२८ पुस २०८१ आइतबार
image/svg+xml
अर्थ

पोखराको प्याराग्लाइडिङ: पुरानै अवस्थामा फर्काउने आश्वासन

‘सोलो’ उडान पनि खुलाउने तयारी

पोखराको आकाशमा भईरहेको प्याराग्लाइडिङ उडान। फाइल तस्बिरः नागरिक

दुईवर्ष भन्दा बढी समयदेखि रोकिएको प्याराग्लाइडिङको एकल (सोलो) उडानलाई खुलाउने र प्याराग्लाइडिङको नियमित उडानलाई थप सहजता तुल्याइदिने नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)बाट आश्वासन पाएको भन्दै पर्यटन क्षेत्रले खुसी व्यक्त गरेको छ। व्यावसायीका अनुसार पोखराको प्याराग्लाइडिङ विश्वकै उत्कृष्ट पाँचौमा पर्छ। तर, पछिल्लो केही समयदेखि पोखराको प्यााराग्लाइडिङको उडान ओझेलमा परेको छ।  

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउने तयारीसँगै पोखराको सराङकोटबाट भईरहेको प्याराग्लाइडिङको उडान केही दूरी परको मान्द्रेढुंगा सरेको थियो। त्यत्ति नै बेला प्याराग्लाइडिङको सोलो उडान पनि बन्द गरिएको थियो। तर, केही समयपछि प्याराग्लाइडिङ उडानलाई सराङकोट नजिकैको तोरीपानी सारिएपनि सोलो उडान भने खुलेको थिएन। सराङकोटबाट तोरीपानी हुँदै मान्द्रेढुंगा पुगिन्छ। सराङकोट, तोरीपानी र मान्द्रेढुंगा एकै रेन्जका पहाडी भेग हुन्।  

अन्तर्राष्ट्रिय विमानस्थलका कारण सराङकोटबाट बिस्थापित भएर मान्द्रेढुंगा सरेको भएपनि पछि तोरीपानी ल्याइएको थियो। तर, व्यावसायीले तोरीपानीबाट पनि सारेर सराङकोट नै ल्याउने चाहना राख्दै आएका थिए। त्यस्तै एकल उडानलाई पनि खुलाउनुपर्ने व्यावसायीले माग गर्दैै आएका थिए। दुइवर्षदेखि व्यावसायीले राख्दै आएको मागबारे प्राधिकरण सकारात्मक रहेको व्यावसायीको भनाई छ।  

प्याराग्लाइडिङ व्यावसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना)का निवर्तमान अध्यक्ष कृष्ण भण्डारीका अनुसार प्राधिकरणका महाननिर्देशक प्रदीप अधिकारीले व्यावसायीसँगको छलफलको क्रममा प्याराग्लाइडिङका सोलो उडानलाई खुलाउने र तोरीपानीबाट भईरहेको उडानलाई पनि व्यवस्थित गरिदिने भनेर आश्वासन दिएका छन्।  

‘प्राधिकरणका महानिर्देशकले सोलो उडान खुलाउने र तोरीपानीको उडानलाई पनि व्यवस्थित गर्ने भनेर हामीलाई भन्नुभएको छ,’ भण्डारीले भने, ‘प्राधिकरणका प्रमुखले नै आश्वासन दिएपनि हामी आशावादी बनेका छौ। अबको केही समयभित्र प्याराग्लाइडिङको सोलो उडान खुल्नेछ भने सराङकोटबाट उड्न पाउने गरि व्यवस्थापन हुने अपेक्षा छ।’  

पोखराको प्याराग्लाइडिङलाई पुरानै अवस्थामा फर्काउने प्रयास भईरहेको भनेर महानिर्देशकबाट आश्वासन पाएपछि प्याराग्लाइडिङ व्यावसायी खुसी भएको उनले बताए। ‘सराङकोटको उडान तोरीपानी सर्नु र सोलो उडान रोकिँदा प्याराग्लाइडिङ क्षेत्र निकै नै कमजोर बनेको छ । पहिचान नै हराउने अवस्था आएको छ, तर, अब केही होला भन्नेमा आशावादी छौ,’ उनले भने, ‘प्राधिकरणले प्याराग्लाइडिङलाई पुरानै अवस्थामा फर्काउनु भनेको तोरीपानीबाट भईरहेको उडान सराङकोट सर्नु हो भनेर हामीले बुझेका छौं।’

पोखराको प्याराग्लाइडिङ उडानको पुरानो ठाउँ सराङकोट हो। अवतरण भने सेदी–खपौदीमा हुने गरेको थियो। अहिले तोरीपानीबाट टेकअफ र ल्याण्डिङ पामेमा भईरहेको छ। भण्डारीका अनुसार सराङकोटबाट उडान हुँदा दिनमा पाँचसय हाराहारीमा उड्ने पाहुँना हुन्थे। तर, अहिले एकसयको हाराहारीमा मात्र उडान हुन्छन। ‘सराङकोटबाट सरेपछि प्याराग्लाइडिङ व्यावसाय २० प्रतिशतमा खुम्चेको छ,’ उनले भने, ‘व्यावसायी र पाइलट विस्थापित हुने चिन्ता छ।’ पोखरामा प्याराग्लाइडिङका ५६ वटा कम्पनिले उडान संचालन गरिरहेका छन्।

