संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले युरोपेली आकाशमा नेपाल एयरलाइन्समाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न आग्रह गरेका छन् ।
शुक्रबार इयूका राजदूत भेरोनिक लोरेन्जोसहितको प्रतिनिधि मण्डलसँग मन्त्रालयमा भएको भेटघाटका क्रममा मन्त्री पाण्डेले उक्त आग्रह गरेका हुन्। मन्त्री पाण्डेले नेपाल र युरोपेली युनियनबीच निकै पहिलेदेखि कुटनैतिक सम्बन्ध रहेको स्मरण गर्दै नेपाल र इयूबीच साझेदारी रहेको समेत उल्लेख गरे।
उनले भने, ‘नेपाल र इयूबीच सन् करिब पाँच दशक अघि कूटनीति सम्बन्ध स्थापना भएदेखि नै घनिष्ट कुटनैतिक सम्बन्ध रहेको छ। ईयू नेपालको प्रमुख विकास साझेदार हो। हामी हाम्रा सामाजिक, आर्थिक विकास प्रयासमा इयूको निरन्तर सहयोग प्रति कृतज्ञ छौं।’
उनले इयूको आकाशमा नेपाली एयरलाएन्समाथि लगाइएको प्रतिबन्ध चाडैं फुकुवा गरेर सहयोग गरिदिन समेत अनुरोध समेत गरेका छन्। भेटमा राजदूत भेरोनिक लोरेन्जोले इयूको लगाएको हवाई प्रतिबन्धले नेपाली पर्यटनका क्षेत्रमा परेको असरको बारेमा जानकार रहेको उल्लेख गर्दे नेपालले प्राविधिक रुपमा सक्षम बन्नु पर्नेमा जोड दिइन्।
उनले फ्रान्सको एयरबस कम्पनीले नेपाली नागरिक उड्डयन क्षेत्रमा कुनै पनि प्रकारको सहयोग गर्न तत्पर रहेको समेत स्पष्ट गरेकी छिन्। राजदूत लोरेन्जोले नेपालको हवाई दुर्घटनाबारे बनेको उच्चस्तरीय छानविन समितिबारे समेत उच्च सोच का साथ हेरिरहेको पनि उल्लेख गरिन्।
प्रकाशित: ४ माघ २०८१ १७:४३ शुक्रबार