१० माघ २०८१ बिहीबार
image/svg+xml
अर्थ

उद्यम गर्न चाहनेलाई निर्ब्याजी ऋण

हलेसी तुवाचुङ नगरपालिकाका उद्यमी बन्न चाहने स्थानीयले बिनाब्याजको ऋण पाउने भएका छन्। कृषि, पशुपालन, होमस्टे (घरबास) सञ्चालनलगायतका लघुउद्यम गर्न चाहने स्थानीय नागरिकका लागि नगरपालिकाले रु पाँच लाखसम्मको बिनाब्याजको ऋण दिने व्यवस्था मिलाएको हो।

नगरपालिकाका स्थानीय उद्यमीलाई बिनाब्याजमा ऋण उपलब्ध गराउन नगरपालिकाले बुधबार प्रभु बैंक हलेसी शाखासँग सम्झौता गरेको छ। नगरपालिकाको सिफारिसको आधारमा बैंकले मूल्याङ्कन गरेर उद्यमी बन्न चाहने स्थानीय नागरिकलाई बिनाब्याजको ऋण दिने सम्झौतामा उल्लेख छ।

नगरपालिकाभित्र खोलिएका लघु उद्योगको प्रवर्द्धन गर्दै उद्यम गर्न चाहने स्थानीय नागरिकलाई आफ्नै ठाउँमा कृषि, पशुपालन, होमस्टेलगायत व्यवसाय सञ्चालन गरेर स्वरोजगार बन्ने वातावरण बनाइदिनका लागि नगरपालिकाले ब्याज अनुदान कार्यक्रम ल्याएको नगरप्रमुख विमला राईले बताइन्। 'उद्यम गर्न चाहने नागरिकका लागि लगानी अभाव नहोस् भनेर ब्याज अनुदान कार्यक्रम ल्याइएका छ। यसका लागि बैंकसँग सम्झौतासमेत गरिसकिएको छ,' उनले भनिन्, 'उद्यमीले बैंकबाट लिएको रु पाँच लाखसम्मको ऋणको ब्याज तीन वर्षसम्म नगरपालिकाले तिरिदिन्छ। यसले लगानी अभावमा उद्यमी बन्न नपाएका नागरिकलाई सहज हुने अपेक्षा गरेछौँ।'

उद्यम गर्न चाहने स्थानीय नागरिकले बिनाब्याजको ऋण लिनका लागि सम्बन्धित वडा कार्यालयमा निवेदन दिनुपर्ने नगरपालिकाले बनाएका कार्यविधिमा उल्लेख छ। वडा–वडामा सङ्कलन भएको निवेदनलाई समेटेर नगरपालिकाले बैंकलाई सिफारिस गरेपछि उद्यम गर्न चाहने नागरिकले ऋण पाउने हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रवक्ता एवं वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए।

लगानी अभावमा उद्यम गर्न नसकिरहेका स्थानीय नागरिक नगरपालिकाकै सिफारिसको आधारमा बिनाब्याज ऋण पाउने भएपछि उत्साहित भएका छन्। नगरपालिकाले गरेको सिफारिसअनुसार निवेदकको धितो मूल्याङ्कन गरेर बैंकले ऋण प्रदान गर्ने प्रभु बैंक हलेसी शाखाका प्रमुख तीर्थराज विष्टले बताए।

यसैबीच, एघार वडा रहेको उक्त नगरपालिकाले पाँच मुरीभन्दा बढी बदाम फलाउने किसानलाई प्रोत्साहनबापतको रकम वितरण सुरु गरेको छ। रासस

प्रकाशित: १० माघ २०८१ ०९:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App