२६ पुस २०८१ शुक्रबार
image/svg+xml
अर्थ

बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य

बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य हुने भएको छ। नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन २०८० संशोधन तथा परिमार्जन गरी माघ एक गतेदेखि लागु हुने गरी बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य हुने व्यवस्था गरेको छ।

हरेक व्यक्तिका डेटालाई एकीकृत गर्न सरकारले राष्ट्रिय परिचय पत्रलाई हरेक क्षेत्रमा क्रमशः अनिवार्य गर्दै आएको अवस्थामा पछिल्लो पटक बैंकमा पनि अनिवार्य गर्न थालेको छ। राष्ट्र बैंकले नयाँ खाता खोल्न मात्र नभएर पुरानो खातालाई अद्यावधिक गर्न पनि राष्ट्रिय परिचय पत्रलाई प्रयोगमा ल्याउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको जनाएको छ।

 ‘बैंक तथा वित्तीय संस्थाले माघ एक गतेदेखि राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहुँचका आधारमा राष्ट्रिय परिचय पत्रको प्रतिलिपि लिएर मात्र खाता खोल्ने अनिवार्य व्यवस्था मिलाउनु पर्नेछ,’ राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशनमा भनिएको छ।

एकीकृत निर्देशन अनुसार ग्राहक पहिचान गर्दा वा ग्राहकको विवरण अद्यावधिक गर्दा राष्ट्रिय जोखिम मूल्यांकन र पारस्परिक मूल्यांकन प्रतिवेदन २०२३ ले औंल्याएका जोखिमयुक्त सम्बद्ध कसुर भ्रष्टाचार, कर छली, मानव बेचबिखन एवं अन्य जोखिमयुक्त सम्बद्ध कसुरहरू र क्यासिनो वा इन्टरनेट क्यासिनो व्यवसायी, बहुमूल्य धातु वा वस्तु व्यवसायी, घरजग्गा खरिद/बिक्री व्यवसायी, सहकारीहरूको खाता र आवद्ध व्यक्तिहरूको पहिचान एवम् निजहरूको कारोबारलाईसमेत प्राथमिकतामा राखी अनुगमन गर्नुपर्ने उल्लेख छ।

बैंक तथा वित्तीय संस्थाले आफ्नो ग्राहकको उच्चपदस्थका व्यक्ति वा नजिकको सम्बन्ध भए–नभएको एकिन गर्न ग्राहकबाट जानकारी लिनुपर्ने छ। त्यसैगरी, बैंक तथा वित्तीय संस्थाको खाता खोल्दा ग्राहकले उपलब्ध गराएको नम्बरको विवरण निज ग्राहककै रहे नरहेको, निहित जोखिमका आधारमा संस्थाले आवश्यक पहिचान पद्धति अवलम्बन गर्नुपर्ने व्यवस्था पनि गरिएको छ। नेपाल राष्ट्र बैंकले खाता वाहकलाई बैंक तथा वित्तीय संस्थाले दिने सेवामा जोडिने व्यक्तिको मोबाइल नम्बर निजकै नाममा जारी भएको हुनुपर्ने व्यवस्थासमेत बाध्यकारी गरेको छ ।

प्रकाशित: २६ पुस २०८१ ०७:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App