त्यसबाहेक सोलो उडान नहुँदा खेलाडी विस्थापित भएका थिए भने नेपालबारे गलत सन्देश पनि प्रवाह भएको उनले बताए। ‘सोलो उडान खुलेमा खेलाडीले उड्न पाउँछन। पोखराको आकशमा प्याराग्लाइडिङका विभिन्न प्रतिश्पर्धा हुन पाउँछन्,’ उनले भने, ‘तर, ती सबै रोकिएका थिए । विश्वको उत्कृष्ट पाँचै गन्तव्यमा पर्ने पोखरामा उड्न चाहने एकल पाइलट नेपाल आउनै छाडेका थिए। उनीहरुको पनि आगमन बढ्छ।’ प्याराग्लाइडिङका एकल पाहुना लामो समय पोखरामा बस्ने र उनीहरु खर्चिला हुने भएकोले त्यसको लाभ पर्यटन क्षेत्रले लिएको भएपनि एकल उडान रोकिएसँगै आम्दानी गुमाएको उनले बताए।

‘नेपालमा एक्लै उड्न पाइँदैन भन्ने सन्देश अन्तर्राष्ट्रिय बजारमा पुगेको छ। एकमहिनासम्म बसोबास गर्ने सोलो पाइलट नआउँदा व्यावसायीले आम्दानी गुमाएका छन,’ उनले भने। त्यसबाहेक पोखराको आकाशमा भएका प्याराग्लाइडिङका प्रि वल्र्डकप र एशियन टुर जस्ता प्रतियोगिता पनि रोकिएका छन्।

 ‘प्राधिकरणले यत्ति नै समयमा सोलो उडान खुल्ने र पुरानै अवस्थामा फर्काउने भनेर दिन त तोकेको छैन। तर, हामीले गर्दै आएको माग बमोजिम सहजीकरण हुने अपेक्षा छ,’ उनले भने, ‘पैसा खर्च गर्छु भन्दा पनि प्रतिबन्ध लगाएका हौ। सिजनमा २–३ सय जना यस्ता पाइलट पोखरा आउने गरेका थिए। तर, अहिले उनीहरु आउँदैनन्।’  

नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष अनिल केसी पनि सराङकोटबाट बिस्थापित भएपछि प्याराग्लाइडिङको चार्मिङ निकै नै घटेको छ। ‘अहिले पोखराबाट प्याराग्लाइडिङ उडान गरेको देखिन्न। हिजोका दिनसम्म पोखरा सहरको सबैतिरबाट सराङकोटको आकाशमा प्याराग्लाइडिङ उडान गरेको दृश्य देखेरै पाहुना उड्न जान्थे। तर, अहिले गुमनाम जस्तै भएको छ,’ उनले भने, ‘पोखरामा कति पाहुना छन् भन्नेसम्मको अड्कल सराङकोटको आकाशमा उड्ने प्याराग्लाइडिङले देखाउँथ्यो। तर, अहिले कतै देखिन्न। फेवातालमा डुंगा सयर गर्दागर्दै सराङकोटको डाँडामा प्याराग्लाइडिङ उडान गरेको देखेर लोभिँदै उडन जाने पाहुना हुन्थे।’  

अध्यक्ष केसीका अनुसार प्याराग्लाइडिङलाई सराङकोट सारिदिएको खण्डमा पहिले तोकिएको उडान क्षेत्रलाई घटाएर भएपनि व्यवस्थित हुन व्यावसायी तयार छन्। ‘विमानस्थलका कारण समस्या आउने भएमा उडान क्षेत्र (बक्स) लाई घटाउन हामी मन्जुर छौ । नयाँ उडान क्षेत्र तोकेर त्यसभित्र रहेर व्यवस्थित र अनुशाशित तरिकाले उडान गर्न सकिन्छ,’ उनले भने, ‘त्यसैले सराङकोट नै सारिदिएको खण्डमा सबैभन्दा बढी उपयुक्त हुन्छ।’ व्यावसायीले सराङकोटको आकाशको पुरानो उडान क्षेत्रलाई घटाएर साँघुरो बनाएको खण्डमा पनि उडान गर्न सकिने भएकोले नयाँ उड्डयन क्षेत्रपनि आफुहरुका लागि स्वीकार्य रहेको उनले बताए।  

त्यस्तै सोलो उडानले गर्दा पर्यटन क्षेत्र प्रभावित भएको उनले बताए। ‘सोलो सिकेरै टेण्डम उडान गर्ने हो। टेण्डम उडान गर्दा दुइजना उड्न पाइन्छ। तर, सिक्नै नपाउने अवस्था रहेपछि नयाँ पाइलट आउने कुरै भएन,’ अध्यक्ष केसीले भने, ‘पुराना पाइलट बिस्थापित हुने र नयाँ आउन नपाउँदा प्याराग्लाइडिङ क्षेत्र धराशायी बन्दै गएको थियो। कम्पनि रुग्ण बन्दै गएका थिए। अब भने प्राधिकरणले पहिलेकै अवस्थामा फर्काउने आश्वासन दिएको छ।’ उनका अनुसार प्याराग्लाइडिङ उड्ने पर्याप्त पर्यटक नहुँदा अहिले बढीमा एकसय जना पाइलटले मात्र काम पाएका छन्। तीनसय पाइलट मध्ये अरु दुइसय बेरोजगार बनेका छन्।’  

प्रकाशित: २७ पुस २०८१ १७:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App