेको लामिछानेले बताए।
यूरोपियन मुलका पाहुनाको आगमनमा केही सुधार देखिएको छ। सन् २०२४ को जनवरीमा नेपालमा यूरोपियन मुलका पाहुनाको आगमन संख्या १० हजार रहेकोमा यो पटक १० हजार ३ सय ६७ पुगेको छ। सन् २०१९ को जनवरीमा यो संखया १२ हजार ५ सय १८ रहेको थियो। त्यस्तै ओशिनिया (अस्टे«लिया र न्यूजिल्याण्ड) मुलुका पाहुनाको आमनमा भने सुधार छ। लामिछानेका अनुसार ओशिनिया मुलका पाहुनाको आगमन २०२४ को जनवरीमा ३ हजार ६ सय ५७ रहेकोमा यो वर्षको जनवरीमा बढेर ४ हजार ५ सय ८१ मा उक्लेको छ।
‘चीनले नेपाल भ्रमण वर्ष २०२५ घोषणा गरेर नेपालमा यो वर्ष चिनियाँ पाहु्नाको संख्या बढाउने योजना बनाएको छ। त्यही अनुसार आगमनमा सुधार भएको हुनसक्छ,’ लामिछानेले भने, ‘आगामि महिनामा पनि चिनियाँ पाहुनाको आगमनमा सुधार हुने अपेक्षा छ।’
अमेरिकी मुलका पाहुनाको आगमनमा भने राम्रै सुधार भएको लामिछानेले बताए। उनका अनुसार सन् २०२४ को जनवरीमा नेपालमा ८ हजार ४ सय ५१ जना अमेरिकी मुलुका पाहुना भित्रिएकोमा यो जनवरीमा त्यो संख्या ९ हजार ६ सय ३७ पुगेको छ। सन २०१९ को जनवरीमा भने अमेरिकी पाहुनाको संख्या ८ हजार ३ सय ४३ रहेको थियो।
मध्यपूर्वका पाहुनाको आगमनमा भने खासै सुधार भएको छैन। नेपालमा यो जनवरीमा करिब १ प्रतिशत मात्र मध्यपूर्वका मुलुकका पाहुना भित्रिएका छन्। अघिल्लो जनवरीमा नेपालमा ६ सय ८८ जना विदेशी पाहुना मध्यपूर्वका रहेकोमा यो जनवरीमा त्यो संख्या ६ सय ८५ रहेको लामिछानेले जानकारी दिए।
त्यसैगरि अफ्रिकी मुलक पाहुनाको आगमन पनि तीन अंकभित्रै सीमित रहेको छ। अरु मुलुकका विदेशी पाहुनाको आगमनमा भने सन् २०२४ को जनवरीमा ४ हजार ८४ रहेकोमा यो वर्षको जनवरीमा ४ हजार ५ सय ५१ मा उक्लेको छ। यो संख्या सन् २०१९ मा भने २ हजार ७ सय ३१ रहेको थियो।
लामिछानेका अनुसार जनवरीमा नेपाल भित्रिएकामध्ये ३७ प्रतिशत हिस्सा सार्क मुलुकका पाहुनाले लिएका छन्। त्यस्तै एशियाका अरु मुलुकका पाहुनाको हिस्सा २५.५ प्रतिशत रहेको छ। १३ प्रतिशत पर्यटक यूरोपियन मुलुका छन्। ओशिनियाका पाहुनाको हिस्सा ५.७ प्रतिशत रहेको छ। १२ प्रतिशत हिस्सा भने अमेरिकी पाहुनाले लिएका छन्।
जनवरीमा भित्रिएका विदेशी पाहुना मध्ये सबैभन्दा बढी संख्या भारतीयको रहेको छ। यो महिना नेपाल भित्रिने भारतीय पाहुनाको संख्या २० हजार ४ सय ८५ रहेको छ। भारतीय पाहुनाले मात्र आगमनको २५.६ प्रतिशत हिस्सा ओगटेका छन्। दोश्रो नम्बरमा चिनियाँको आगमन रहेको छ। यो जनवरीमा नेपालमा ८ हजार १ सय ९१ जना चिनियाँ पाहुना आएका छन्।
‘चीनले नेपाल भ्रमण वर्ष २०२५ घोषणा गरेर नेपालमा यो वर्ष चिनियाँ पाहु्नाको संख्या बढाउने योजना बनाएको छ। त्यही अनुसार आगमनमा सुधार भएको हुनसक्छ,’ लामिछानेले भने, ‘आगामि महिनामा पनि चिनियाँ पाहुनाको आगमनमा सुधार हुने अपेक्षा छ।’
तेश्रो नम्बरमा भने अमेरिकी पाहुनाको संख्या ८ हजार ६३ रहेको छ। चौथो नम्बरमा बंगलादेशी पाहुनाको संख्या ५ हजार ४ सय ६ जना रहेका छन्। त्यस्तै पाँचौ नम्बरमा भने अस्टे«लियाका ४३ सय १ जना पाहुना नेपाल भित्रिएका छन्। ‘बीचमा केही समस्या थपियो। गत सेप्टेम्बरमा घटेका प्राकृतिक प्रकोपका घटना, त्यसअघिका हवाई र स्थलमार्गका दुर्घटना, त्यस्तै विमानस्थलको पहुँचमा समस्याका बाबजुत पनि यो महिना आगमन बढेकोमा पर्यटन क्षेत्रले सकारात्मक रुपमा लिनुपर्ने पनि लामिछानले बताए।
प्रकाशित: २० माघ २०८१ १७:५१ आइतबार