पहिलो पटक आयोजना गरिएको खो खो विश्वकप प्रतियोगितामा नेपालको पुरुष टोली उपविजेता बनेको छ। नेपाल फाइनलमा भारतसँग पराजित भएको हो।
भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा केहीबेर अघि सम्पन्न फाइनल खेलमा नेपाल आयोजक भारतसँग ५४–३६ अङ्कले पराजित भएको हो।
यसअघि आजै भएको महिलातर्फको फाइनल खेलमा पनि नेपाल भारतसँग नै ७८–४० अङ्कले पराजित भएको थियो।
पुरुषतर्फ नेपाल समूह ‘ए’ को उपविजेता बन्दै क्वाटरफाइनल प्रवेश गरेको थियो। नेपाल पहिलो खेलमा भारतसँग ४२–३७ अङ्कले पराजित भएको थियो।
दोस्रो खेलमा नेपालले पेरूलाई ८०–३४ अङ्कले, तेस्रो खेलमा ब्राजिललाई १३४–८ अङ्कले तथा चौथो खेलमा भुटानलाई ९८–८ अङ्कले हराएको थियो।
नेपालले क्वाटरफाइनलमा बङ्गलादेशलाई ६७–१८ अङ्कले तथा सेमिफाइनलमा इरानलाई ७२–२० अङ्कले पराजित गरेको थियो।
प्रकाशित: ६ माघ २०८१ २२:११ आइतबार